site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
वाग्मतीका कानुनमन्त्री भन्छन्– अदालतलाई 'प्रतिक्रान्तिको औजार'को रूपमा प्रयोग गर्न खोजिँदै छ

काठमाडौं । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले अदालतलाई 'प्रतिक्रान्तिको औजार'को रूपमा प्रयोग गर्ने खतरा बढ्को बताएका छन् । 

बिहीबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले माओवादीहरूले लडेर ल्याएको उपलब्धि रक्षा गर्न र संस्थागत गर्न असफल हुँदै गइरहेको बताए ।

उपलब्धिहरूको रक्षा गर्न नसक्नुको परिणामस्वरूप प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईका विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको उनको भनाइ छ । 

प्रधानमन्त्रीविरुद्ध मुद्दा हालेर प्रतिक्रान्तिकारी शक्तिहरूले अदालतलाई प्रतिक्रान्तिको औजारको रूपमा प्रयोग गर्ने खतरा बढेको उनको भनाइ छ । 

मन्त्री श्रेष्ठले क्रान्तिकारी शक्तिहरू एकताबद्ध भएर सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउँदै अगाडि बढ्नुको विकल्प नभएको बताए । 

“क्रान्तिकारी शक्तिहरू आफैँले लडेर ल्याएको उपलब्धि रक्षा गर्न र संस्थागत गर्न असफल हुँदै गएका छन् । यसैको परिणाम हो, यी मुद्दाहरू । क्रान्तिकारी शक्तिहरू एकताबद्ध भएर सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउँदै अगाडि बढ्नुको विकल्प छैन,” मन्त्री श्रेष्ठले भने, “प्रतिक्रान्तिकारी शक्तिले अदालतलाई प्रतिक्रान्तिको औजारको रूपमा प्रयोग गर्न सक्ने खतरा बढ्दै गइरहेको छ ।”

प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री भट्टराईविरुद्धको मुद्दा सर्वोच्च अदालतका विचाराधीन छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १५:२०
प्रतिक्रिया दिनुहोस्