site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पूर्वका महानगर/उपहानगरको प्रमुखमा गठबन्धनको अग्रता, उप–प्रमुखमा एमालेले पछि पार्‍याे
फाइल फोटो ।

विराटनगर । मतगणनाको प्रारम्भिक परिणामले प्रदेश नम्बर १ को एक महानगर र दुई उपमहानगरपालिकाको प्रमुख पदमा गठबन्धनका उमेदवारले अग्रता लिएका छन् ।

गठबन्धनबाट विराटनगर महानगर, इटहरी र धरान उपमहानगरमा कांग्रेसले प्रमुख पद लिएर चुनावी मैदानमा उत्रिएको छ । आइतबार साँझसम्मको मत परिणामले तीनवटै ठूला सहरमा कांग्रेस उमेदवारले अग्रता कायम गरेका छन् । तर, उप–प्रमुख पदमा भने गठबन्धनका उमेदवार नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उमेदवारभन्दा पछि छन् । 

विराटनगरमा पछिल्लो मत परिणामअनुसार प्रमुखमा नेपाली कांग्रेसका नागेश कोइराला अगाडि छन् । तर, उप–प्रमुखमा नेकपा एमालेकी शिल्पा निराला कार्कीले अग्रता कायम गर्दै गठबन्धन उमेदवारलाई पछि पारिदिएकी छिन् । जनता समाजवादी पार्टीसँग भएको गठबन्धनअनुसार विराटनगरमा पार्टीका केन्द्रीय अध्यक्ष  उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव उप–प्रमुखमा उठेका छन् । 

Argakhachi Cement Island Ad

कोइराला एमालेका उमेदवार सागर थापाभन्दा ८०९ मतले अगाडि छन् । उनले २,९३२ मत प्राप्त गर्दा थापाले २,१२३ मत ल्याएका छन् ।उप–प्रमुखमा गठबन्धनका उमेदवार जसपाका अमरेन्द्र यादवभन्दा एमालेकी शिल्पा निराला कार्कीले ७४९ मतले अगाडि छिन् । कार्कीले २,४२७ मत प्राप्त गर्दा गठबन्धनबाट जसपाका अमरेन्द्र यादवले १,६७८ मत ल्याएका छन् ।

विराटनगरका ६ वटा वडाको मतगणना जारी छ । हालसम्म ९,२७४ मत गणना भइसकेको छ । 

सुनसरीको धरान उपमहानगरपालिकामा प्रमुख पदमा गठबन्धनका किशोर राईले अग्रता लिएका छन् । राईले २,२५१ मत प्राप्त गरेका छन् । राईलाई पछ्याइरहेका स्वतन्त्र उमेदवार हर्क साम्पाङले १,५४२ मत प्रप्त गर्दा एमालेबाट प्रमुख पदकी उमेदवार मञ्जु भण्डारी भने केही पछि परेकी छिन् । भण्डारीले १,२९७ मत प्राप्त गरेकी छन् ।

उपमेयरतर्फ गठबन्धनका अइन्द्रविक्रम बेघाले २,४०८ मत प्राप्त गरेका छन् । एमालेका पदम इस्वोले १,५९५ मत प्राप्त गरेका छन् । धरानमा वडा नं १, २ र ३ को मतगणना भइसकेको छ । अहिले वडा नं ४, ५ र ६ मा गणना भइरहेको छ । 

सुनसरीको इटहरी उपमहानगरपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसका हेमकर्ण पौडेलले अग्रता कायम गरेका छन् । ५,७०० भन्दा बढी मतगणना हुँदा कांग्रेसका पौडेल ३,०२१ मतसहित अग्रस्थानमा छन् । नेकपा (एमाले) का एमकुमार चुङ्गावाङ सुब्बाले २,२९४ मतसहित पौडेललाई पछ्याइरहेका छन् । अन्य पार्टीका उमेदवार प्रतिस्पर्धीका रूपमा देखिएका छैनन् ।  

उपमेयरमा भने गठबन्धन उमेदवारभन्दा नेकपा (एमाले) की उमेदवार अगाडि छिन् । उप–प्रमुखमा एमालेकी संगीताकुमारी चौधरी २,५१९ मत प्राप्त गरेकी छन् । गठबन्धनका तर्फबाट चुनाव लडेका नेकपा (एकीकृत समाजवादी) का केशवकुमार विष्टले १,९२४ मत पाएका छन् ।

गठबन्धन गरिएपनि उप–प्रमुखमा भने विपरीत पार्टीका उमेदवारको बढी मत आउनु उदेकलाग्दो भएको नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति दीपक चापागाईंले बताए । “प्रमुख पदमा भन्दा उप–प्रमुख पदमा खसेको मतको सूची देखेर हामी पनि छक्क परेका छौँ,” उनले भने ।

महानगर र उपमहानगरबाहेक गठबन्धन भएका अन्य कतिपय गाउँपालिका तथा नगरपालिकामा समेत उप–प्रमुख पदमा फरक पार्टीका उमेदवारले अग्रता लिएका छन् ।  

नेकपा एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष तथा मेयर पदका उमेदवार सागर थापाले एमालेका लोकप्रिय उमेदवारहरूले सबैतिर दलीय गठबन्धनका उमेदवारलाई टक्कर दिएको बताए । भने, “उप–प्रमुख मात्र होइन प्रमुख पदमा पनि हाम्रो अग्रता कायम भइरहेको छ ।”
 

प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  २१:२५
प्रतिक्रिया दिनुहोस्