site stats
बाह्रखरी :: Baahrakhari
खेल
स्कटल्यान्डले सन्दीपसँग हात नमिलाउने पहिल्यै जानकारी गराएको थियो, खेल सकिएपछि पठाउनु क्यानको गल्ती !

काठमाडौं । पछिल्लो एक सातामा आईसीसी क्रिकेट विश्वकप लिग–२ मा लगातार तीन जित हासिल गरेपछि नेपाली राष्ट्रिय क्रिकेट टिमको चर्चा चुलिएको छ । 

तर शुक्रबार स्कटल्यान्डसँगको जितपछि कीर्तिपुर क्रिकेट मैदानमा जुन दृष्य देखियो, त्यसले नेपाली टोलीको सबै जितलाई छायामा पारिदिएको छ । 

त्यो दृष्य हो नेपाली टोलीका निवर्तमान कप्तान सन्दीप लामिछानेसँग स्कटल्यान्डका खेलाडीले हात मिलाउन मानेनन् ।

सन्दीपलाई अहिले नाबालिक किशोरीलाई बलत्कार गरेको आरोप लागेको छ । 

उनको मुद्दा अदालतमा चलिरहेको छ । पुस २८ गते उच्च अदालत पाटनले सन्दीपलाई विभिन्न सर्तसहित २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । 

धरौटीमा रिहा भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले पनि माघ १७ गते सन्दीपमाथिको निलम्बन फुकुवा गर्‍यो । 

लगत्तै मुख्य प्रशिक्षक मोन्टी देसाईले माघ १९ सन्दीपलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाए । 

सन्दीप राष्ट्रिय टोलीमा परेपछि दुई खालको बहस सुरु भएको छ । सन्दीपका समर्थकहरूले क्यानको निर्णयलाई स्वागत गरेका छन् । 

तर, अर्को पक्षले भने क्यान निर्णयको विरोध गरेका छन् । 

सन्दीपलाई राष्ट्रिय टिममा राख्दा यसले अदालतको मुद्दालाई नै प्रभाव पार्ने तर्क उनीहरूको छ । यी तर्कहरू पनि आफ्नै ठाउँमा छन् । 

बलात्कारजस्तो संवेदनशील विषयमा क्यान नेतृत्व सचेत नहुँदा शुक्रबार जितलाई ओझेलमा पार्ने दृष्य मैदानमा देखिए । 

नेपालले नामिबिया र स्कटल्यान्ड सम्मिलित त्रिदेशीय शृंखलाका लागि सन्दीपलाई टोलीमा राख्दा दुबै प्रतिद्वन्द्वीले गम्भीर चासो देखाएका थिए । 

“आगामी आईसीसी क्रिकेट विश्वकप लिग–२ अघि नेपालका सन्दीप लामिछानेको कानुनी स्थितिलाई लिएर आएका रिपोर्टहरू बारे हामी सचेत छौँ । एक प्रशासक निकायको रूपमा र एक टोलीको रूपमा क्रिकेट स्कटल्याण्ड सबै प्रकारका दुव्र्यवहारहरूविरुद्ध दृढ रूपमा खडा छ । आधुनिक समाजमा यसको कुनै स्थान छैन । यी खेलहरूमा खेलाडीको उपलब्धता नेपाल क्रिकेट संघ र आईसीसीले विचार गर्नुपर्ने विषय हो,” क्रिकेट स्कटल्यान्डलाई उद्धृत गर्दै ईएसपीएन क्रिकइन्फोले लेखेको छ । 

क्रिकइन्फोमै क्रिकेट नामिबियालाई उद्धृत गर्दै लेखेको छ, “सबै प्रकारका लैङ्गिक हिंसा, भेदभाव र दुर्व्यवहारको बोर्ड कडा विरोध गर्दछ ।”

sandeep1676804627.jpg

प्रतिद्वन्द्वी टिमले स्पष्ट संकेत दिँदा पनि क्यानले त्यसलाई गम्भीर रुपमा लिएन । 

क्यानका एक पदाधिकारीले खेल सकिएपछि आफूहरुले सन्दीपलाई हात मिलाउन पठाउनु नै गल्ती भएको बताएका छन् ।
बाह्रखरीसँगको कुराकानीमा उनले भने, “खेल सकिएपछि हामीले सन्दीपलाई पठाउनु नै गल्ती थियो । हामीले नपठाएको भने हुने रहेछ भन्ने भएको छ । तर अब यो विषयलाई लम्ब्याउन हुँदैन भन्ने लागेको छ ।”

यसले महिला हिंसामा क्यान नेतृत्वको मानसिकतालाई पनि उदांगो पारिदिएको छ ।  नेपालले स्कटल्यान्डविरुद्ध २७५ रनको लक्ष्य पूरा गरेको थियो । 

त्यसअघि नेपालले नामिबियाविरुद्ध पनि २८६ रनको लक्ष्य पूरा गरेको थियो । पछिल्लो समय खराब लयबाट गुज्रिएको नेपालले लगातार दुई शानदार जित निकाले पनि त्यही एक दृष्यले सबै छायामा परेको छ ।

२७५ रनको लक्ष्य पूरा गर्दा क्रिजमा दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी थिए । 

सोमपालले स्कटल्यान्डबाट ४७औँ ओभर लिएर बलिङमा आएका क्रिस सोलको अन्तिम बलमा चौका प्रहार गर्दै जित निश्चित गरेका थिए । 

जितपछि क्रिजमा रहेका दीपेन्द्र र सोमपालले स्कटल्यान्डका खेलाडीसँग हात मिलाए । 

तर, मैदानबाट बाहिरिने क्रममा स्कटल्यान्डका खेलाडीले नेपालका सबै खेलाडीसँग हात मिलाए पनि मैदान बाहिरबाट भित्र छिर्दै गरेका सन्दीप लामिछानेसँग भने हात मिलाएनन् । 

उनीहरूले सन्दीप अघि रहेका नेपाली खेलाडी र सन्दीप पछि रहेका नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईसँग हात मिलाए पनि सन्दीपप्रति भने चासो देखाएनन् । 

“शृंखलाका लागि केही समय बाँकी रहँदै नेपाल आइपुगेको स्कटिस टिमले हामीसँगको सन्दीपमाथिको आरोपका बारेमा चासो देखाएका थिए । उनीहरूले सन्दीपसँग मैदानमा हात मिलाउँदैनौं भन्ने संकेत गरेका थिए,” क्यानका अध्यक्ष चन्दले बाह्रखरीसँग भने, “उनीहरूले आफ्नो देशमा आरोपीप्रति पनि कडा कानुनी प्रावधान रहेका कारण नेपालमा पनि सोहीअनुरुपको व्यवहार गर्ने जनाएका थिए । तर, सन्दीपप्रति उनीहरूले लिखित रुपमा भने केही प्रतिकृया जनाएका होइनन् ।”

sandeep11676804627.jpg

क्रिकेट स्कटल्यान्डले क्यानलाई मेलमार्फत पहिले नै सन्दीपसँग हात नमिलाउने जानकारी गराएको थियो भनेर बाहिर आएको छ । 

तर, क्यान पदाधिकारीले लिखित रुपमा कुनै जानकारी नगराएको बताउँदै आएका छन् ।  क्यान नेतृत्व सुरुबाटै सन्दीपको पक्षमा उभिदै आएको छ । 

सन्दीपलाई नेपाल प्रहरीले पक्राउ पुर्जी जारी गरेपछिमात्र क्यानले सन्दीपलाई निलम्बन गरेको थियो । 

क्रिकेट स्कटल्यान्डको ‘कोड अफ कन्डक्ट’ ले के भन्छ ?

विश्वका जुनसुकै खेलमा खेलअघि वा खेलपछि नतिजा जित–हार जे भएपनि आफ्नो प्रतिद्वन्द्वीलाई बधाई दिनु ‘खेलको भावना’ हो । 

यो खेलको आदर्श रुप पनि हो । क्रिकेट स्कटल्यान्डले खेलाडी र टिम अफिसियलहरूका लागि जारी गरेको ‘कोड अफ कन्डक्ट’ को खेल भावना प्रस्तावनामा ‘विपक्षी टिमको सफलतामा बधाई देउ र आफ्नो सफलतामा खुशी मनाऊ’ भनि लेखेको छ ।  

क्रिकेट स्कटल्यान्डको जस्तै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले पनि त्यही भन्छ ।  तर, सन्दीपको विषय भने केही फरक छ । सन्दीपमाथि नाबालिकमाथि बलत्कारजस्तो गम्भिर अरोप लागेको छ । 

सन्दीप आफैले पनि भदौ ५ गते गौशला–२६ (परिवर्तित नाम)सँग भदौ पाँच गते नगरकोट घुमेर फर्किदा तिलगंगास्थित होटलमा एकै कोठामा रात बिताएको तथ्य स्वीकार गरेको पाटन उच्च अदालतले जारी गरेको आदेशमा उल्लेख छ । 

तथापी सन्दीपले गौशला–२६ लाई करणी नगरेको जिकिर गरेका छन् । र उनको मुद्दा अहिले विचाराधीन अवस्थामै छ । 

त्यसकारण क्रिकेट स्कटल्यान्डले सन्दीपप्रति त्यस्तो व्यवहार गरेको हो । जुन उनीहरूले पनि क्यानलाई जानकारी गराइसकेका थिए । 

जुन दृष्य अहिले चर्चामा छ । त्यो भन्दा अघि पनि स्कटल्यान्डका खेलाडीले खेलअघि ड्रेसिङ रुममा पनि सन्दीपसँग हात नमिलाएको बताइन्छ । मैदानमा देखिएको दृष्य बिहान ड्रेसिङ रुपमै भएको घटनाको निरन्तरतामात्र भएको बताइएको छ । 

क्रिकेट स्कटल्यान्डले पनि आफ्ना खेलाडीले सन्दीपसँग हात नमिलाएको स्वीकार गरेको छ । 

तर, नेपाली टोलीका व्यवस्थापकले यस विषयमा केही नबोल्ने बताए । “यस विषयमा म केही बोल्दिँन । त्यो सन्दीपको व्यक्तिगत कुरा हो,” नेपाली टोलीका व्यवस्थापकले बाह्रखरीसँग भने, “मलाई यस विषयमा दुवै टिमले रिपोर्ट गरेका छैनन् ।”


 

प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  १६:४७
प्रतिक्रिया दिनुहोस्