site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपाललाई ओमानले दियो १४६ रनको लक्ष्य

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा ओमानले घरेलु टिम नेपालसामु १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको ओमानले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४५ रन बनायो ।

ओमानका कप्तान जिसान मक्सुदले ३२ रन बनाए । नसिम खुशीले २५, प्रतिक अथावालेले २४, अयान खानले १८ र साकिल अहमेदले २२ रन थपे । 

नेपालका करण केसीले तीन विकेट लिए । सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई विकेट लिए । अभिनाश बोहरा र गुल्सन झाले एक/एक विकेट झारे ।

छनोटको समूह ‘ए’मा रहेका यी दुवै टिम अपराजित छन् । समूह चरणको अन्तिम खेलअगावै सेमिफाइनलमा स्थान बनाइसकेका छन् । आजको खेलले विजेता र उपविजेताको टुंगो लगाउनेछ ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा सिंगापुरविरुद्ध आठ र दोस्रो खेलमा मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको थियो । ओमानले पहिलो खेलमा मलेसियालाई ३२ र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले हराएको थियो ।

समूह ‘ए’मा दुई खेलबाट समान चार अंक जोडे पनि नेट रनरेटका आधारमा ओमान शीर्ष र नेपाल दोस्रो स्थानमा छ । सेमिफाइनलमा समूह ‘ए’को विजेताले समूह ‘बी’को उपविजेतासँग खेल्नेछ । समूह ‘बी’बाट युनाइटेड अरब इमिरेट्स (यूएई)ले अन्तिम चारमा स्थान बनाइसक्दा अर्को एक टिमको टुंगो लाग्न बाँकी छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १०:४३
प्रतिक्रिया दिनुहोस्