site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सहमति गर्न निर्देशन दिँदै ओलीले भने– आयोगलाई कामविहीन बनाएर पठाइदिनुस्

काठमाडौंं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको नेतृत्व सहमतिमा टुंग्याउन निर्देशन दिएका छन् । आइतबार प्रदेश अधिवेशनको उद्घाटन गर्दै उनले सहमतिमा अधिवेशन टुंग्याउन आग्रह गरे ।

“एउटा नयाँ सन्देश दिनुपर्छ । कहीँ पनि सहमति हुन सकेन भनेर हुइँया मच्चाइरहेका छन्,” उनले भने, “हामीले लड्छन् भने लडून न त साथीहरू भनेको हो  । त्यसको धेरै दुरुपयोग गरे अरूले ।”

उनले उपत्यका विशेष कमिटीको सर्वसम्मति भएको भन्दै धन्यवाद दिए । उनले पार्टीले आगामी निर्वाचन जित्नुपर्ने भन्दै विभाजनले नजितिने पनि बताए । 

ओलीले प्रदेश हाँक्न सक्नेलाई प्रदेशको नेतृत्व दिन पनि आग्रह गरे । “नेतृत्वले गरेको मूल्यांकन मान्दै नमान्ने । आफूले आफूलाई त सबैले नम्बर दिएपछि सय दिएको हुन्छ,” उनले भने, “आफू आफूले डाडु पन्युँ लिएर आफू भान्से लागेर मै सबै भन्दा बढी ठिक छु भन्ने होइन ।”

उनले पार्टीको निर्वाचन आयोगलाई कामविहीन बनाएर पठाउन आग्रह गरे ।

“सम्मानित निर्वाचन आयोग निर्वाचन गराउन उपस्थित छ । यसपटक सम्मानित निर्वाचन आयोगलाई जबलेस बनाएर पठाइदिनुस्,” उनले भने, “उहाँहरू धन्यवाद दिएर जानुहुन्छ । मतपत्र छाप्नु पनि नपर्ने । अनिँदो बस्नु पनि नपर्ने ।”

ओलीले आफूले सबैलाई उस्तै बन्ने भन्दै सर्वसम्मतिको जिम्मा नेताहरूलाई नै दिए ।

“एक ठाउँमा बस्नुस् । फराकिलो ढंगले गर्नुस् । आग्रह पूर्वाग्रह नलिनुस् र टुंग्याउनुस्,” ओलीले निर्देशन दिए ।

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १७:०५
प्रतिक्रिया दिनुहोस्