site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
कोलकातामा मनाइयो भानुभक्त जन्मजयन्ती
फाइल तस्बिर ।

कोलकाता । कोलकातामा बसोबास गर्ने नेपाली समुदायले आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्ती मनाएका छन् ।

नेपाली जनकल्याण समिति (हावडा)को आयोजनामा आइतबार आयोजित कार्यक्रममा सहभागी वक्ताले संस्कृत भाषालाई नेपाली भाषामा आदिकविले अनुवाद गरी नेपाली भाषाको विकास गर्न योगदान पुर्‍याएको चर्चा गरे ।

पश्चिम बङ्गालका समन्वयमन्त्री अरुप रायले कोलकाताको नजिकै रहेका हावडा सहर तथा त्यस वरपर क्षेत्रलाई आदिकवि भानुभक्तको नामबाट नामकरण गर्ने घोषणा गर्दै आदिकविको मूर्ति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

समितिका अध्यक्ष बद्रीविक्रम थापाले 'विगत २५ वर्षदेखि आदिकविको स्मरणमा जन्मजयन्ती मनाउँदै आएको बताउँदै उहाँको सम्झनामा बिहानी पत्रिका २३ वर्षदेखि प्रकाशन गरिएको' जानकारी दिए ।

संयुक्त नेपाली केन्द्रीय सेवा सङ्घको उपसभापति नरविक्रम थापाले नेपाली भाषा, साहित्य र संस्कृतिलाई संरक्षण गर्न आफू क्रियाशील रहेको बताए ।

आयोजक संस्थाका सल्लाहकार तथा वरिष्ठ पत्रकार धर्मराज बरालले 'विश्वभरका नेपालीलाई एकताबद्ध गरी जोड्ने काम आदिकविले गरेको चर्चा गर्दै उहाँको योगदानलाई अन्तर्राष्ट्रिय तहमा प्रचार गर्नुपर्ने'मा जोड दिए ।

सो अवसरमा मन्त्री रायले बिहानी पत्रिका विमोचन गरेका थिए भने सोही कार्यक्रममा विद्यार्थी आशा उपाध्याय बरालले आदिकविको सम्झनामा कवितावाचन गरेकी थिइन् । रासस

प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  २१:५१
प्रतिक्रिया दिनुहोस्