site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
दोस्रो बजारमा कारोबार नहुँदै ब्रोकरले नै बिक्री गर्दै छ प्रमोटर सेयर !

काठमाडौं । धितोपत्र दोस्रो बजारमा सेयर खरिद–बिक्री गर्न सहयोग गर्ने ब्रोकर कम्पनीहरूले नै अहिले टेलिफोनका आधारमा प्रमोटर सेयर बिक्री गर्न लागेका छन् ।  यसरी आफ्नो अधिकार क्षेत्र बाहिर गएर ब्रोकरहरूले कम्पनीको प्रमोटर सेयर बिक्री गर्न आफ्ना ग्राहकको फोन नम्बर अन्य कम्पनीलाई दिने गरेको पाइएको छ ।

यसरी ग्राहकको फोन नम्बरको दुरूपयोग गरेर अग्रवाल सेक्युरिटिज, विराटनगर शाखा कार्यालयले प्रभु स्टिल एण्ड हाइड्रो इक्विपमेन्ट इन्ड्रष्ट्रिज लिमिटेडको प्रमोटर सेयर प्रतिकित्ता ११५ रुपैयाँमा बिक्री गर्न लागेको जानकारी गराउँदै ‘म्यासेज’ पठाउने गरेको छ ।

यो कम्पनीले संस्थापक सेयर यसरी नै फोन र म्यासेज गरेर १९ लाख ५० हजारभन्दा बढी कित्ता बिक्री गरिसकेको कम्पनीको सेल्स एण्ड मार्केटिङ विभागका कर्मचारी सुरेन्द्र श्रेष्ठले बताए ।  यो कम्पनीको प्रमोटर सेयर खरिद गर्न चाहनेले न्यूनतम एक हजार कित्ता खरिद गर्न आवेदन दिनुपर्ने उनी बताउँछन् । 

Argakhachi Cement Island Ad

“यो कम्पनीको सेयर कारोबार ओटीसी मार्केटमा खरिद बिक्रीमा गएको छैन । तर, हामीले यसरी नै फोन र म्यासेज गरेर १९ लाख ५० हजार कित्ता प्रमोटर सेयर बिक्री गरिसकेका छौं,” उनले भने, “मंसिरको २० गतेसम्म बिक्री गरिसक्ने हाम्रो योजना छ । बिक्री सुरू गरेको करिब चार महिना भयो । हामीलेमात्र सेयर बेचेका छैनौं । अग्रवाल सेक्युरिटिज विराटनगर शाखाबाट र यही ब्रोकरको अर्काे शाखाले सहयोग गरेको छ । ब्रोकरले आफ्ना ग्राहकलाई फोन गरेर रिकल गरिदिन्छ ।” 

कम्पनीले चिन्दै नचिनेको मान्छेलाई पनि फोन गरेर सुरूमै प्रभुु कम्पनीले प्रमोटर सेयर खरिद गर्न आग्रह गर्छन् ।  सेयर प्रमाणपत्र कम्पनीले कसरी दिन्छ ? कम्पनी कस्तो छ ? भनेर पनि उनैले फोनमा ब्रिफिङ गर्छन् । 

प्रमोटर सेयरधनी यसरी फोन गरेर ७०० भन्दा बढी बनाएको उनी श्रेष्ठ बताउँछन् । 

“अग्रवाल सेक्युरिटिज विराटनगर शाखा र अर्काे एउटा शाखाले हाम्रो धेरै कित्ता सेयर बिक्री गरिदिएको छ । मार्केटिङमा काम गर्ने १५–२० जना साथीहरूले यसैगरी कल गरेर सेयर किन्न आग्रह गर्छौं,” श्रेष्ठले फोन गरेर सेयर खरिद गर्न आग्रह गर्नुको कारणबारे बाह्रखरीको जिज्ञासामा भने, “प्रमोटर सेयर बिक्री गर्ने हामीसँग दुई प्रक्रिया छन् । हामीले यो ब्रोकरबाट नियमित सेयर खरिद गर्नेलाई रिकल गरिदिनु भन्छौं । हाम्रा ७०० जना प्रमोटरहरूबाट पनि चिनेकालाई भन्नुहुन्छ । अनि क्यापिटल र इन्भेष्टमेन्ट कम्पनीसँग हामीले सहकार्य गरेका छौं ।” 

कम्पनी सचिव र मार्केटिङकै कुरा बाझियो

कम्पनीकै सेल्स एण्ड मार्केटिङ विभागका कर्मचारीले सेयर बिक्री गर्न फोन गरेर सेयर लगानीकर्तालाई सताइरहेको छ भने कम्पनी सचिव सुरेन्द्र कुमार ठकुरी भने कम्पनीको प्रमोटर सेयर बाँकी नरहेको बताउँछन् । 

यो कम्पनीमा बढी कम्पनीको सेयर भएकाले कुनै कम्पनीले व्यक्तिमा कम्पनीको सेयर बिक्री गर्न लागेको हुन सक्ने ठकुरी बताउँछन् । 

“हाम्रो इष्टिल कम्पनीको प्रमोटर सेयर अब बाँकी छैन । अरू कुनै कम्पनीले आफ्नो भागमा रहेको सेयर बेच्न खोजेको होला । धेरैजसो यसमा कम्पनीकै लगानी छ,” उनले भने । 

कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धक खोजिरहेको छ ।  आईपीओ बिक्री प्रबन्धकका लागि हालसम्म पाँच वटा मर्चेन्ट बैंकिङले आवेदन दिएको ठकुरी बताउँछन् ।

“आईपीओ बिक्री प्रबन्धकका लागि हालसम्म पाँचवटा क्यापिटलको आवेदन परेको छ । हामी छनोटको प्रक्रियामा छौं,” उनले भने, “यो कम्पनीको आईपीओ प्रिमियम मूल्यमा निष्कासन गर्न लागेका छौं । बिक्री प्रबन्धक छनोट भएपछि मात्र सर्वसाधारणमा जानका लागि प्रक्रिया अगाडि बढाउँछ ।”

तर, कम्पनीले आफ्ना नजिकका चिनेका मानिसलाई प्रमोटर सेयर बिक्री गर्न पाउने भए पनि कुनै ग्रुपलाई बिक्री गरेर ग्रुपमार्फत व्यक्ति व्यक्तिलाई बिक्री गर्न नपाउने नेपाल धिनोपत्र बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता मुक्तिनाथ श्रेष्ठ बताउँछन् । 

यसरी व्यक्ति व्यक्तिबीच सेयर बिक्री गर्नका लागि ओटीसी मार्केटमा जानुपर्ने उनको भनाइ छ । कम्पनी छोड्न लाग्दा तेस्रो व्यक्तिले कम्पनीका अन्य लगानीकर्तालाई बिक्री गर्न पाए पनि बडाबट तथा तेस्रो व्यक्तिबाट यसरी सेयर बिक्री गर्न नपाउने कम्पनी रजिष्टार्ड कार्यालयका रजिष्टार्ड महेश बराल बताउँछन् । 

“कम्पनीले नै प्रमोटर सेयर आफ्नै सरकलमा बिक्री गर्न लागेको हो भने केही भन्न सकिन्न । तर, सेयर बढाबढ र अर्काे कुनै माध्यमबाट धेरैलाई सेयर बेच्न पाइँदैन,” उनले बाह्रखरीसँग भने । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  ०९:२३
प्रतिक्रिया दिनुहोस्