
विराटनगर । “सुवर्णजीसँग ६०० रुपैयाँ लिनु थियो । फेरि कलकत्ता जानुपर्ने भयो,” दोस्रोपटकको भेटमा अलि फरक ढंगले प्रस्तुत भए, १०२ वर्षीय हरिप्रसाद दाहाल ।
भारतको कलकत्तामा आठ महिना सुवर्णशमशेरसँग बिताएका उनको स्मरण शक्ति धुमिल भएको छ । रोगले थलिएका छन् । दुवै मृगौला कमजोर बनेका छन् । उच्च रक्तचाप र सुगरले पनि गाँजेको छ । हिजोआज मान्छे चिन्दैनन् । विगतका कुरा दोहोर्याइ तेहेर्याइ भन्छन् । मोरङ रंगेलीको दर्वेशास्थित निवासमा भेट्न पुग्दा स्मृतिमा भएका थोरै विगत कोट्याए ।
नेपाली कांग्रेसका संस्थापकमध्येका एक सुवर्णशमशेरको नजिक थिए, हरिप्रसाद । कांग्रेसको आन्दोलनमा होमिँदा तेह्रथुमको पौँठाक थियो, किलोथलो । पछि सर्वस्वहरणमा परे । जायजेथा सबै गुमाए । दाहालको चालचलन राज्यले थाहा नपाउने कुरै थिएन । प्रजातन्त्र सेनानी जो थिए ।
राजा महेन्द्रका सहयोगीको पहिल्यैदेखि नजर थियो, उनीमाथि । एकरात प्रहरीले घरमा बम हान्यो । बुइँगलमा लुके । भाग्य दह्रो थियो, केही भएन र बाँचे । त्यो दिन प्रहरीले घर खानतलासी गरेन । नत्र समातिने थिए ।
झिसमिसै श्रीमतीको सारीचोलो बेरे । कम्मरमा गाग्री भिरे । पानी भर्न पँधेरो गएजस्तै गरे । अनि खुसुक्क गाउँबाट निस्किए । त्यसपछि पहाडै पहाड सोझै दार्जिलिङ हान्निए ।
“हामी कांग्रेसको प्रचार सामग्री गाउँगाउँ लग्थ्यौँ,” दाहालले विगत सम्झँदै भने, “धेरै साथी मारिए । भाग्यले बाँचेर म भारत पुगेँ । श्रीमती र आठ सन्तान यतै थिए । पिरलो भने भइरहेको थियो ।”
कलकत्ता गएर सुवर्ण शम्शेरलाई भेट्ने योजना बनाए अनि उतै लागे ।
“चारवटा बिल्डिङ रहेछन् । भरत शम्शेरको पनि रहेछ । त्यहाँ पुगेपछि त भान्छे बाहुनीले भात पकाउने रहिछन् । राम्ररी राखे । सुवर्णजी बाहिर गएका रहेछन्, भोलिपल्ट भेट भयो । देवी भट्टराई भन्ने थिए । भेट गराउने जिम्माका । पचास रुपैयाँ मात्र खर्च दिन लागेका थिए । मैले जोड गरेपछि सय रुपैयाँ दिए । पछि दार्जिलिङ फर्किन भने । कलकत्ता बस्न बढी खर्चिलो हुन्छ भन्दै उतै जान सुझाएका थिए । त्यतैबाट राजनीतिक आन्दोलनमा सहभागी हुन अह्राएपछि सातआठ महिना बसेर म फर्किएँ,” दाहालले सुनाए ।
दार्जिलिङको चिया कमानमा काम गरे । थोरै पौसा आउँथ्यो । परिवारको पालनपोषण गर्न कठिन थियो । त्यहीँबाट धेरै नेपालीलाई प्रजातान्त्रिक आन्दोलनमा लाग्न प्रेरित गरे । कांग्रेसमा लागेका र देश निकाला भएकाहरू सुवर्णलाई भेट्न कलकत्ता गइरहन्थे । आन्दोलनको योजना उतै बन्थ्यो ।
“त्यतिबेला सुवर्णजी भव्य कनक बिल्डिङमा बस्नुहुन्थ्यो,” दाहालले विगत सम्झँदै भने, “हामीलाई राख्ने ठाउँ पनि थियो । त्यहाँबाट आन्दोलनबारे धेरै कुरा बुझेँ । सकेको सहयोग गरेँ । पछि अब दार्जिलिङबाटै आन्दोलनमा सहयोग गर्नु भन्नुभयो । रेल भाडा र खर्च दिनुभयो । म फर्किएँ । त्यसपछि आठ वर्ष दार्जिलिङ बसेँ ।”
श्रीमती दुर्गादेवी दाहाल पाँच छोरा र तीन छोरी च्यापेर दार्जिलिङ पुगिन् । मुस्किल थिए ती दिन । तर, दाहाल परिवारले कांग्रेसको आन्दोलनमा लागिरह्यो ।
“२०१५ पछि राजाको शासन थियो । यज्ञबहादुर कप्तान थिए, उनी पछि सहिद भए । एक जमदारलाई पनि खोज्दै गएका थिए । राजा महेन्द्रको शासन थियो । म त देश निकालामा परिहालेँ,” विगत बताउँदै दाहालले भने, “हाम्रो जहान परिवारले धेरै दुःख पायो । परदेशमा आठ जना छोराछोरी हुर्काउन कहाँ सजिलो थियो र ?”
तेह्रथुममा कांग्रेस सेनानीले थानामा आगो लगाइदिए । प्रहरीले दुर्गादेवीलाई समात्यो । लगेर बारबार थुक्न लगायो । थुक्न लगाएपछि बस र उठ भन्यो । दुर्गादेवीले विगत सम्झदै भनिन्, “उठ्दै बस्दै गराएको त उठबस रहेछ । आगो लगाएर दौडिएको भए मुख सुकेर थुक आउँछ कि आउँदैन भन्ने पत्ता लगाउन मलाई थुक्न लगाएका रहेछन् । मैले पछि पो त्यो कुराको मेसो पाएँ ।”
त्यसबेलाको संसार अन्धकार देश थियो । बिजुली र शिक्षा थिएन । छोराजति भैँसी र छोरी बाख्रा गोठालो हुन्थे ।
धेरैपछि दाहाल परिवार नेपाल आयो । अनि बसाइ मधेसतिर भयो । कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएपछि कांग्रे सले राजनीतिक पीडितलाई सम्झियो । पचास पचास हजार रुपैयाँका दरले सहयोग गर्यो । त्यही पैसाले रंगेलीमा खेत र विराटनगरमा घडेरी किने ।
दाहाल भन्छन्, “अहिलेको कांग्रेसबारे मलाई धेरै थाहा छैन । तर त्यसबेलाको कांग्रेसले गरेको आन्दोलनकै कारण सबैले शिक्षा लिन पाएका छन् । सडक बनेका छन् । बिजुली आएको छ । विकास भएको छ । मलाई पार्टीप्रति पनि कुनै गुनासो छैन । हामीले जे जति गर्न सक्यौँ, गरेको हो । मलाई पनि पार्टीले गरेको छ ।”
दुर्गादेवीले आफू पनि राजनीतिक पीडित भएको दाबी प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईसामु गरिन् । 'एउटालाई पार्टीले हेर्ने, अर्कोलाई नहेर्ने । यो त भेदभाव भएन ?' भनेर प्रश्न गरिन् ।
“लु तिमीलाई पनि दिन्छु भन्दै मलाई पनि पचास हजार दिनुभयो,” उनले भनिन्, “पछि २०३६ को महेन्द्र मोरङ क्याम्पस आन्दोलनमा विजयकुमार गच्छदार घाइते भएका थिए । मैले नै अस्पताल लगेँ । उपचार गराएँ । अनि खाना खुवाएँ ।”
अहिले पनि विराटनगर आउँदा गच्छदारले दुर्गादेवीलाई भेट्छन् । आमा मानेका छन् । गच्छदारका चारवटा दाँत झरेको र त्यो आफूले हातमा समाएर अस्पतालसम्म पुगेको दुर्गादेवीको अझै स्मरणमा छ ।
दाहालका पाँच भाइ छोरामध्ये जेठा राजेन्द्र धेरै समयसम्म पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति स्व. गिरिजाप्रसाद कोइरालाको सहयोगीको रूपमा २०४५ सालदेखि काम गरे । माइला पिताम्बर दाहाल नेपाली कांग्रेस मोरङको जिल्ला सचिवसम्म भए । साइँलो विश्वनाथ निजामती सेवातर्फ लागे । उनका काइँलो छोरा बाबुराम हुन् । कान्छा गोपाल दाहाल कानुनी पेसामा छन् । छोरीहरू घरजम गरिरहेका छन् ।