site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
दुई वर्षभित्र पेट्रोल र मट्टीतेल पनि पाइपबाटै ल्याउने तयारी

काठमाडौं । मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल आयातको सफलतासँगै पेट्रोल, मट्टीतेल र ग्यास आयातको तयारी नेपाल आयल निगमले गरिरहेको छ ।

पेट्रोल र मट्टीतेल आयात अहिले डिजेल ल्याइरहेको पाइपलाइनबाट ल्याउन सकिन्छ भने ग्यासको लागि अर्काे पाइपलाइन बनाउनुपर्ने हुन्छ । 

ग्यास आयात पनि पाइपलाइनबाट ल्याउनको लागि अहिले छलफल भइरहेको निगमले जनाएको छ । 

Argakhachi Cement Island Ad

डिजेलमात्र आयात भइरहेको उक्त पाइपलाइनबाट पेट्रोल र मट्टीतेल लिने तयारी भइरहेको हो । हाल अमलेखगञ्जमा पेट्रोल र मट्टीतेल भण्डारणको लागि ट्याङ्की निर्माण कार्य भइरहेको छ । 

पाइपलाइनबाट डिजेल आयातमा सफल भएपछि पेट्रोल र मट्टीतेल आयात गर्ने गरी तयारी भइरहेको नेपाल आयल निगमका मधेस प्रदेश कार्यालयका प्रादेशिक प्रमुख प्रदीप यादवले बताए । 

अहिले अमलेखगञ्जमा पेट्रोल भण्डारणका लागि बन्दै गरेको ट्याङ्कीको निर्माण सम्पन्न भएपछि सन् २०२४ जनवरीदेखि पेट्रोल र मट्टीतेल समेत पाइपलाइनबाटै आयात गर्ने तयारी भएको उनले बताए ।

यस पाइपलाइनबाट तीनवर्षमा झण्डै २९ लाख किलोलिटर डिजेल आयात भएको छ । 

olin21662955947.jpg

२०७६ भदौदेखि डिजेल आयात सुरु भएको  थियो । अहिलेसम्म कुल २८ लाख ९२ हजार ४२९ किलोलिटर डिजेल आयात भएको प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख यादवले जानकारी दिए । 

पाइपलाइनबाट डिजेल आयात गर्दा अहिलेसम्म झण्डै ५ अर्ब रुपैयाँ बराबर बचत भएको छ । 

भारतको मोतीहारीदेखि नेपालको अमलेखगञ्जसम्म ६९.२ किलोमिटरमा फैलिएको यो पाइपलाइन दक्षिण एशियाकै पहिलो अन्तरदेशीय पाइपलाइन परियोजना हो । 

यो पाइपलाइनबाट वार्षिक २५ लाख किलोलिटर डिजेल आयात गर्ने क्षमता प्रादेशिक कार्यालय प्रमुख यादवले जानकारी दिए ।

“उक्त पाइपलाइनबाट पेट्रोल र मट्टीतेल आयात गर्दा लिटरमा २ रुपैयाँ ५० पैसा बचत हुन्छ । अहिले ट्याङ्करबाट आयात गर्दा ढुवानीबापत ३ रुपैयाँ ढुवानीखर्च तिर्नुपर्ने छ,” प्रादेशिक कार्यालय प्रमुख यादवले भने “तर पाइपलाइनबाट आयात गर्दा ५० पैसामात्र तिर्नु हुन्छ । जसले गर्दा प्रतिलिटर २ रुपैयाँ ५० पैसा बचत हुन्छ ।” 

यस्तै ग्यास पाइपलाइन सञ्चालनमा आएपछि अहिले भारतीय बुलेटले लैजाने गरेको ६ अर्ब रुपैयाँ विदेशिनबाट रोकिने तथा निगमको वार्षिक ४ अर्ब बचतसमेत हुने उनले बताए । 

यस्तै पाइपलाइनबाट डिजेल आयात गर्दा बीच बाटोमा चोरी हुने समस्याको समयको अन्त्य भएको यादवले बताए ।

गत शुक्रबार पाइपलाइन परियोजना सञ्चालन भएको तीनवर्ष पूरा भएको अवसरमा प्रादेशिक कार्यालयमा विशेष कार्यक्रम गरिएको थियो ।

सो कार्यक्रममा उनले यस्तो जानकारी गराएका हुन् ।

पाइपलाइन सञ्चालनको तीन वर्षसम्म कुनै पनि दुर्घटनारहित ढंगबाट इन्धन आयात गर्न सम्भव भएको भन्दै यसले इन्धनमा हुँदै आएको चुहावट रोक्नसमेत महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । 

पाइपलाइन विस्तार गर्ने तयारी   

अहिले उक्त पेट्रोलियम पाइपलाइनलाई विस्तार तयारी भइरहेको छ । 

हाल उक्त पाइपलाइनलाइ चितवनसम्म पुर्‍याउने र सर्लाहीसम्म ग्यास पाइपलाइन समेत विस्तार गर्ने कार्य अघि बढ्ने उनले बताए ।

अमलेखगञ्ज डिपो नेपालकै सबैभन्दा ठूलो इन्धन भण्डार हो । २०३३ सालमा निर्माण भएको सो डिपो ६७ हजार ७ सय २४ वर्गमिटर क्षेत्रमा फैलिएको छ । 

१९ हजार ८ सय ४० किलोलिटर डिजेल, ३ हजार ४ सय ३० किलोलिटर पेट्रोल ७ सय ६० किलोलिटर मट्टीतेल भण्डारणको क्षमता रहेको छ । यो डिपोको क्षमताले मात्र देशको २.५ दिनको पेट्रोलियमको माग धान्न सक्छ ।

अमलेखगञ्ज डिपोबाट अहिले विराटनगर, जनकपुर, थानकोट, पोखरा, भलवारी डिपोमा स्टक ट्रान्सफर हुँदै आएको छ। अहिले दैनिक औसत पाँचहजार किलोलिटर इन्धन स्टक ट्रान्सफर र ६ हजार पाँच सय किलोलिटर इन्धनको आपूर्ति तथा वितरण गर्दै आएको आएको छ । 

प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९  ०९:५६
प्रतिक्रिया दिनुहोस्