site stats
बाह्रखरी :: Baahrakhari
खेल
हाइटीविरुद्ध १० खेलाडीमा सीमित चीनको जित, इंग्ल्यान्ड नकआउट चरण नजिक 

काठमाडौं । फिफा महिला विश्वकपमा चीनले पहिलो जित निकालेको छ । 

शुक्रबार अस्ट्रेलियास्थित हिन्डमार्श रंगशालामा भएको खेलमा १० खेलाडीमा सीमित बन्दै खेलको अन्त्य गरेको चीनले हाइटीविरुद्ध १–० को साँघुरो जित निकालेको हो ।

चीनको जितमा वाङ सुएङले गरेको गोल निर्णायक बन्यो । सुएङले ७४औँ मिनेटमा प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै चीनलाई अग्रता दिलाएकी थिइन् । 

हाइटीकी रुथनी मथुरिनले १८ यार्ड बक्सभित्र झाङ लियाङमाथि फाउल गरेपछि चीनले पेनाल्टीको अवसर पाएको थियो । जसमा सुएङले कुनै गल्ती नगरी बललाई पोष्टको दिशा दिइन् ।

त्यसअघि २९औँ मिनेटमा झाङ रुईले रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि चीनले १० खेलाडीमा समेटिँदै खेलको अन्त्य गरेको थियो ।

जितसँगै दुई खेलबाट तीन अंक जोडेको चीनले समूह ‘डी’ बाट अन्तिम–१६ मा पुग्ने सम्भावनालाई कायम राखेको छ । चीन तालिकाको तेस्रो स्थानमा छ । लगातार दोस्रो हार बेहोरेको हाइटी भने समूह चरणको अन्तिम खेलअगावै प्रतियोगिताबाट बाहिरिने निश्चित बनेको छ ।

समूह ‘डी’मा नै आज भएको अर्को खेलमा इंग्ल्यान्डले डेनमार्कविरुद्ध १–० को जित निकालेको छ । इंग्ल्यान्डको जितमा लौरेन जेम्सले गरेको गोल निर्णायक बन्यो ।

जितसँगै समूहको शीर्ष स्थानमा उक्लिएको इंग्ल्यान्डले ६ अंक जोडेको छ । यो जितबाट नकआउट चरण नजिक पुगेको इंग्ल्यान्डलाई अब अन्तिम खेलमा बराबरीको नतिजा पर्याप्त बन्नेछ ।

इंग्ल्यान्डले अब अन्तिम खेलमा चीनविरुद्ध मंगलबार खेल्नेछ । मंगलबार नै हुने अर्को खेलमा हाइटीले डेनमार्कविरुद्ध खेल्नेछ ।

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १९:१५
प्रतिक्रिया दिनुहोस्