1656224877.jpg)
विराटनगर । प्रदेश नम्बर- १ का पालिकाले सामाजिक विकासमा प्रत्यक्ष प्रभाव पर्ने र तुरुन्तै कार्यान्वयन गर्न सकिने केही लोकप्रिय कार्यक्रमलाई समेत बजेटमार्फत सम्बोधन गर्ने घोषणा गरेका छन् ।
राज्यको सेवा सुविधाबाट टाढा रहेका समुदाय केन्द्रित कार्यक्रमहरूलाई वार्षिक नीति तथा कार्यक्रममार्फत कार्यान्वयन तयारीका साथ यस्ता कार्यक्रम घोषणा गरिएको पालिकाहरूले जनाएका छन् ।
इटहरीमा विपन्नको निःशुल्क स्वास्थ्य बिमा
सुनसरीको इटहरी उपमहानगरपालिकाले ‘घाटसम्म सरकार’ को अवधारणा अघि सारेको छ । कार्यक्रमअन्तर्गत दुईवटा शव वाहन खरिद गर्ने र मृत्यु हुँदा नगरबासीका शव सद्गदका लागि निःशुल्क घाटसम्म लगिदिने भएको छ । उप–प्रमुख सम्झिँदा चौधरीले भनिन्, “दुई हजार विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिने र बिमा कार्यक्रममा आबद्ध भएका व्यक्तिहरूको वडास्तरीय स्वास्थ्य केन्द्रबाट सिफारिस गर्ने प्रबन्ध मिलाएका छौँ ।”
उपमहानगरले पर्यावरणतर्फ ध्यान दिँदै घरको नक्सा पास गर्दा कम्तिमा दुईवटा बिरुवा अनिवार्य रोप्नुपर्ने र यसको लागि पारिजात, बुद्धचित्त, रुद्राक्ष, आँप, निमलगायत बिरुवा हुर्काउन प्रेरित गर्ने चौधरीले सुनाइन् । इटहरीले बाहुल्यताको आधारमा थारू समुदायलाई पहिलो जातिको रूपमा घोषणा गरेको छ ।
दमकमा विपन्नलाई सहुलियत कार्ड
दमक नगरपालिकाले नगरभित्रका अति विपन्न परिवारको पहिचान गरी नगर सहुलियत कार्ड वितरण गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा घोषित कार्यक्रमअनुसार विपन्न नागरिकको पहिचान गरी सहुलियत कार्डमार्फत सेवा प्रदान गरिनेछ ।
नगर उप–प्रमुख रेगिना भट्टराईले भनिन्, “खासगरी गरिबी न्यूनीकरणका लागि विपन्नता पहिचान कार्यविधिका आधारमा अति विपन्न परिवारलाई नगर सहुलियत कार्डमार्फत शिक्षा, स्वास्थ्य र खाद्यान्नमा सहुलियत प्रदान गर्ने तयारी गरेका हौँ ।” कम्तिमा तीन सय अति विपन्न परिवार छनोट गर्ने र परिवार सदस्य संख्याको तोकिएको पसलबाट दैनिक उपभोग्य वस्तुमा चामल, दाल, पिठो, नुन र तेल आदिमा सहुलियत दिने प्रबन्ध गर्ने भट्टराईले बताइन् । नगरपालिकाले एक हजार विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गराउन ‘तपाईंको स्वास्थ्य हाम्रो जिम्मेवारी’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
असहाय नागरिकको जीवन रक्षाका लागि ‘सबैका लागि सबै, कोही एक्लो छैन’ कार्यक्रम, ‘दमकका नारी विकासमा बराबरी’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । नारीलाई व्यवसायमा सबल बनाउने कार्यक्रमको उद्देश्य रहेको बताइएको छ । नगरपालिकाका प्रमुख राम थापाले भने, “जनमुखी र लोकप्रिय कार्यक्रममार्फत हामीले जनताका पिर–मर्कालाई सम्बोधन गर्ने अधिकतम प्रयास गर्नेछौँ ।” दमकले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि रु. १ अर्ब ६३ करोड ४० लाख ४० हजार रुपैयाँको बजेट ल्याएको छ ।
विराटनगरमा सुकुम्बासीलाई सामूहिक घर
विराटनगर महानगरपालिकाले ‘छोरी बचाऊ छोरी पढाऊ’ कार्यक्रमलाई निरन्तरता दिएको छ । कार्यक्रमअन्तर्गत पहिलो र दोस्रो सन्तान छोरी पाउने परिवारको लागि छोरी पढाउन निश्चित रकम अनुदान दिने बताइएको छ ।
यसैगरी, शिक्षा विकासतर्फ एक वडा एक नेतृत्व विद्यालय कार्यक्रम सञ्चालन गर्ने, कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा सहजीकरण गर्ने, विद्यालयमा विद्युतीय हाजिरी गराउने र महानगर बहु प्राविधिक शिक्षालयलाई अनुदान दिने नीति लिएको छ । यसैगरी, महानगरभित्रका विपन्न सुकुम्बासीहरूको तथ्यांक संकलन गरी उनीहरूलाई सुकुम्बासी कार्ड वितरण गर्ने नीति तथा कार्यक्रममा घोषणा गरिएको छ । नदीखोला छेउका सुकुम्बासीलाई सामूहिक आवास कार्यक्रममार्फत व्यवस्थापन गर्ने महानगरले नीति तथा कार्यक्रममा समेटेको छ ।
वडाहरूमा गर्भवतीको निःशुल्क भिडियो एक्स–रे गराइदिने, मेट्रो अस्पताल सञ्चालन गर्न सम्भाव्यता अध्ययन गर्ने, महानगरका उपयुक्त स्थानमा आमाहरूका लागि स्तनपान कक्ष सञ्चालन गर्ने र ६५ वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य बिमा गरिदिने भएको छ ।
महानगरमा बनेका सडक तथा अन्य पूर्वाधार संरक्षण गर्न महानगरपालिकाले ‘मोबाइल इन्फास्ट्रक्चर एम्बुलेन्स’ सञ्चालन गर्ने अवधारणा अघि सारेको छ । यसका लागि १४ करोड रुपैयाँ विनियोजन गरिएको छ । ‘एक वडा एक पार्क’को अवधारणालाई हरेक वडामा पुर्याउन सम्भाव्यता अध्ययन गरी डिजाइन तयार गर्ने र भएकालाई संरक्षण गर्ने महानगरले नीति लिएको छ ।
धरानमा खुला बहुसांस्कृतिक संग्रहालय
सुनसरीको धरान उपमहानगरपालिकाले नगरलाई खुला बहुसांस्कृतिक, बहुजातीय, बहुभाषिक संग्रहालयको रूपमा विकास गर्ने नीति अघि सारेको छ । यसको लागि पूर्वाधार निर्माण गर्दा संस्कृति झल्कने वास्तुकला, मूर्तिकला, चित्रकला आदि प्रतिकहरू निर्माण गरिनेछ ।
धरानले हरेक वडामा एक व्यायामशाला नीति अघि सारेको छ । युवालक्षित यो कार्यक्रममार्फत उनीहरूलाई प्रशिक्षण दिइनेछ । यसैगरी, सडक मानवमुक्त नगर बनाउन उपमहानगरले कार्यक्रम सञ्चालन गर्ने भएको छ । एक वडा एक बाल उद्यान निर्माणलाई अभियानलाई निरन्तरता दिइनेछ भने बीपी प्रतिष्ठानमा धरानबासीहरूलाई मृर्गौला, मुटु, उच्च रक्तचाप, मधुमेह जस्ता रोगको निःशुल्क जाँच र उपचार प्रबन्ध मिलाइने उल्लेख छ ।