site stats
बाह्रखरी :: Baahrakhari
देश
पोखरामा घरपालुवा कुकुरलाई सार्वजनिकस्थलमा शौच गराए एक हजार जरिवाना
फाइल तस्बिर ।

पोखरा । घरपालुवा कुकुरलाई जथाभावी दिसा–पिसाब गराउने कुकुरधनीलाई पोखरा महानगरपालिकाले कारबाही गर्ने भएको छ ।

सार्वजनिकस्थल, सडक तथा खुला स्थानमा कुकुरलाई शौच गराएको पाइएमा फोहरमैला व्यवस्थापन नियमावलीअनुसार कारबाही गरिने महानगरको सरसफाइ शाखाका प्रमुख कल्पना बरालले बताइन् ।

Argakhachi Cement Island Ad

“घरमा पालेका कुकुरलाई बाहिर खुला ठाउँमा लगेर दिसा–पिसाब गराउने गरेको व्यापक जनगुनासो आएपछि महानगरले निगरानी सुरु गरेको छ,” उनले भनिन्, “यस्तो अभियान महानगरको एक्लो प्रयासले मात्र सफल हुँदैन, नागरिकको पनि साथ चाहिन्छ ।”

कुनै कुकुरधनीले सार्वजनिकस्थलमा लगेर कुुकुरलाई शौच गराएको देखेमा गोप्य ढंगबाट महानगरका प्रतिनिधिलाई खबर गर्न या प्रमाण उपलब्ध गराउन उनले महानगरवासीसँग आग्रह गरिन् ।

“सार्वजनिक सूचनामार्फत पनि यो विषय जानकारी गराइएको छ । अब कसैले घरमा पालेको कुकुरलाई बाहिर लगेर शौच गराएमा कारबाही भोग्नुपर्छ,” उनले भनिन्, “एकपटकका लागि एक हजार र पटक–पटक शौच गराएको पाइएमा १५ हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था नियमावलीमा छ ।”

महानगरले घरपालुवा कुकुरलाई आफ्नै घरको परिसरभित्र शौचको व्यवस्था मिलाउन र त्यसको उचित व्यवस्थापन गर्न कुकुरधनीलाई सचेत गराएको छ ।

खुला ठाउँमा कुकुरलाई दिसा–पिसाब गराउँदा वातावरणीय सरसफाइमा प्रतिकूल असर पार्ने शाखा प्रमुख बरालले उल्लेख गरिन् । घरमा पालिरहेको कुुकुरलाई सडकमा लगेर बेवारिसे अवस्थामा छोडेमा समेत कारबाही हुने उनले बताइन् । रासस

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  ०९:३८
प्रतिक्रिया दिनुहोस्