site stats
बाह्रखरी :: Baahrakhari
विशेष
सप्तकोसी पसेपछि शुक्रबारे गाउँ खाली गरियो, विगत दोहोरिने पिरमा भागलपुरवासी

उदयपुर, बेलका । बुधबार दिउँसो उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नम्बर २ भागलपुर बस्ती पुग्दा धेरै मानिस घर बाहिर देखिन्थे । धेरैको अनुहारमा चिन्ता र त्रासको भाव प्रस्टै देखिन्थ्यो ।

स्थानीय खडानन्द ढकाल पनि भागलपुरबाट फेरि भाग्नुपर्ने हो कि भन्ने चिन्तामा थिए । साथीसँगै सयपत्री चोकतिर निस्किएका उनी टोलाइरहेका थिए । ढकाल परिवार २०२९ ढकाल परिवार त्यहाँ बस्दै आएको छ ।

अरूजस्तै उनको परिवारले पनि बुधबार बिहानै अप्रिय खबर सुन्यो– सप्तकोसी नदी पुरानै धार समाउँदै पश्चिमतर्फ सोझियो । उनको परिवारसहित स्थानीय चिन्तित बने ।

Argakhachi Cement Island Ad

उनीहरू अहिले पनि चिन्तामा छन् । उनीहरूमध्ये धेरैमा कोसीले डुबान गर्ने हो कि भन्ने चिन्ता छ । पुरानो थातथलोका मानिसहरू २०४५ सालमा बस्तीमा पसेर सप्तकोसीले मच्चाएको ताण्डव सम्झिँदै छन् । सबैमा अब के गर्ने भन्ने चिन्ता छ ।

Sapta Koshi1659545020.jpg

भागलपुर चौकको चिया पसलमा भेटिएका ढकालले केही पूर्वपट्टिको गहिरो भाग देखाउँदै भने, “हो यहीँबाट सप्तकोसी बगेको थियो । भूकम्पपछि भने नदी केही पूर्वतर्फ लाग्यो । अहिले गिदेरी खोला बगेतिर त्यतिबेला कोसीको ठुलो बहाव थियो । दक्षिणतिरको गिदेरी खोला पसेर आयो भने कोसीले गाउँ सखाप बनाउँछ ।”

ढकालले अहिलेको बजार क्षेत्रमा पहिले मृत्यु भएका मानिसहरू सद्गत गर्ने ठाउँ रहेको सुनाए । अहिले भने त्यो ठाउँमा बजार बसेको छ । केही पूर्व गिदेरी खोलामाथि झोलुङ्गे पुल बनेको छ । घर र पसलहरू बाक्लै देखिन्छन् । 

घनश्याम चौधरीले पनि सप्तकोसीले उबेला मच्चाएको 'ताण्डव' आफ्नै आँखाले देखेका थिए । उनका अनुसार त्यतिबेला बस्ती भित्रैसम्म नदी पसेको थियो ।

पूर्व फर्किएको कोसी फेरि गाउँतिर आउने भएपछि अहिले चिन्ता बढेको बताउँदै चौधरीले भने, “मानिसहरूको भागभागको अवस्था छ । उतिबेला पनि मानिसहरू भाग्दै आउँदै गरेकोले यो ठाउँको नाम नै भागलपुर रहन गयो ।”

कोसीको पिरले आफ्नो ठाउँबाट धेरै थारू समुदायका मानिसहरू भागेको अन्यत्रै गएको चौधरीले सुनाए । २०४५ सालमा कोसी गाउँ पसेपछि मानिसको भागाभाग भयो । धेरैले थातथलो छाडे, त्यही भएर गाउँको नाम नै भागलपुर भयो ।

शान्ता कट्टेल र परिवारसहित झापाको दमक नगरपालिकास्थित ताराबारीबाट बसाइँ सरेर भागलपुर आइन् । त्यतिबेला हरियाली थियो । खेतीपाती गर्नेका लागि यो ठाउँ निकै उब्जाउ थियो ।

“पछि कोसी छिर्‍यो । बस्ती डुब्यो । हामी खर काट्न डुंगा चढेर जान्थ्यौ,” कट्टेलले भनिन्, “बेलकाको मास्तिर पर्ने डुम्म्रिबोटेबाट कोसी यतैतिर आउँदैछ भन्दैछन् । हामी त के गर्ने न कसो गर्ने भनेर चिन्तामा परेका छौँ ।”

Bhagalpur1659545104.jpg

गाउँमा प्रदेशका मन्त्रीसहित नगरप्रमुख र सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति देखेपछि विपद् ठूलै आउने हो कि भन्ने गाउँलेले अड्कल काटिरहेको कट्टेलले बताइन् । स्थानीय दिलमाया मागरले भागलपुरमा ठुलो संकट आउन लागेको र आफूहरू धनजन कसरी जोगाउने भन्ने चिन्तामा परेको बताइन् । 

शुक्रबारे भाटेपुल बस्ती खाली गरियो
बेलका नगरपालिकाको वडा नम्बर ३ का स्थानीयलाई सुरक्षित स्थानमा सार्ने कार्य चलिहरँदा उपप्रमुख जिरा राईको चटारो बेग्लै थियो । घर छाड्न नमान्नेलाई मनाउन उनी प्रयास गरिरहेकी थिइन् ।

सशस्त्र प्रहरीको टोली सप्तकोसीको भंगालो हुँदै गाउँलेलाई उद्धार गर्न खटिँदा राईले स्थानीयलाई सुरक्षित स्थानमा लगिने, खान र बस्न उचित प्रबन्ध गरिने भन्दै सम्झाइरहेकी थिइन् । सुरक्षाकर्मीले गोमा विश्वकर्माका परिवारका सदस्यलाई भाटेपुल वारि ल्याए । छोरी पनि वारि आइन् । तर, गोमा भने पारि नै थिइन ।

“चिन्ता नगर्नुहोस् सबैलाई सुरक्षित स्थानमा लग्छौँ, कोही पनि छुट्दैन,” उपप्रमुख राईले सम्झाउँदै भनिन्, “करिब ५०० परिवारलाई सुरक्षित स्थानतर्फ लग्ने योजनासाथ काम गरिरहेका छौँ ।”

दिउँसो प्रदेशका आन्तरिक मामिला मन्त्री केदार कार्की, सडक पूर्वाधार तथा सहरी विकास मन्त्री हिमाल कार्की, उदयपुर, सप्तरी, सुनसरी र मोरङका प्रमुख जिल्ला अधिकारीहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका प्रदेशस्थित प्रमुखहरू उदयपुर पुग्दा धेरै मानिसहरू घर छाड्न मानेका थिएनन् । कतिपय मानिसहरू भने वस्तुभाउ रुँघेर घरमै बसेका थिए । स्थानीय फाल्गुन कार्कीले भने, “धेरै मानिसहरू निस्किए तर कतिपयले निस्कन नमान्दा उद्धारमा समस्या पनि भयो ।”

Bhagalpur 31659545009.jpg

कोसीको भंगालो पसेको यो क्षेत्रबाट दिउँसोदेखि नै सुरक्षाकर्मीले डुंगामा राखेर स्थानीयलाई सार्न सुरु गरेका थिए । बढीमा दुईहजार परिवारलाई सुरक्षित स्थानमा सार्ने प्रदेश विपद् व्यवस्थापन समितिले तयारी गरेअनुरूप बेलका नगरपालिकासहित जिल्ला विपद् व्यवस्थापन समितिले समेत काम अघि बढाएको प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले बताएका छन् ।

“संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहको संयुक्त प्रयासमा पीडितको उद्धार, राहत र अस्थायी बसोबासको प्रबन्ध गर्ने योजनासाथ काम अघि बढाएका छौँ,” उनले भने ।

बेलका नगरपालिकाका मेयर अशोक कार्कीले राहत र उद्धार तत्काल आवश्यक रहेको बताउँदै आफूहरूले संघ, प्रदेश र आफ्नै पहलमा सामूहिक रूपमा कोसी प्रभावितलाई तत्कालको लागि व्यवस्थापन गर्ने काम अघि बढाएको बताए । “पहिले कोसीले तय गरेको ठाउँबाट फेरि बस्तीतर्फ पसेकोले पानीको बहाव बढ्दै गयो भने झन् जोखिम हुने देखिन्छ त्यही भएर स्थानीयलाई सरकारी तवरबाट उद्धार गर्न थालिएको अभियानमा सहयोग गर्न भनिरहेका छौँ,” कार्कीले भने ।

पाँच वडाका नौ स्थानमा पीडितको बसोबास 
उद्धार गरिएका स्थानीयलाई बेलका नगरपालिकाका विभिन्न पाँचवटा वडाका नौ स्थानमा राख्ने व्यवस्था मिलाइएको नगरपालिकाका प्रमुख अशोक कार्कीले बताएका छन् । उद्धार गरिएकाहरूलाई वडा नम्बर १ को गलफडिया आधारभूत विद्यालय, वडा नम्बर २ को भागलपुर वनडाँडा रेडक्रस भवन, जनता मावि, वडा नम्बर ३–९ को खसी संकलन केन्द्र, खानेपानी भवन, क्याम्पस, भचुवाबजारमा प्रबन्ध मिलाइएको छ ।

यसैगरी वडा नम्बर ८ को डुडखोला सामुदायिक भवन र विद्यालयमा बस्ने व्यवस्था मिलाइएको कार्कीले जानकारी दिए ।

Bhagalpur 21659545020.jpgप्रदेश सरकार र विपद् व्यवस्थापन समितिमार्फत ३७ हजार ५०० केजी चामल, सात हजार ५०० केजी दाल, नुन तीन हजार केजी, तेल तीन हजार लिटर, नुहाउने साबुन तीन हजार पिस, कपडा धुने साबुन चार हजार पाँच सय पिस, चिउरा सात हजार पाँच सय केजी र भुजा तीन हजार केजी प्रबन्ध गरिएको जनाइएको छ । 

सप्तकोसी नदीमा पानीको बहाव बढ्दा उदयपुरसँगै सप्तरी र सुनसरीका पालिकाहरू बढी जोखिममा परेका छन् । उदयपुरको बेलका–८, डुम्म्रिबोटेबाट बाढीको भँगालो बस्तीमा पसेको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिएका छन् । 

सप्तरीको सप्तकोसी नगरपालिकाका प्रमुख कृष्णप्रसाद ढकालका अनुसार बाढीले सप्तकोसीका ६ र ७ नम्बर वडामा प्रत्यक्ष असर गर्न सक्छ । “सप्तकोसी नगरपालिकाका ३, ६, ७, ८, ९ र १० नम्बर वडामा प्रभाव पर्छ । त्रियुगा नदीको किनारमा पर्ने वडाहरू हुन् । नदीमा गएर यो पानीको बहाव मिसिन गयो भने पानीको बहाव खोलिएर सप्तकोसी नगरपालिकाका ६ र ७ नम्बर वडामा प्रत्यक्ष रूपमा असर पर्न सक्छ । यसका लागि हामीले ‘अलर्ट’ गराइसकेका छौँ,” ढकालले भने ।

यस्तै, सप्तरीकै कञ्चनरूप नगरपालिकामा पनि १, २, ४, ५, १० वडामा असर गर्ने प्रमुख ललनप्रसाद गुप्ताले बताएका छन् । बस्तीमा बाढी पस्ने खतरा भएकोले स्थानीयलाई सतर्क रहन आग्रह गर्नुका साथै सुरक्षित स्थानमा राख्न तयारी थालिएको उनले सुनाए । सुनसरीको बराह क्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले वडा नम्बर–६ र ९ मा असर पर्ने भएकाले हाई अलर्टमा राख्न आग्रह गरिएको बताएका छन् ।

उता, उदयपुरको बेलाका नगरपालिकाका–३, ५ र ८ नम्बर वडामा गरी करिब एक हजार घरपरिवार प्रभावित हुने जनाइएको छ । कोसी नदीको भँगालो बुधबार बिहान करिब ४ बजे उदयपुर, सप्तरी र सुनसरीका बस्तीतर्फ पसेको हो ।

श्रीलंका टप्पुवासीले सर्न मानेनन्
सप्तकोसीको भंगालोले घेरिएको श्रीलंका टप्पुका बासिन्दा भने घर छाडेर अन्यत्र जान नमानेपछि उनीहरू बस्तीमै छन् । बराह क्षेत्र नगरपालिका वडा नम्बर ६ र ९ मा पर्ने यो टप्पुका बासिन्दाले आफूहरू सुरक्षित रहेको भन्दै उद्धार गर्नुनपर्ने बराहक्षेत्र नगरपालिकाका प्रमुख र सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई जानकारी गराएका छन् । 

बराह क्षेत्र नगरपालिकामा पर्ने यो टप्पुमा पाँचसय घरधुरीका दुई हजार ५०० मानिस बसोबास गर्छन । सुनसरीका प्रमुख जिल्ला अधिकारी यादवले भने, “उहाँहरूले हामी सुरक्षित छौँ पानी पसेको छैन भन्दै आउन मान्नुभएन ।”

Bhagalpur 41659545009.jpg

कतिपय स्थानीयले बाढीको बहाना पारेर सरकारले आफूहरूलाई अन्यत्रै सार्न लागेको भन्दै आउन नमानेको पाइएको छ । यसबारे आफूलाई समेत जानकारी आएको बताउँदै प्रदेश नम्बर १ का सडक पूर्वाधार तथा सहरी विकास मन्त्री हिमाल कार्कीले भने,“सरकारले अन्यत्रै सार्ने र अब यहाँको सरकारी जमिनमा बस्न नदिने भन्ने परेछ त्यही भएर कतिपयले आउन मान्नु भएको छैन ।”

मन्त्री कार्कीले स्थानीयलाई अन्यत्रै सार्ने आफूहरूको तयारी र नियत नरहेको सुनाए । 

प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  २२:३२
प्रतिक्रिया दिनुहोस्