site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
'हवाई मार्गबाट दुई लाखको फोन ल्याउन दिने, स्थलमार्गमा १०० रुपैयाँको पनि भन्सार ?'

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रमुख सचेतक प्रदीप यादवले भारतबाट सय रुपैयाँको सामान ल्याए भन्सार लगाउने नियम उपयुक्त नभएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले हवाई मार्गबाट लाखौँको सामान ल्याउँदा भन्सार नलाग्ने तर स्थलमार्गबाट सय रुपैयाँको सामान ल्याउँदा भन्सार लाग्ने नियम उपयुक्त हुन नसक्ने बताए ।

“सरकारको नियम एउटै हुनुपर्छ मुलुकभरी । हवाई मार्गबाट दुई लाखको मोइबाल ल्याउन, तीन लाखको ल्यापटप ल्याउन पाउने भन्सार नलाग्ने । तर, भारतबाट स्थगलमार्गबाट १०० रुपैयाँको सामान ल्याए भन्सार तिर्नुनपर्ने ? यो कहाँको नियम हो,” उनले भने । 

उनले नेपाल–भारत सीमाको विषय राजनीतिक विषयबाट हेर्न नहुने भन्दै भारतसँग रोटी–बेटीको सम्बन्ध भएको बताए । सांसद यादवले यो नियमले सीमामा दैनिक जनता र प्रहरीबीच मुडभेड भइरहेको भन्दै सरकारले मुडभेडको नीति लिएको हो भन्दै प्रश्न गरे । 

“साउन १ गतेदेखि भारतीय बजारबाट १०० रुपैयाँ बढीको सामान ल्याए भन्सार तिर्नुपर्ने भनेको छ । यो नियमले प्रहरी र नागरिकबीच दैनिक झगडा सुरु भएको छ,” उनले भने । 

साथै उनले देशभर डेंगी संक्रमण बढेको भन्दै यसको रोकथामा ध्यान दिन सरकारलाई अनुरोध गरे ।

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १७:०६
प्रतिक्रिया दिनुहोस्