site stats
बाह्रखरी :: Baahrakhari
खेल
इन्टर मियामीबाट मेसीको असाधारण ‘डेब्यू’

काठमाडौं । अमेरिकाको मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीबाट अर्जेन्टिनी कप्तान लियोनल मेसीको ‘डेब्यू’ आश गरिएको भन्दा पनि उत्कृष्ट रह्यो ।

शनिबार इन्टर मियामीको खेलाडीका रूपमा पहिलोपटक मैदान उत्रिँदा मेसीले क्रुज एजुलसँग १–१ बराबरी तोड्न ९४औँ मिनेटमा फ्रीकिकमा गोल गरे । जुन अहिले सामाजिक सञ्जालमा चर्चाको केन्द्र बनेको छ । यही गोलका कारण मियामीले एजुलविरुद्ध २–१ को जित निश्चित गर्‍यो । 

डेब्यू खेलमै ‘म्याच विनर’ बनेका मेसीको यो एक त्यस्तो क्षण थियो, जसलाई हेर्न फुटबल प्रशंसकहरूसँगै किम कार्दशियन, लेब्रोन जेम्स, र सेरेना विलियम्ससहित धेरै हलिउड ए–लिस्टरहरूले मैदानमा पुगेका थिए । मेसीको डेब्यू हेर्न क्लबका सह–मालिकसमेत रहेका डेभिड बेकह्याम आफ्नी श्रीमती भिक्टोरिया बेकह्यामसहित मैदानमा उपस्थित थिए ।

 

messi 21690112007.jpg

एजुलविरुद्ध लिग्स कपमा इन्टर मियामीको पहिलो खेल थियो । यी दुई क्लब दुई फरक देशका फरक लिगका टिम थिए । मियामी एमएलएस क्लबको रूपमा र एजुल मेक्सिकन लिग लिगा एमएक्स क्लबको रूपमा मैदान उत्रिएका थिए ।

अब इन्टर मियामीबाट मेसीको खेल जुलाई २५ मा एटलान्टाविरुद्ध छ । हलिउड स्टार ४२ वर्षीय कार्दशियन फुटबलप्रति गहिरो लगाव आफ्नो सात वर्षीय छोरासहित मेसीको खेल हेर्न मैदानमा उपस्थित थिए ।

“म मेरो बालबच्चाका लागि जेसुकै गर्न तयार छु,” कार्दशियनले एमएलएससँग भनिन्, “यसैकारण मैले विश्वको यात्रा तय गरे, हामीले फुटबल यात्रा गर्‍यौँ । यस गर्मीभरि हामी फरक–फरक मैत्रीपूर्ण खेलहरू हेर्न गयौँ ।”

messi 31690112002.jpg

कार्दशियनले आफूले पनि ५–६ वर्ष फुटबल खेलेको बताउँदै छोरा र आफू दुवैले फुटबल मन पराउने भएकोमा खुसी रहेको अनुभव बाडिन् ।

उनले मैदानमा बेकह्याम र भिक्टोरियालाई भेट्न पाउँदा खुसी रहेको प्रतिक्रिया दिइन् । बेकह्याम तिनै हुन्, जसले मियामी र मेसीबीच सम्झौता हुँदा ‘सपना साकार भएको’ बताएका थिए ।

“१० वर्षअघि मैले एक नयाँ एमएलएस टिम बनाउने यात्रा सुरु गरेको थिएँ । त्यसपछि मैले विश्वकै उत्कृष्ट खेलाडीलाई क्लबमा क्लबका लागि मियामी सहरका लागि ल्याउने सपना बनाएँ,” बेकह्यामले भने, “त्यस्ता खेलाडी जोसँग हामीमा जस्तै यो देशमा फुटबल विकासको लक्ष्य भएको होस् । र, अहिले तपाईंहरू सबै यो असाधारण पलको खुसी बाँड्न उपस्थित हुनु भएकोमा हामी सबै निकै सन्तुष्ट छौँ ।”

एक समय विश्व टेनिसमा एकछत्र राज गरेकी ४१ वर्षीय विलियम्सले आफ्नो इन्स्टाग्राम स्टोरीमा मेसीको खेल हेर्न मियामी मैदानमा उपस्थित भएको सम्पूर्ण पल समेट्दै एक भिडियो सेयर गरेकी छन् । 

messi 11690112002.jpg

३८ वर्षीय जेम्सले पनि मेसीसँगको इन्स्टाग्राम तस्बिर सेयर गरेर क्याप्सनमा, “स्वागत छ साथी ! एक महानताको उपस्थिति हेर्न र त्यसलाई अनुभव गर्न पाउँदा खुसी लागेको छ !,” लेखेका छन् ।

अर्जेन्टिनामा जन्मेका मेसीले डिसेम्बरमा अर्जेन्टिनालाई तेस्रो विश्वकपको उपाधि दिलाएपछि आफ्नो प्रतिभा अमेरिकी लिगमा लैजाने घोषणा गरेका थिए । र, मेसीको  डेब्यू खेल हेर्नको लागि मैदानमा उपस्थित स्टारबाट बनेको माहोल अहिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमाझ चर्चाको विषय बनिरहेको छ ।
 

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १७:१९
प्रतिक्रिया दिनुहोस्