
काठमाडौं । पछिल्लो दुई महिनायता नेपालमा कोभिड १९ संक्रमितको संख्या निरन्तर बढिरहेको छ ।
साउनका १७ दिनमा ८ हजार ७३७ जनामा संक्रमण पुष्टि भएको छ ।
सक्रिय संक्रमितमध्ये आईसीयूमा भर्ना हुनेको संख्या ३६ छ भने भेन्टिलेटरमा ५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।
दैनिक दुई जनासम्मको मृत्यु भइरहेको छ । साउन १ गतेयता मात्रै १६ जना संक्रमितको मृत्यु भएको छ ।
सक्रिय संक्रमितको तुलनामा अस्पताल भर्ना हुने र आईसीयूमा उपचार गराउनेको संख्या पछिल्लो तेस्रो लहरको भन्दा बढी छ ।
विज्ञहरुले चौँथो लहर सुरु भइसकेको बताइरहँदा सरकारले पहिलेजस्तै जनस्वास्थ्यका मापदण्ड अपनाउन तथा कोभिड १९ विरुद्धको बुस्टर डोज खोप लिन पटक पटक आग्रह गरिरहेको छ ।
तर खोप लगाएका व्यक्तिहरु पनि संक्रमित भएर अस्पताल भर्ना हुने भइरहेको विभिन्न अस्पतालहरुको आँकडाले देखाउँछ ।
तर अस्पताल भर्ना हुनेहरुमा दोस्रो र तेस्रो लहरमाजस्तै रोग प्रतिरोधी क्षमता कमजोर रहेका तथा दीर्घरोगीहरु बढी रहेको विशेषज्ञहरु बताउँछन् ।
क्यान्सरपछिको उपचार गराइरहेका, मिर्गौलाको डायलायसिस गराइरहेका, गम्भीर प्रकारको रोग लागेका व्यक्तिहरुमा संक्रमण र अस्पताल भर्ना हुने सम्भावना दुवै अधिक रहने विशेषज्ञहरुको भनाइ छ ।
पछिल्लो समय अस्पताल भर्ना हुनेमा कस्ता संक्रमित धेरै छन् त ? के पूर्ण खोप लगाएकाहरुमा पनि जटिलता रहन्छ ? कस्ता संक्रमितलाई आईसीयू र भेन्टिलेटरमा राखिन्छ त ? प्रस्तुत छ यिनै विविध प्रसंगबारे बाह्रखरी संवाददाता अस्मिता रिजालले वीर अस्पतालका कोभिड फोकल पर्सन डा. अच्युत कार्कीसँग गरेको भिडियो कुराकानी ।