site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सुन्दर श्रेष्ठको गजल 

खाली खाली सिउँदो तिम्रो, भर्न पाए हुन्थ्यो 
बदमासीका कुरा थोरै गर्न पाए हुन्थ्यो ।

शंका गर्छन् छिमेकीले, शंकालु छन् सारा
घरजम गर्न बसाइँ अन्तै सर्न पाए हुन्थ्यो ।

कर्केनजर हेरी हेरी पासो थापी बस्छ्यौ
जानी जानी त्यही पासोमा पर्न पाए हुन्थ्यो ।

ओभानो यी दुवै आँखा टलपलाउन थाले 
आँसु बनी आँखाबाटै झर्न पाए हुन्थ्यो ।

मनभरिका रहरहरू गुम्सिएछन् आज 
रहर सबै पूरा गरी मर्न पाए हुन्थ्यो ।
 

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  ०९:२१
प्रतिक्रिया दिनुहोस्