site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रवि लामिछाने भन्छन्– सुन तस्करी प्रकरणमा मालिक जोगाउन खोजिएको हो कि !
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा मालिक जोगाउन खोजिएको हो कि भन्ने आशंका उत्पन्न भएको बताएका छन् ।

शनिबार भक्तपुरमा रास्वपा भक्तपुर नगर समिति गठन तथा घोषणासभामा उनले सुन बोकेर मालिकसम्म जान लागेको ट्याक्सीलाई बीचबाटोमै समातेर मालिक जोगाउन खोजिएको हो कि भन्ने आशंका उत्पन्न भएको उल्लेख गरे ।

ट्याक्सीको पछि लागेको भए सुनको मालिकसम्म पुग्न सकिने भए पनि त्यसो नगरिएको उनको भनाइ छ ।

अहिले तस्करी भएको सुनको परिमाण हेर्दा त्यसको मालिक ठूलै व्यक्ति हुन सक्ने आशंका रहेको पनि उनले बताए ।

सुन तस्कारी प्रकरणमा सरकारले व्यक्ति हेरेर अनुसन्धानलाई अन्त्यसम्म नपुर्‍याई अर्को फाइल खोल्ने तयारीमा लागेको हुन सक्ने भएकाले रास्वपाले खबरदारी गरिरहेको उनले सुनाए ।

रास्वपालाई बेलाबेला कुनै दलको पछि लाग्यो भन्ने आरोप लाग्ने गरेको भन्दै उनले जनताले दिएको मतको भारीबाहेक अरू कसैको भारी बोक्नुपर्ने आवश्यकता नरहेको बताए ।

आउँदो निर्वाचनमा रास्वपालाई एकल सरकार बनाउने गरी जनताले विश्वास गरे भ्रष्टाचार मुद्दामा कसैलाई नजोगाउने गरी अनुसन्धान गर्ने उनको भनाइ छ ।

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  १४:२२
प्रतिक्रिया दिनुहोस्