site stats
बाह्रखरी :: Baahrakhari
देश
सुदूरपश्चिममा एक हजार ६ सयमा डेंगी संक्रमण, तीनजनाको मृत्यु

बैतडी । सुदूरपश्चिम प्रदेशमा डेंगीबाट एक हजार ६ सयभन्दा बढीमा संक्रमण भएको छ । सन् २०२२ र २०२३ मा गरेर एक हजार ६१४ जनामा संक्रमण पुष्टि भइसकेको स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशले जनाएको छ ।  

यस प्रदेशमा सन् २०२३ को सुरुआतदेखि हालसम्म ३२५ जनामा संक्रमण देखिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी पहाडी जिल्ला दार्चुलामा १९१ जनामा संक्रमण पुष्टि भइसकेको छ । कञ्चनपुरमा ५७, अछाममा ३१, कैलालीमा २४, बझाङमा छ, बैतडीमा पाँच, डोटीमा पाँच, बाजुरामा चार र डडेलधुरामा दुई जनामा संक्रमण देखिएको हो । संक्रमणका कारण यस वर्ष मृत्यु भने शून्य छ ।

यसअघि गत वर्ष सुदूरपश्चिम प्रदेशमा एक हजार २८९ जनामा संक्रमण देखिएकामा तीनजनाको मृत्यु भएको थियो । लामखुट्टेको टोकाइबाट हुने डेंगी गर्मी र वर्षातको समयमा हुने भएकाले बिरामीको संख्या बढ्दै गएको जोशीले बताए । 

जोखिम कम गर्न निर्देशनालयले प्राविधिक सहजीकरण, कीट आपूर्ति र बिरामी व्यवस्थापनमा सहयोग गर्ने गरेको छ । स्थानीय तहहरूले उक्त रोग नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान  सञ्चालन गरिरहेका जोशीले बताए । 

तराईका जिल्लामा बढी हुने डेंगी संक्रमण पछिल्लो समय पहाडमा पनि फैलिँदै गएको छ ।  निर्देशनालयको तथ्यांकले पहाडी जिल्लामा पनि डेंगीको जोखिम बढेको देखिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । तराईबाट लामखुट्टे पहाड उक्लिएकाले पहाडमा पनि जोखिम बढेको छ ।  उनले भने, “लामखुट्टे पहाडमा पनि देखिन थालेपछि पहाडी जिल्लामा पनि संक्रमण बढ्दै गएको छ, पहाडी जिल्लामा पनि संक्रमितलाई अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था छ ।” रासस

    

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १५:४२
प्रतिक्रिया दिनुहोस्