site stats
बाह्रखरी :: Baahrakhari
खेल
खेलाडी हरेक समय तयारी अवस्थामा रहनुपर्छ : घिसिङ 
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले चीनमा हुने एसियन गेम्सका लागि अहिलेको प्रतियोगिता प्रक्रिया नै अन्तिम नभएको बताएका छन् ।

‘‘एसियाली खेलकुदका लागि यो छनोट नै अन्तिम होइन । विभिन्न चरणका छनोट पार गरेर प्रतियोगितामा सुखद नतिजा प्राप्त गर्ने खेलाडीको छनोट हुनेछ,’’ १९औँ एसियन गेम्सको पहिलो चरणको प्रशिक्षण पूरा गरेका खेलाडीका लागि आयोजना गरिएको पुनर्ताजगी कार्यक्रमका घिसिङले भने, ‘‘यसबीचमा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीहरूलाई सहभागिता गराइनेछ । त्यसबाट प्राप्त नतिजाका आधारमा अन्तिम छनोट गरिनेछ र निरन्तर प्रशिक्षण सञ्चालन हुनेछ ।’’

ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए)ले मंगलबार सन् २०२३ सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म प्रतियोगिता आयोजना हुने भन्दै नयाँ मिति तय गरेको छ । यसअघि, २०२२ सेप्टेम्बर १० देखि २५ सम्म हुने तालिका थियो । चीनमा कोभिड–१९ को संक्रमण बढ्न थालेपछि गएको मेमा प्रतियोगिता अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।

Argakhachi Cement Island Ad

एसियन गेम्समा नेपालले २३ खेलमा सहभागिता जनाउने निर्णय गरिसकेको छ । त्यसका लागि नेपालले पहिलो चरणको विशेष प्रशिक्षण समेत गरिसकेको छ । राखेपले अब चाँडै दोस्रो चरणका प्रशिक्षण कार्यक्रम सुरु गर्ने जनाएको छ । यद्यपि, सदस्यसचिवले घिसिङले यो नै एसियन गेम्सका लागि अन्तिम छनोट नभएको बताएका हुन् ।

उनले खेलाडीहरू हरेक समय सेनाजस्तै तयारी अवस्थामा रहनुपर्ने बताए । उनले भने, ‘‘प्रतियोगिताका लागि अझै एक वर्षभन्दा बढी समय बाँकी छ । यसबीचमा विभिन्न प्रतियोगिता आयोजना हुनेछन् । खेलाडी त्यसका लागि सदा तयार रहनुपर्छ । खेलाडीहरूले १४ महिना होइन, १४ सेकेन्ड बाँकी छ भनेर प्रशिक्षणमा लाग्नुपर्छ ।’’

सरकारले आउँदो असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद आयोजना गर्दै छ । जसमा सात प्रदेश, तीन विभागीय र एनआरएनए गरी ११ टिमले ३६ खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

राष्ट्रिय खेलकुद प्रतियोगितालाई दक्षिण एसियाली खेलकुद (साग) तथा एसियन गेम्सको तयारी तथा छनोट प्रतियोगिता मानिन्छ । तर, एसियन गेम्सको सुरुमा तय भएको मिति र नवौँ राष्ट्रिय खेलकुदको मिति नमिलेका कारण एसियन गेम्सका लागि छुट्टै तयारी गरिएको थियो ।

कोभिड–१९ कारण एसियन गेम्सको मिति परिवर्तन भएपछि छनोटको प्रक्रिया पनि परिवर्तन हुने संकेत घिसिङले गरेका छन् ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एसियन गेम्समा अहिलेसम्म अपेक्षित सुखद नतिजा निकाल्न नसकिएको बताए । उनले अहिलेको प्रशिक्षण सुखद नतिजातर्फ अग्रसर भएको बताए ।

‘‘खेलाडीहरू पनि गम्भीर भएर लाग्नुपर्ने अवस्था छ । राष्ट्रको गौरव बढाउने र नेपालको शिर उच्च गराउने कार्यमा खेलाडीहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछन् भन्नेमा म विश्वस्त छु,’’ मन्त्री श्रेष्ठले भने, ‘‘यसका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’’

परिषद्का उपाध्यक्ष शिव कोइरालाले पुनतार्जगी कार्यक्रमबाट खेलाडीहरू अझ खारिएर अगाडि बढाउन सक्षम हुने र खेलाडीले सोचेको परिणाम दिने विश्वस्त व्यक्त गरे ।

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले एसियन गेम्समा स्वर्णपदक जित्ने खेलाडीलाई ३२ लाख ५० हजार, रजत जित्नेलाई १९ लाख ५० हजार र कास्यपदक जित्नेलाई १३ लाख रुपैयाँसहित सम्मान गर्ने बताएका छन् ।

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १०:०४
प्रतिक्रिया दिनुहोस्