site stats
बाह्रखरी :: Baahrakhari
विशेष
ट्री–हाउस खोलेपछि पथरीको वनमा पर्यटकको ओइरो 

विराटनगर । मोरङको पथरी बजार नआउँदै पूर्वपश्चिम राजमार्गबाट उत्तरपट्टीको वन छिर्ने एउटा सानो गेट छ । झुरुप्प र बाक्ला रुखको बीचबाट वन छिर्ने ठाउँ सानो गुफाको मुख जस्तै देखिन्छ । तर, भित्र छिर्नासाथ त्यहाँ पर्यटकको चहलपहल देखिन्छ । थरिथरिका चरा र किराको आवाजले वनक्षेत्र गुन्जिएको हुन्छ ।
 
हार मिलाएर राखिएका टायल ओछ्याएर निर्माण गरिएको नागबेली पथमार्ग हुँदै वनभित्र केहीपर सिमसार पोखरी पुगिन्छ । बस्न बनाइएका काठका फलैंचामा अनि केही पश्चिमको रुखघर (ट्री–हाउस) मा चढ्ने मानिसको भिड लाग्छ । नजिकै धुँवा निस्किँदै गरेको अगेनो वरिपरी आगन्तुक फरक स्वादका परिकार खाइरहेका हुन्छन् । हार मिलाएर राखिएका टेबलकुर्सीमा पर्यटकको सँधैजसो भीड हुने गर्छ । 

Argakhachi Cement Island Ad

पथरीशनिश्चरे नगरपालिका क्षेत्रमा पर्ने मनोकामना सामुदायिक वनले आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न वनभित्रको सिमसार व्यवस्थापन, विश्रामस्थल निर्माण र रेस्टुरेन्ट संचालन गराएको छ । “एक वर्षअघिसम्म यहाँ यति भीड हुँदैन थियो, हामीले सिमसार पोखरी संरक्षण गरेर यहीको कटुसको बोटलाई जगेर्ना गर्नेगरी वनलाई व्यवस्थित पर्यटकीयस्थल बनाउनेतर्फ काम गरेका हौँ,” सामुदायिक वनका अध्यक्ष उदय राई ‘दिनेश’ले भने, “पर्यटनबाट सामुदायिक वनको आम्दानी बढेको छ । प्राप्त आम्दानीले वन जोगाउने र वनका सदस्यको जीवनस्तर सुधारमा धेरै काम गर्ने योजना बनाएका छौँ ।” 

पूर्वपश्चिम राजमार्गसँगै जोडिएको र आउजाउ गर्नसमेत सजिलो भएकाले पनि यो रमणीय पर्यटकीयस्थल घुम्न जाने र सामाजिक सञ्जालमा भिडियो बनाएर राख्ने पर्यटकको संख्या बढ्न थालेको राईले बताए । 

वनको रमणीय दृश्य खिचेर टिकटकमा धेरै भिडियो आउन सुरु भएपछि भारतदेखि नेपालको काठमाडौं, पोखरा, धनगढीसम्मका मानिसले थाहा पाएको र पूर्व आएका बेला एकपटक जाने योजनासाथ आउने गरेको वन समितिका पदाधिकारी बताउँछन् । 
 
गर्मीको समयमा वनभित्रको ओसिलो ठाउँमा बनाइएको पर्यटकीय क्षेत्रमा घुम्न पुग्नेहरूका कारण अहिले कटुसक्षेत्रको आफैँ प्रचार भएको बताइन्छ । दैनिक करिब दुई सय आन्तरिक पर्यटक घुम्न, भिडियो बनाउन र खानपानका लागि मनकामना वनक्षेत्र पुग्ने गरेका छन् । ट्री–हाउसमा चढ्दै टिकटक बनाउनेको घुइँचो लाग्ने गरेको छ । 
 
मनकामना मोरङको सबैभन्दा सानो क्षेत्रफल (९१ हेक्टर)मा फैलिएको सामुदायिक वन हो । त्यहाँ सिमसार क्षेत्रलाई असर नगर्ने, चिलाउनेको रुखलाई क्षति नहुने र पशुपंछी तथा वन्यजन्तुलाई असर नगर्नेगरी वनको सीमित क्षेत्रमात्र  सर्वसाधारणका लागि खुला गरिएको वन समितिले जनाएको छ । मुख्यतः शुक्रबार र शनिबार सर्वसाधारणको धेरै चाप हुने गरेको छ । वनक्षेत्रमा निःशुल्क प्रवेश गर्न पाइन्छ । तर, मनोरञ्जनका लागि बनाइएको ट्री–हाउस चढ्न भने शुल्क लाग्छ । यहाँ भौतिक पूर्वाधार खडा गर्न स्थानीय तहले रु. चार लाख र बाँकी वन समितिले नै जुटाएको हो ।


 
वनक्षेत्रलाई आकर्षक पर्यटकीयस्थल बनाउने क्रममा प्रदेश–१ का नेपाली कांग्रेसका प्रमुख सचेतक सूयर्माराज राईले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत रु. १५ लाख विनियोजन गरिदिएको मनकामना सामुदायिक वन समितिका अध्यक्ष राईले जानकारी दिए । 

टिकटकमा धेरै रमाइलो र सुन्दर दृश्यसहितको भिडियो देखेपछि आफूहरू साथीभाइ मिलेर घुम्न आएको इटहरीकी सुनिता माखिमले बताइन् । “यो गर्मीमा कता जाने, के गर्ने भएका बेला यहाँ वनभित्र राजमार्ग नजिकै यति रमाइलो ठाउँ बनाइएको रहेछ,” उनले भनिन्, “खानापानका लागि पनि राम्रो व्यवस्थापन रहेछ ।”

पथरीशनिश्चरे नगरपालिका वडा नम्बर १० की सावित्रा लिम्बूले परिवारसहित वनभित्र घुम्न आउँदा निकै रामाइलो लागेको बताइन् । “सहरको कोलाहलबाट प्राकृतिसँग रमाउन चाहनेको लागि यो ठाउँ बेग्लै रहेछ,” उनी भन्छिन् । घुम्न आउनेहरूले अगेनोमा पोलेको बंगुरको मासु केजीको हिसाबले तौलेर खरिद गर्न सक्ने व्यवस्था कटुस खाजा घरले गरिदिएको अध्यक्ष राईले बताए । 

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  ०६:५४
प्रतिक्रिया दिनुहोस्