
विराटनगर । गठबन्धन दलको भागबण्डा मिल्न बाँकी रहे पनि मोरङमा नेपाली कांग्रेसका केन्द्रीयस्तरका नेताहरूले चुनाव केन्द्रित गतिविधि बढाएका छन् । ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा दुईवटामा नेकपा माओवादी र नेकपा एसले दाबी गरेका छन् । तर, केन्द्रीयस्तरबाटै भागबण्डाको टुंगो लाग्ने हुँदा जिल्लामा अन्योल छ ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै जाँदा गठबन्धनका कारण निर्वाचन क्षेत्रको भागबण्डामा कसले टिकट पाउने तय नभइसके पनि नेताहरूले भने चुनाव केन्द्रित कार्यक्रमलाई गति दिएका छन् ।
नेपाली कांग्रेसका नेता महेश आचार्य साताअघि नै काठमाडौंबाट विराटनगर आई निर्वाचनको तयारी थालिसकेका छन् । आचार्यले आफ्नो क्षेत्रका कार्यकर्तादेखि मतदातासम्मलाई भेट्न सुरु गरेका छन् । मोरङ निर्वाचन क्षेत्र नम्बर ४ का दाबेदार मानिएका आचार्य यसपटक पनि साविककै क्षेत्रबाट उठ्ने तयारीमा छन् । “म नै उमेदवार हुँ ढुक्क हुनुहोस्,” आचार्यले आफ्ना कार्यकर्तालाई आश्वस्त पार्दै भन्ने गरेका छन् । आचार्यको क्षेत्रमा अघिल्लो पटक नेकपा माओवादी केन्द्रका उमेदवार विजयी भएका थिए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले पनि चुनावलाई केन्द्रित गरी गतिविधि सुरु गरेका छन् । यसअघि मोरङको निर्वाचन क्षेत्र नम्बर ५ बाट उठेका अर्याल पार्टीको केन्द्रीय नीति र आफूले प्राप्त गर्ने जिम्मेवारीअनुसार अघि बढ्ने तयारीमा छन् । “गठबन्धन गर्ने तयारी भएकोले पार्टीको केन्द्रीय नीतिअनुसार मलाई दिइने जिम्मेवारी पूरा गर्न म तयार छु,” अर्यालले भने, “यो अथवा त्यो कुन क्षेत्र प्राप्त गर्ने भन्ने टुंगो छैन, तर म पार्टीका कार्यक्रमहरूमा सहभागी भइरहेको छु ।” अर्यालको निर्वाचन क्षेत्रमा अघिल्लोपटक नेकपा माओवादी केन्द्रका उमेदवार विजयी भएका थिए ।
प्रत्यक्षतर्फ संघीय सांसद उमेदवार बन्न दाबेदारी प्रस्तुत गरिरहेकी कांग्रेस नेतृ डा. डिला संग्रौलाले पनि सक्रियता बढाउँदै चुनाव केन्द्रित भेटघाट र कार्यक्रमलाई गति दिएकी छन् । कांग्रेस नेतृत्त्व सुजाता कोइरालासँगै मोरङको निर्वाचन क्षेत्र नम्बर २ का विभिन्न ठाउँमा आयोजित कार्यक्रमहरूमा दुबै कांग्रेस नेतृ सहभागी भएका छन् । संग्रौला भन्छिन्, “मोरङमा शैलजा आचार्यपछि कांग्रेसबाट कोही पनि महिला उमेदवार चुनावी मैदानमा खडा भएका छैनन् त्यसैले मैले टिकट पाउनु पर्छ भन्ने मेरो जोड हो ।”
मोरङको ग्रामथान गाउँपालिकामा अगुवा कार्यकर्तासँग भेटघाट गर्दै कांग्रेस नेता महेश आचार्य ।
मोरङको २ नम्बर क्षेत्रमा आफ्नो दाबी रहेको संग्रौलाको भनाइ छ । यो क्षेत्रमा यसअघि कांग्रेस नेता मिनेन्द्र रिजाल विजयी भएका थिए । त्यहाँ सुजाता कोइरालाले पनि दाबेदारी प्रस्तुत गरिरहेकी छन् ।
मोरङको निर्वाचन क्षेत्र नम्बर १ मा पार्टीका मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बूको दाबी छ । यसअघि पनि उनी सोही क्षेत्रबाट चुनाव लडेका थिए । गठबन्धन तय नभए पनि लिम्बू निरन्तर आफ्नो क्षेत्रमा सक्रिय हुँदै आएका छन् । “पहिले पनि म उठेको र क्षेत्र बुझेकाले मेरो तयारी छ,” लिम्बूले भने । त्यहाँ कांग्रेसबाट उर्लाबारी नगरपालिकामा विजयी खड्ग फागोले पनि दाबेदारी प्रस्तुत गरिरहेका छन् ।
निर्वाचन क्षेत्र नम्बर ३ मा डा. सुनील शर्मा आफूले नै टिकट प्राप्त गर्ने दाबेदारीसाथ अभियानमा सक्रिय छन् । पार्टी र मतदातासम्म पुग्ने कार्यक्रम लिएर उनी सक्रिय छन् । यसअघि त्यहाँ एमालेका भानुभक्त ढकाल विजयी भएका थिए ।
मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा कांग्रेस नेता डा. शेखर कोइरालालाई निर्विकल्प उमेदवार मानिएको छ । बरोबर विराटनगर आइरहने कोइराला कार्यकर्तामाझ भिज्न निरन्तर सक्रिय छन् । आममतदातासँग समेत पुगिरहेका कोइरालालाई नै त्यो क्षेत्रको दह्रो उमेदवार मानिएको छ । यसअघि एमालेका लालबाबु पण्डितसँग कोइराला झिनो मतान्तरले उनी पराजित भएका थिए । कांग्रेसभित्रको किचलो र बाटो छेकाछेकलाई निस्तेज पारेर अघि बढ्न सके कांग्रेसले मोरङका सबै क्षेत्रमा जित्नसक्ने मोरङ कांग्रेसका सचिव मोदराज घिमिरे दाबी गर्छन् ।