site stats
बाह्रखरी :: Baahrakhari
देश
वायुसेवा निगम कर्मचारी भर्ना : परीक्षा रद्द हुँदा आवेदनबापतको रकम के हुन्छ ?

काठमाडौं । नेपाल वायुसेवा निगमले आर्थिक वर्ष (आव) २०७५/७६ मा विभिन्न पदका लागि लोकसेवा आयोगमार्फत कर्मचारी माग गर्‍यो । विज्ञापन नम्बर १०–१२/२०७५/७६ अन्तर्गत पहिलो चरणको परीक्षामा परीक्षार्थीहरू सहभागी भए । त्यसविरुद्ध सर्वाेच्च अदालतमा मुद्दा पर्‍यो । सर्वाेच्चले नतिजा प्रकाशन नगर्न आदेश दियो ।

लामो समयसम्म कर्मचारी व्यवस्थापन नभएपछि निगमले पुनः कर्मचारी पदपूर्तिका लागि २०७६ फागुन २ गते विज्ञापन प्रकाशन गर्‍यो । निगमले आयोगसँगको समन्वयमा फागुन २ गते खुलातर्फ विज्ञापन नम्बर ०१–१८०७६/७७ र आन्तरिकतर्फ विज्ञापन नम्बर २०१–२२५/०७६/७७ प्रकाशन गरेको थियो ।

आयोगको नियमावालीअनुसार ३५ वर्ष कटेका बहालवाला करारका कर्मचारीले खुलामा आवेदन दिन नमिल्ने व्यवस्था गरिएको थियो । त्यसविरुद्ध निगमका करारका कर्मचारीले सर्वाेच्चमा मुद्दा दायर गरे ।

Argakhachi Cement Island Ad

सर्वाेच्चको ०७७ फागुन १० गतेको आदेश तथा आयोगको ०७९ जेठ २६ गतेको निर्णयबमोजिम निगमको पदपूर्ति समितिको ०७९ असार १२ गतेको बैठकबाट दुवैपटकका विज्ञापनहरू रद्द गरियो । त्यसपछि आवेदकले परीक्षा दिन त पाएनन् नै, उनीहरूले आवेदनबापतको आफ्नै रकम समेत फिर्ता पाएका छैनन् ।

निगमले उक्त रकम कहिले फिर्ता गर्ने टुंगो छैन । निगमको मानव संशाधन विभागका निर्देशक अशोक सिग्देल यस विषयमा छिट्टै सूचना प्रकाशन हुने बताउँछन् । “अहिले त्यसको लागि हामीले तयारी गरिरहेका छौँ । अब छिट्टै शुल्क फिर्ताका लागि औपचारिक रूपमा पत्रिकामा सूचना निकाल्छौँ,” उनले भने ।

मानव संशाधन विभागले ०७९ असार १४ गते पत्रिकामा सूचना प्रकाशन गरी दुवै परीक्षा रद्द भएको जानकारी गराएको थियो । तर, ती विज्ञापनका लागि आवेदन दिएकाहरूलाई रकम फिर्ता लिन कुनै सूचना प्रकाशन गरिएको छैन ।

लोकसेवा आयोग ऐन, २०७९ को परिच्छेद १ को दफा १९ को उपदफा १ मा आयोगले प्रकाशन गरेको विज्ञापनको अन्तिम नतिजा प्रकाशन हुनुअघि जुनसुकै बखत त्यस्तो दरखास्त अस्वीकृत भएमा परीक्षा दस्तुर सम्बन्धित व्यक्तिले फिर्ता पाउने व्यवस्था छ ।

२०७६/७७ मा खुलाइएको विज्ञापनमा १९ हजार ४८ जनाले आवेदन दिएका थिए ।

सिग्देलका अनुसार अहिले पनि शुल्क फिर्ताका लागि निवेदन दिन सकिन्छ । औपचारिक रूपमा शुल्क फिर्ताका लागि सूचना प्रकाशन नभए पनि परीक्षा स्थगित भएको भोलिपल्टबाटै शुल्क फिर्ताका निवेदन पेस गर्न सकिने उनले बताए । अहिलेसम्म करिब ६००–७०० जनाले शुल्क फिर्ताका लागि आवेदन दिएको सिग्देलले जानकारी दिए ।

शुल्क फिर्ताका लागि यस्तो छ प्रक्रिया
परीक्षार्थीले आवेदनबापत बुझाएको शुल्क फिर्ताका लागि कार्यालयमा आएर निवेदन दिनुपर्ने विभागका निर्देशक सिग्देलले बताए । शुल्क फिर्ताका लागि निवेदन दिँदा प्रवेशपत्र अनिवार्य समावेश गर्नुपर्नेछ । त्यसपछि निगमले अध्यावधिक गरेर मात्र शुल्क फिर्ता गर्ने सिग्देलले बताए ।

प्रकाशित मिति: बुधबार, भदौ ८, २०७९  १५:४७
प्रतिक्रिया दिनुहोस्