site stats
बाह्रखरी :: Baahrakhari
खेल
थाइल्यान्ड बाधक बन्दा ट्वान्टी–२० विश्वकप एसिया छनोटबाटै बाहिरियो नेपाल

काठमाडौं । थाइल्यान्डसँग ४६ रनको हार व्यहोरेसँगै नेपाली राष्ट्रिय महिला क्रिकेट टिम आईसीसी ट्वान्टी–२० विश्वकप एसिया क्षेत्र छनोटबाटै बाहिरिएको छ । 

मलेसियाको बांगीमा शुक्रबार बिहान सम्पन्न खेलमा थाइल्यान्डले प्रस्तुत गरेको १०६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १९.३ ओभरमा ५९ रनमै समेटियो । 

थाइल्यान्डविरुद्ध नेपालका कुनै पनि ब्याटरले खुलेर खेल्न सकेनन् । कविता कुँवरले १७ रन जोड्दा कविता जोशी र अप्सरी बेगमले समान १० रन थपे । यसबाहेक, अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

थाइल्यान्डविरुद्ध नेपालका तीन ब्याटर ‘डक’ भएका थिए । ओपनर काजल श्रेष्ठ, कप्तान रुविना क्षेत्री र विन्दु रावल शून्यमै पभेलियन फर्किएका थिए । 

नेपाललाई सस्तैमा समेट्न थाइल्यान्डकी थिपाच पुथावाङ र ओनिचा काम्चोम्फुले समान तीन विकेट लिइन् । पुथावाङ ३.३ ओभर बलिङ गर्दा एक मेडन राख्दै पाँच रनमात्र खर्चिइन् । काम्चोम्फुले तीन ओभर बलिङ गर्दा ६ रनमात्र खर्चिइन् । 

नाताया बुचाथामले दुई विकेट लिँदा फनिता माया र सुनिदा चतुरोङ्ग्रातनाले समान एक विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङमा आएको थाइल्यान्डले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर १०५ रनको योगफल खडा गरेको थियो । 

थाइल्यान्डकी नानापाट कोङ्चारोएन्काईले अविजित ५९ रन बनाइन् । उनले ६३ बलमा चार चौका प्रहार गरिन् । नाथकान चन्थामले ३२ र चनिदा सुथिरुएङ्गले ११ रन थपे । 

नेपालका कविता कुँवर र पुजा महत्तोले समान एक विकेट लिए । यो हारसँगै नेपाल ट्वान्टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्न असफल हुँदा थाइल्यान्डले भने स्थान निश्चित गरेको छ ।

थाइल्यान्डले अब एसिया छनोटको उपाधिका लागि शनिबार युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध खेल्नेछ । यूएईले आजै भएको पहिलो सेमिफाइनलमा हङकङलाई ५७ रनले हराउँदै फाइनल यात्रा तय गरेको हो ।

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १३:०३
प्रतिक्रिया दिनुहोस्