site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले कोसी प्रदेशमा प्यानलगत प्रतिस्पर्धा, पाँच जिल्लाबाट सदस्य सर्वसम्मत 

विराटनगर ।‌ नेकपा (एमाले)को कोसी प्रदेश नेतृत्वमा पुग्न उमेदवारहरू प्यानल बनाएरै चुनावी मैदानमा उत्रिएका छन् । 

पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृह प्रदेशमा प्यानल बनाएर चुनावी प्रतिस्पर्धा नगर्ने यसअघि घोषणा गरिएको थियो । तर, उमेदवारहरूले भने आफ्नो समूहगत प्यानल बनाएरै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । 

अध्यक्ष पदका उमेदवार विनोद ढकालको प्यानलमा  सचिव शैलेश लामा र उपसचिव खेम नेपाली छन् । उपसचिव पदमा उमेदवारी दिएका भविश्वर गुरुङले भने उमेदवारी फिर्ता लिएका छन् ।‌

यसैगरी अध्यक्ष घनश्याम खतिवडाको प्यानलमा राजकुमार भण्डारी सचिवको उमेदवार छन् ।  उपसचिवमा जलवर्षा राजवंशी र देवान राईले उमेदवारी दिएका छन् ।‌

उपाध्यक्ष टिका चेम्जोङलाई दुवै प्यानलको समर्थन थियो ।‌ सो पदमा उनको मात्र उमेदवारी परेको छ । 

नेतृत्व चयन गर्न आज मतदान हुँदै छ । मतदानमा ९९७ प्रतिनिधि सहभागी हुनेछन् । 

पार्टीका कोसी प्रदेश इन्चार्ज रघुवीर महासेठले प्यानलगत चुनाव हुन नदिने बताएका थिए । 

अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले पनि सर्वसम्मतिले नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । कोसीका विभिन्न पाँच जिल्लाबाट सदस्यहरू सर्वसम्मत निर्वाचित भएका छन् । इलाम, पाँचथर, खोटाङ, सोलुखुम्बु र ताप्लेजुङबाट सर्वसम्मत निर्वाचित भएका छन् । 

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १३:१२
प्रतिक्रिया दिनुहोस्