site stats
बाह्रखरी :: Baahrakhari
देश
दाङमा दुई बस ठोक्किँदा एकजनाको मृत्यु, ११ घाइते
प्रतीकात्मक तस्बिर ।

दाङ । दाङमा बस दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् ।

लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु२ख ७८५ नम्बरको बस र वीरगन्जबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना५ख ४८९८ नम्बरको बस आज बिहान लमही नगरपालिका–३, फल्कापुरमा एकापसमा ठोक्किएका हुन् । मृत्यु हुनेमा रोल्पाको रुन्टीगढी–७ की ४२ वर्षीया शोभा परियार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजनकुमार गौतमले जानकारी दिए ।

बाराबाट इँटाभट्टामा काम गरी रोल्पा फर्कंदै गरेका मजदुर सवार बस दुर्घटनामा परेको हो । बसका चालक तुल्सीराम रामिजाल गम्भीर घाइते भएका छन् । दुर्घटनामा ज्यान गुमाएकी शोभाका दुई छोरा पनि घाइते भएका छन् ।

घाइतेलाई उपचारका लागि बुटवल, भैरहवा र नेपालगन्ज पठाइएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए । रासस

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १०:५४
प्रतिक्रिया दिनुहोस्