site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पूर्वराजा ज्ञानेन्द्रलाई झलनाथको चेतावनी : गुण्डागर्दी मच्चाउने इच्छा पूरा हुनेवाला छैन, मन्दिर नधाए हुन्छ 

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले राजतन्त्र फर्कने कुरा असंभव भएको बताएका छन् । उनले पूर्वराजा ज्ञानेन्द्रलाई गुण्डागर्दी नमच्याउन चेतावनी समेत दिए । 

बिहीबार पत्रकार भेटघाट कार्यक्रममा उनले धमिलो पानीमा माछा मार्नेहरू सक्रिय हुन थालेको र लोकतन्त्र र गणतन्त्रका लागि लड्ने नेतामाथि नाराबाजी गर्ने अभियान नै चलेको बताए । 

“म यहाँ आउनुअघि सोचे, कतै यहाँ मण्डले गुण्डा त प्रवेश गरेका होइनन्,” खनालले भने, “एउटा कार्यक्रममा केही मान्छेले बोल्न समय मागे । जथाभावी बोले । सबै पार्टी र नेताविरुद्ध विशेषगरी मेरा विरुद्ध नारा लगाए ।” 

पत्रकार भेटघाटमा उनले मण्डले बिउत्याउन कोसिस भइरहेको आरोप लगाए । उनले पूर्वराजा ज्ञानेन्द्रको इसारामा यो सब भइरहेको बताए । साथै मन्दिर धाउँदैमा राजतन्त्र नफर्कने खनालको भनाइ छ । 

“ज्ञानेन्द्रलाई केही दिन अघि भनेको थिए, राजनीतिक गतिविधिले भाडभैलो मञ्चाउनुभन्दा राप्रपाको अध्यक्ष बनेहुन्छ । नभए अर्को पार्टी खोलेहुन्छ,” खनालले भने, “ज्ञानेन्द्र शाहलाई भन्न चाहन्छु, खबरदार देशमा गुण्डागर्दी मच्चाउने इच्छा पूरा हुनेवाला छैन । दिउँसै आकाशतिर फर्केर हेरेको सपना हो । एकपटक जन्मेको बालक भित्र पस्न सक्दैन । राजतन्त्र नेपाल धर्तीमा फर्किने वाला छैन । मन्दिर नगए हुन्छ ।” 

उनले नारायणहिटीमा फेरि मुकुट लगाएर जाने दिवा स्वपना भएको भन्दै नागरिक अभिनन्दन खानु राप्रपालाई केही भोट बढाउने कुरा मात्र भएको बताए । 

“चीनमा पनि पहिले राजतन्त्र थियो । अन्तिम राजा पोइले गज्जबको किताब लेखेका छन्,” उनले भने, “त्यो किताबमा उनले राजाहँुदा कति काम गर्नुपथ्यो । नागरिकलाई सेवा गर्नुछ भने म ज्ञानेन्द्र शाहलाई यो किताब पढ्न अनुरोध गर्छु । यो देशलाई काम लाग्ने नागरिक बन्नुस्, हुल्लडबाजलाई होइन ।”

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १५:२४
प्रतिक्रिया दिनुहोस्