site stats
बाह्रखरी :: Baahrakhari
देश
बागलुङ दुर्घटना : मृत्यु हुनेको पहिचान खुल्यो
प्रतीकात्मक तस्बिर ।

बागलुङ । बागलुङमा आज बिहान जीप दुर्घटना हुँदा ज्यान गुमाएका दुईजनाको पहिचान खुलेको छ । जिल्लाको गलकोटदेखि बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५, ठुलढुंगामा दुर्घटना भएको थियो ।

दुर्घटनामा जीपचालक पर्वतको कुश्मा नगरपालिका–१, मालढुंगाका २९ वर्षीय राजेन्द्र माझी र जीपमा सवार जैमिनी नगरपालिका–१०, रांखानीका ३६ वर्षीया दुर्गा पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीले जानकारी दिए । उनका अनुसार दुवैको घटनास्थलमै मृत्यु भएको थियो ।

जीप मध्यपहाडी लोकमार्गदेखि करिब ५०० मिटर तल खसेको सूचना अधिकारी केसीले बताए । उनका अनुसार जीपमा कति यात्रु सवार थिए भन्ने अहिलेसम्म यकिन भएको छैन ।

“कस्मेटिक सामानको मार्केटिङ गर्ने गाडी रहेकाले अन्य यात्रु गाडीमा नभएको पनि हुनसक्छ,” केसीले भने ।

अहिले प्रहरी घटनास्थलमा पुगेर उद्धार गरी शव परीक्षणका लागि बागलुङ बजारस्थित धौलागिरि अस्पतालमा ल्याउने तयारी भइरहेको उनले बताए । रासस

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १२:१०
प्रतिक्रिया दिनुहोस्