site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंमा हिजो यो वर्षकै उच्च गर्मी, आज पानी पर्ने
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंमा हिजो (शनिबार) यो वर्षकै उच्च तापक्रम मापन गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो काठमाडौंको अधिकतम तापक्रम ३३.३ डिग्री सेल्सियस मापन गरिएको थियो । काठमाडौंमा यो यस वर्षकै उच्च तापक्रम भएको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए ।

“हामीले बेलुका ५.४५ मा अधिकतम तापक्रम मापन गर्छौँ । काठमाडौंको हिजोको अधिकतम तापक्रम यो वर्षको अहिलेसम्मकै उच्च हो,” उनले बाह्रखरीसित भने ।

महाशाखाका अनुसार काठमाडौंको अहिलेसम्मकै उच्च तापक्रम भने ३६.६ डिग्री सेल्सियस हो । सन् १९८९ मे ७ मा काठमाडौंको अधिकतम तापक्रम ३६.६ डिग्री सेल्सियस पुगेको थियो । त्यसयता उक्त ‘रेकर्ड ब्रेक’ भएको छैन ।

वर्षा हुने
मौसमविद् लामिछानेका अनुसार आज काठमाडौंसहित देशका केही स्थानमा वर्षाको सम्भावना छ । काठमाडौंमा दिउँसो र राति वर्षाको सम्भावना रहेको उनले जानकारी दिए ।

उनका अनुसार काठमाडौंमा हल्का वर्षाको सम्भावना छ । “अपराह्नपछि बादल बन्ने, हल्का वर्षा हुने सम्भावना छ । दिउँसो, राति पनि वर्षा हुने देखिन्छ,” उनले भने, “तर, धेरै समय वर्षा हुँदैन । केही समय पानी पर्ने र कमजोर हुने देखिन्छ ।”

हाल देशमा  पश्चिमी  वायुसँगै बंगालको खाडीको जलवाष्पयुक्त हावा र भारतको बिहार आसपास भएको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको उनले बताए ।

केही दिनमै मनुसन भित्रिने
मौसमविद् लामिछानेका अनुसार नेपालमा अब केही दिनमै मनसुन भित्रिने सम्भावना छ । पूर्वी क्षेत्रमा मनसुनका लागि अनुकूल वातावरण बन्दै गरेको उनले बताए । 

“पूर्वतिर मनसुनका लागि अनुकूल वातावरण बन्दै छ । त्यसले गर्दा त्यहाँ तापक्रम घट्ने देखिन्छ,” उनले भने, “यही दिनभन्दा पनि केही दिनमै मनसुन भित्रिने सम्भावना छ ।”

हरेक वर्ष नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ तारिख हो । “यो वर्ष जुन १३ भन्दा अघि त मनसुन भित्रिने देखिँदैन, अहिलेको अवस्थामा त्यसकै केही दिन नजिक मनसुन भित्रिने सम्भावना छ,” उनले भने ।

नेपालमा हरेक वर्ष पूर्वी भेग हुँदै मनसुन भित्रिने गर्छ । क्रमशः पश्चिमी क्षेत्रमा पुग्ने र देशभर मनसुनको प्रभाव रहँदै फेरि फर्किएर पूर्वी भेगबाटै बाहिरिने गरेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १०:००
प्रतिक्रिया दिनुहोस्