site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भ्रष्टाचार रोक्न खुला र पारदर्शी संस्कृतिको विकास जरुरी : उपराष्ट्रपति

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले भ्रष्टाचार रोक्न समाज र देशमा खुला एवं पारदर्शी संस्कृतिको विकास हुन जरुरी रहेको बताएका छन् ।

भ्रष्टाचारविरुद्ध अभियानको २७औँ वार्षिकोत्सवका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उपराष्ट्रपति यादवले भ्रष्टाचार नियन्त्रण नगरेसम्म समाज र देश अघि बढ्न नसक्ने भन्दै भ्रष्टाचार रोक्न समाज र देशमा खुला र पारदर्शी संस्कृतिको विकास हुन जरुरी रहेको बताएका हुन् ।

निजी लाभका लागि सार्वजनिक शक्तिको प्रयोग गर्दा कानुनको उल्लंघन हुनुका साथै सामाजिक मान्यताहरूमा पनि विचलन आउने देखिएको उनको भनाइ छ । 

उनले भ्रष्टाचारले असमानता गरिबी लगायतका संकटलाई झनै बढाउने भएकाले यो गम्भीर चिन्ताको विषय भएको जिकिर गरे । 

उपराष्ट्रपति यादवले जवाफदेही संस्थाहरूले भ्रष्टाचार नियन्त्रणका लागि गम्भीर भएर काम गर्नुपर्ने र जो–कोहीलाई पनि सम्बन्धित निकायमा रिपोर्ट गर्न सक्ने अधिकार हुनुपर्ने बताए ।

देशका प्रत्येक व्यक्तिले भ्रष्टाचारको विरुद्धको कामलाई आफ्नो कर्तव्य ठान्न जरुरी रहेको र सबैले आत्मसमीक्षा गर्दै भ्रष्टाचारलाई जरैदेखि फाल्न आवश्यक रहेको धारणा पनि राखे ।

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १७:१५
प्रतिक्रिया दिनुहोस्