site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
एक वर्षमा १२ अर्बका चार हजार ५० विद्युतीय गाडी भित्रिए, कति उठ्यो राजस्व ?

काठमाडौं । गत आर्थिक वर्ष २०७९/०८० मा चार हजार ५० वटा विद्युतीय गाडी (ईभी) नेपाल भित्रिएका छन् । एक वर्षमा करिब ११ अर्ब ८४ करोड मूल्यका विद्युतीय गाडी नेपाल भित्रिएका हुन् ।

यसबाट सरकारलाई करिब तीन अर्ब ३० करोड राजस्व उठेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा सबैभन्दा बढी भित्रिनेमा ५० किलोवाटसम्म ईभी रहेका छन् । ५० किलोवाट क्षमतासम्मका ३,७५९ विद्युतीय गाडी एक वर्षको अवधिमा नेपाल भित्रिएका छन् । यस्तै, ५१ देखि १०० किलोवाट क्षमताका २७२ गाडी आयात भएका छन् ।

गत आवमा १०१ देखि २०० किलोवाट क्षमताका १५ र २०० देखि ३०० किलोवाट क्षमताका चार गाडी नेपाल भित्रिएका छन् ।

यो तथ्यांक त्यसभन्दा अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को तुलनामा दुई गुणाभन्दा बढी हो । सो आर्थिक वर्ष २०७८/०७९ मा १,८०७ विद्युतीय गाडी नेपाल भित्रिएका थिए । करिब पाँच अर्ब ३२ करोड मूल्यबराबरका यी गाडीबाट सरकारले करिब एक अर्ब ४३ करोड राजस्व उठाएको थियो ।

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १५:२१
प्रतिक्रिया दिनुहोस्