site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रवि लामिछानेले भने– संवैधानिक समाजवादको अभ्यासबारे अहिलेसम्म सुनेका छैनौँ
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरूले संवैधानिक समाजवादलाई पार्टीको विचार बनाएको भन्दै त्यसको व्याख्या गर्न बाँकी रहेको बताएका छन् ।

कोजाग्रत पूर्णिमामा नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमको साक्षात्कारमा उनले आफ्नो पार्टी राजनीतिक वाद (विचार) विहीन नरहेको जिकिर गरे । आफ्नो पार्टीको विचार ‘संवैधानिक समाजवाद’को अभ्यास भने विश्वका अरू देशमा भएको आफूले नसुनेको उनले बताए ।

Argakhachi Cement Island Ad

“हामीले सुनेका छैनौँ । छैन भनेर दाबी गर्न मिल्दैन, तर हामीले सुनेको, देखेको अथवा कहीँ पढेको होइन,” लामिछानेले भने, “हामीले नै, मलाई लाग्छ, नेपालको संविधानले नेपाली जनतनलाई लेखिएर गरेको बाचाहरू, विधिको शासनमार्फत पूरा गर्नुलाई नै एक वाक्यमा हामीले संवैधानिक समाजवाद भनेका छौँ, जसको लामो व्याख्या एउटा दस्तावेजका रूपमा हामी गर्दै छौँ ।”

आफ्नो पार्टी गठन गर्दा नै संवैधानिक समाजवादलाई विचारका रूपमा लिएर आएकाले विचारविहीन नरहेको उनले बताए ।

“हामीले पार्टी गठन गर्दा नै संवैधानिक समाजवाद भनेका हौँ नि ! त्यसको राजनीतिक व्याख्या र त्यसलाई बुझ्ने प्रक्रिया (लामो राजनीतिक यात्रा गरेर आएका दलहरूले त आफ्नो राजनीतिक वादलाई भनेअनुरूप गर्नका लागि प्रस्ट गरिसकेका छैनन् भने) हामी भर्खरै आएका दलका बारेमा धेरै सुन्न नै पाउनुभएको छैन नि तपाईंहरूले । एक वर्षमा हामी सरकारमा गयौँ, कैयौँ कन्ट्रोभर्सिजहरू भए । त्यसकारण जुन वादका विषयमा हामी कुरा गरिरहेका छौँ, त्यो के होला र भन्ने लागेको न हो । यसको व्याख्याले लामो अन्तराल लिन्छ ।”

उनले भर्खरै आएको दल भएकाले आमनागरिकसम्म आफ्ना धारणा नपुगेको हुन सक्ने स्वीकार गरे ।

“हामी काम गर्नेहरूको ‘डुअर्स’ भन्छ नि, काम गर्न चाहनेहरू सिद्धान्तवादमा अल्झन्नौँ मात्र भनेको हो, हामीसँग विचार नै नभएको भन्ने होइन,” लामिछानेले भने ।

उनले पार्टीको दस्तावेज र संगठनको ढाँचा निर्माणको काम भइरहेको बताए । त्यो काम सकिएपछि धेरै कुरा प्रस्ट हुने उनले उल्लेख गरे ।

प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  २२:३७
प्रतिक्रिया दिनुहोस्