
विराटनगर । प्रदेश १ को सरकार गठनमा जनता समाजवादी पार्टी (जसपा) निर्णायक हुने देखिएको छ । जसपा अहिले पनि सरकारमा छ । तर, चुनावमा उसले नेकपा (एमाले)सँग तालमेल गरेको थियो ।
प्रदेश १ मा प्रत्यक्षतर्फ ५६ र समानुपातिकतर्फ ३७ गरी सबै सिटको अन्तिम नतिजा आइसकेको छ । जसमा कुनै पनि दलको एकल बहुमत आएको छैन । अन्तिम मत परिणामअनुसार नेपाली कांग्रेस, नेकपा (माओवादी) केन्द्र र नेकपा (एकीकृत समाजवादी) रहेको सत्ता गठबन्धनको ४६ सिट आएको छ । नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को गठबन्धनको पनि ४६ सिट नै आएको छ ।
प्रदेश १ मा सरकार गठनका लागि ४७ सिट चाहिन्छ । दुवै गठबन्धनलाई सरकार गठन गर्न एक सांसदको कमी हुनेछ । जुन जसपासँग छ ।
समानुपातिकबाट जसपाले एक सिट पाएको छ । अब सरकार गठनमा जसपाले जसलाई साथ दिनेछ प्रदेश १ मा उसकै सरकार बन्नेछ ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की भने जसपाले आफूहरूलाई साथ दिने बताउँछन् ।
प्रदेश नम्बर १ मा गठबन्धनकै सरकार बन्ने दाबी गर्दै उनले भने, “जसपा त अहिले पनि सरकारमै छ । अब पनि हामी सँगै हुने हो । कुनै द्विविधा छैन ।”
जसपाबाट अहिले पनि प्रदेश सरकारमा स्वास्थ्यमन्त्री जयराम यादव छन् । निर्वाचनमा उनी मोरङ ५ प्रदेश निर्वाचन क्षेत्र २ मा कांग्रेसमा अमृत अर्यालसँग पराजित भएका थिए ।
सरकार गठनको एउटा 'साँचो' जसपासँग भएपनि उसले अहिलेसम्म मुख खोलेको छैन । जसपाका मन्त्री यादव पार्टीको निर्णयअनुसार प्रदेशमा कसलाई साथ दिने भन्ने तय हुने बताउँछन् ।
राजनीतिक दलले समानुपातिकतर्फको सूची निर्वाचन आयोगलाई बुझाइसकेपछि सांसदको अन्तिम नामावली प्राप्त हुनेछ । प्रदेशसभाले पुस ६ गतेभित्र पहिलो प्रदेशसभा बैठक गरी शपथ खुवाउने तयारी गरेको छ ।
चुनावमा एमालेसँग राप्रपा र जसपाको तालमेल भएको थियो । सरकार गठनमा पनि तालमेल हुने अनुमान छ ।
तर, जसपाका अध्यक्ष उपेन्द्र यादवले भने ‘एमालेसँग चुनावसम्मका लागि मात्र तालमेल भएको’ बताइसकेका छन् ।
एमालेको समानुपातिक र प्रत्यक्ष गरेर ४० सिट जितेको छ । राप्रपाले प्रत्यक्षमा दुई र समानुपातिक चार गरी ६ सिट प्राप्त गरेको छ । जसपाको एक छ ।
यता सत्ता गठबन्धनमा कांग्रेसको १७ प्रत्यक्ष र समानुपातिक १२ गरी २९ सिट जितेको छ । माओवादी केन्द्रले प्रत्यक्षमा ९ र समानुपातिकमा चार गरी १३ सिट जितेको छ । एकीकृत समाजवादीको तीन प्रत्यक्ष र समानुपातिक एक गरी चार सिट जितेको छ ।
एमालेले प्रदेश १ मा सुनसरी क्षेत्र नम्बर १, सुनसरी ४ ‘क’ मोरङ ५ तथा ५ ‘क’ र ५ ‘ख’ मा जसपालाई साथ दिएको थियो । सुनसरी १ बाट जसपाका नेता अशोक राई प्रतिनिधिसभामा निर्वाचित भएपनि प्रदेशतर्फका अन्य क्षेत्रका उमेदवार पराजित भए ।