site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
उद्धव देवकोटाको गजल

रमाइलो भा’छ गाउँघर, तीज छाएर होला
चारैतिर बरिलै भाकामा, गीत गाएर होला

देख्छु खुसी छन् दिदीबहिनी, बिछट्टै आजभोलि
मुग्लान भासिएको दाजु, घर फर्की आएर होला

माइती आएकी छोरी, खुसीले बुर्कुसी मार्छिन्
सोच्छु आमाको हातको मिठो, दर खाएर होला

कठोर त्यो निर्जला व्रत पनि, रमाएरै बस्छन् हरे
सायद आफ्नै मनको महादेव, पति पाएर होला

अँध्यारा मन पनि हेर, आज उज्याला देखिँदै छन्
लाग्छ चुरा, पोते, रातो साडी, सिँदुर लाएर होला ।
 

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  ११:३९
प्रतिक्रिया दिनुहोस्