site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
विनिमयदरको उतारचढावले बाह्य ऋणमाथि चाप बढ्यो : प्रमुख शर्मा

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख भूमीराम शर्माले विनिमयदरको उतारचढावले बाह्य ऋणमाथि चाप बढेको बताएका छन् ।

मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको अर्थ संवाद कार्यक्रममा बोल्दै उनले पछिल्लो समय डलरको निरन्तर वृद्धिले नेपाललाई बाह्य ऋणको दबाब बढेको बताएका हुन् ।

पछिल्लो समय डलरको मूल्यमा निरन्तर वृद्धिले सरकारले भुक्तानी गर्नुपर्ने सावाँ ब्याजमा पनि चाप पर्दै गएको उनले धारणा राखे । उनका अनुसार सरकारले साढे २१ खर्ब ऋणको सावाँ ब्याज भुक्तानीमा ठूलो रकम भुक्तानी गर्नु परेको छ ।

नेपाल सरकारको अधिकांश बाह्य ऋण विदेशी मुद्रामा भएको र नेपाली रुपैयाँ अमेरिकी डलरसँग सबैभन्दा कम अस्थिर रहेकोले ऋणको भार थपिँदै गएको उनको भनाइ छ ।

चालु आर्थिक वर्षको १० महिनामा सरकारले सार्वजनिक ऋणको सावाँ–ब्याज भुक्तानीमा मात्र साढे एक खर्ब भुक्तानी गर्नु परेको र यो रकम अझैं बढ्ने उनले बताए ।

उनका अनुसार आर्थिक वर्ष २०७५/०७६ को तुलनामा चालु आर्थिक वर्षसम्म सार्वजनिक ऋण दोब्बर भएको छ । उनले विनिमयदर बढ्दै जाँदा सरकारले भुक्तानी गर्नुपर्ने रकम पनि बढ्दै गएको धारणा राखे ।

"अहिले वाह्य ऋणमाथि चाप परेको छ, त्यसको महत्वपूर्ण कारण भनेको विनिमयदरको उच्च वृद्धि हो, त्यससँगै राजस्वको कमी, निर्यात भरपर्दो नहुनु, आर्थिक क्रियाकलाप घट्दै जानु, लागत लाभ विश्लेषण नगरी आयोजना निर्माण गर्नु र राम्रो प्रतिफल दिने आयोजनाहरूको काम समयमै सम्पन्न नहुनु भनेको बाह्य ऋणमाथि  जोखिम बढ्नु हो, अहिले हाम्रोमा यी सबै कारण देखिएका छन्," उनले भने ।

उनका अनुसार यस्तो किसिमको जोखिम न्यूनीकरणका लागि लोकल करेन्सी बण्ड र ग्रीन बण्डको व्यवस्था आवश्यक पर्छ । त्यसका लागि सरकारले तयारी पनि गरिरहेको उनको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  २२:११
प्रतिक्रिया दिनुहोस्