site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विष्णु पौडेल भन्छन्– बाहिर बसेर एमालेको भविष्यवाणी गर्ने अधिकार कसैलाई छैन 

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले पार्टीको भविष्यवाणी गर्ने अधिकार बाहिरका व्यक्तिहरूलाई नभएको बताएका छन् ।  शनिबार एमालेको लुम्बिनी प्रदेश अधिवेशनको उद्घाटन समारोहमा उनले नीति, नेतृत्व र विचारमा पार्टी एकताबद्ध रहेको बताए ।

“यो पार्टीको भविष्यवाणी गर्ने अधिकार अरू कसैलाई छैन । यसको भविष्यवाणी गर्ने अधिकार यो पार्टीका सदस्य, नेता–कार्यकर्तालाई छ । पार्टीको भविष्य के हुन्छ, गन्तव्य के हुन्छ, पार्टी कहाँ पुग्छ ? यसको भविष्यवाणी गर्ने अधिकार हामीलाई मात्रै छ,” उनले भने, “बाहिर बसेर यो पार्टीमा विग्रहको अपेक्षा गर्ने, संकटमा धकेल्न सकिन्छ कि भनेर अपेक्षा गरेर यो पार्टीको अवन्नतिमा आफ्नो उन्नति देख्ने प्रतिक्रियावादीहरू, अवसरवादी स्वार्थी तत्त्वलाई हामीले करारी जवाफ दिनुपर्छ । एमाले सबै दृष्टिकोणले एकताबद्ध छ ।”

उनले पार्टीमा गुट नहुकर्ने जिकिर गरे । आफू सधैँ गुटको विरुद्धमा रहेको उनले बताए ।  गुट र पार्टी कहिल्यै सँगै जान नसक्ने उनको भनाइ छ । पार्टीमा गुट जन्मन नदिने प्रतिबद्धता पनि उनले जनाए ।

“पार्टी र गुट सँगै अघि बढ्न सक्दैन । गुट हुर्कन, जन्मन नदिने बाटो हिँड्नुपर्छ,” उनले भने, “हाम्रो पार्टीमा गुट जन्मिन्न, हाम्रो पार्टीमा गुट हुर्किन्न ।”

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १५:३८
प्रतिक्रिया दिनुहोस्