site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पूर्वप्रधानमन्त्री तथा मन्त्रीलाई रविको सुझाव : सदनमा छेडखानी नगर्नुस्, चिया पिउँदा गर्नुस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्वप्रधानमन्त्री तथा मन्त्रीहरूले संसद्मा एकअर्काप्रति छेडखानी गरेको भन्दै आपत्ति जनाएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष ०८०/८१ को नीति कार्यक्रममाथिको छलफलमा बोल्दै उनले गम्भीर विषयमा छलफल गर्नुपर्ने संसद्मा यस्ता छेडखानी आवश्यक नभएको बताए । 

उनले ३० वर्षमा के के गरे भनेर बहस गर्न मन भए आ–आफ्नो घरमा गएर चिया पिउँदै छेडखानी गर्न अनुरोध गरे । उनले चिया खाने ठाउँ नभए आफूहरूकहाँ आउन भन्दै व्यंग गरे ।

“यो ३० वर्षको मूल्यांकन गर्न संसद्मा उभिएर तपाईंहरुले एक अर्कालाई छेडखानी गर्नुपर्दैन । एक अर्काको घरमा गएर चिया खाएर कुराकानी गर्नुहोस् । यो महत्वपूर्ण संसद्लाई त्यसको दुरुपयोग नगर्नुहोस्,” उनले भने, “चिया खाने ठाउँको अभाव छ भने हामी नयाँ नेताहरूको घरमा आउनुहोस् । चिया खाने थलो परिर्वतन गर्नुहोस् । नयाँ दल, नयाँ सांसदहरूलाई भेटघाट गर्नुहोस्, त्यसरी अभ्यास गर्नुहोस् ।”

उनले नीति तथा कार्यक्रम फगत खपतका लागि मात्र आएको बताए । गठबन्धन सरकारले गएकै वर्षको नीति कार्यक्रमलाई निरन्तरता दिएको भन्दै उनले भएका छलफल र संशोधनहरूको सम्बोधन नहुने भए किन छलफल गर्नुपर्यो भन्ने प्रश्न गरे । उनले संसद्मा कसले राम्रो बोल्ने भन्ने वक्तित्वकला मात्र भएको भन्दै गुनासो गरे ।

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १३:०९
प्रतिक्रिया दिनुहोस्