site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकारलाई ओलीको कटाक्ष : राष्ट्रिय समन्वय परिषद्को बैठकसम्म नबोलाउनेले संघीयता जोगाएको दाबी गर्ने ?

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एकपटक पनि राष्ट्रिय समन्वय परिषद्को बैठक नराख्नेले संघीयता बलियो बनाएको दाबी गरेको भन्दै सरकारलाई व्यंग्य गरेका छन् । नीति तथा कार्यक्रम र सरकारको उपलब्धिमा संघीयता बलियो बनाएको दाबी गरिएको भन्दै आफ्नो सरकार ढलेपछि राष्ट्रिय समन्वय परिषद्को बैठक समेत नराखिएको बताए ।

“नीति तथा कार्यक्रममा सरकारको उपलब्धि र संघीयताको कार्यान्वयन भनिएको छ । मेरो सरकार ढलेपछि राष्ट्रिय समन्वय परिषद्को बैठक समेत राखिएको छैन,” ओलीले भने, “प्रदेश र स्थानीय तहका समस्या के छन् भनेर कुराकानी गरेर संघीयता बलियो हुन्छ कि कुरै नगरेर बलियो हुन्छ ?”

उनले संविधानले व्यवस्था गरेको संरचनालाई वर्तमान सरकारले बेवास्ता गरेको आरोप लगाए ।

संवैधानिक परिषद्को बैठक समेत बसेन

ओलीले अहिलेका र यसअघिका प्रधानमन्त्रीले राष्ट्रिय संस्थालाई समेत महत्वहीन बनाएको  आरोप लगाए । २३ महिनासम्म संवैधानिक परिषद्को बैठक समेत नराखिएको भन्दै लोकतन्त्रको दुहाइ दिनेहरुका दाबीले मात्र लोकतन्त्र नहुने बताए ।

“२३ महिना संवैधानिक परिषद्को बैठक नबोलाउने, महाभियोग लगाएर प्रधानन्यायाधीशलाई छोडिदिने, महाभियोगमा छलफल हुन नदिने, यस्तै हो लोकतन्त्र ?,” प्रश्न गर्दै ओलीले भने, “जस्टिस प्लस प्रोस्पेरिटी इज इक्वेल टू डेमोक्रेसी हुन्छ ।” 

उनले संविधान र लोकतन्त्रविपरीतका एकोहोरो जिद्दिलाई लोकतन्त्र मान्न नसकिने बताए ।

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १२:४३
प्रतिक्रिया दिनुहोस्