site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपालको १०० रन पूरा

काठमाडौं । एसिया कप–२०२३ मा भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले १०० रन पूरा गरेको छ । 

श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा जारी खेलमा टस हारेपछि ब्याटिङमा आएको नेपालले २१.३ ओभरमा तीन विकेट गुमाएर १०० रन पूरा गरेको हो ।

नेपालबाट क्रिजमा रहेका ओपनर आसिफ शेख ४४ रनमा र कुशल मल्ल दुई रनमा खेलिरहेका छन् ।

भारतविरुद्ध नेपालले ९.५ ओभरमा अर्का ओपनर कुशल भुर्तेललाई पहिलो विकेटको रूपमा गुमाएको थियो । कुशलले पहिलो विकेटका लागि आसिफ शेखसँग ६५ रनको साझेदारी गरेका थिए । कुशलले २५ बलमा तीन चौका र दुई छक्कासहित ३८ रन बनाए । त्यसपछि १५.६ ओभरमा भीम सार्कीलाई सात रनमा र १९.६ ओभरमा कप्तान रोहितकुमार पौडेलललाई पाँच रनमा गुमाएको थियो । 

एसिया कपमा यसै संस्करणबाट ‘डेब्यू’ गरेको नेपाली टिमले सन् १९८३ र २०११ को विश्वकप विजेतासमेत रहेको भारतविरुद्ध पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्रिकेटमा प्रतिस्पर्धाका लागि उत्रिएको हो ।

आजको खेल जिते नेपाली क्रिकेटले नयाँ इतिहास रच्दै एसिया कपको ‘सुपर फोर’मा स्थान बनाउने छ । सुपर फोरमा प्रवेशका लागि भारतमाथि आज जित्नैपर्ने दबाब छ ।

प्रतियोगितामा दुवै टिमको यो दोस्रो खेल हो । पहिलो खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो । भारत–पाकिस्तानबीचको पहिलो खेल भने वर्षाका कारण रद्द भएको थियो ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १६:४८
प्रतिक्रिया दिनुहोस्