site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
गायक सपूतलाई कलाकारको साथ, भन्छन्– सर्जकलाई नरोकौँ

काठमाडौं । यतिबेला युट्युबको ट्रेन्डिङ एक नम्बरमा गायक प्रकाश सपूतको शुक्रबार मात्रै रिलिज भएको गीत ‘पिर’ छ । 

गीतको एक अंशमा नेकपा माओवादीको सशस्त्र युद्धमा होमिएकी एक ‘महिला छापामार’ले देह व्यापार गरेको दृश्यका कारण मुख्यतः माओवादीका नेता तथा कार्यकर्ताले सपूतको गीतप्रति आपत्ति जनाएका छन् । 

तर,  शसस्त्र संघर्षमै रहेर अहिले माओवादी छाडेकाहरूले यथार्थ भन्दै सपूतको ‘पिर’ गीतलाई टिप्पणी गरेका छन् ।  ‘पिर’कै कारण सर्वसाधारण, कलाकार र सञ्चारकर्मी पक्ष÷विपक्षमा बहसमा उत्रिएका छन् । तर,  गायन सपूत मौन छन् । 

Argakhachi Cement Island Ad

सपूत समाजको यथार्थलाई कलामार्फत् जस्ताको तस्तै सबैसामु ल्याउने खुबी भएका गायक हुन् । 

राजनीतिक परिवर्तनका लागि माओवादी जनयुद्धमा आफ्नो ज्यानको बाजी राखेर युद्धको मैदानमा होमिएका योद्धाको कथा बोल्ने यो गीत युट्युबबाट हटाउन माग गरिएको छ । 

यतिमात्रै नभएर सपूतलाई गीत नहटाए सार्वजनिक बहिष्कारदेखि आन्दोलन गर्ने चेतावनीसमेत दिइएको छ ।  तर, गायक पशुपति शर्मा वास्तविकतामा रहेर गीत गाउन पाउनुपर्ने बताउँछन् । 

“यत्रो लोकतन्त्र, गणतन्त्र आएको भनेका छन्, वास्तविकतामा रहेर गीत गाउन पाउनुपर्छ भन्ने हाम्रो माग हो,” उनले भने, “समाजमा कति उच्छृङ्खल गाउने पनि छन् कति केके छन् । गीत–संगीतको माध्यमबाट हामीले आफ्ना आवाज प्रस्फुटित गर्न पाउनुपर्छ ।” 

गायक शर्मा पनि यथार्थपरक गाएका कारण विवादमा आइरहने गायक हुन् ।  गीतकार राजेन्द्र थापाले प्रकाशको गीत ‘पिर’ माथि विरोध गर्ने कुनै कारण नभएको अभिव्यक्ति दिएका छन् । 

“गीतमा माओवादी जनयुद्ध र आजको विचलनबारे कतै केही बोलेको छैन । गीत मिसन या सन्देशमूलक होइन । यो एक सधैँ सुनिरहेको पश्चिमी लोक लय र लोक शब्दको फरम्याट तथा गेडा मिसाएर बनाइएको लोकगीत नै हो,” गीतकार थापा लेख्छन्, “अडियोमात्र सुने कसैले पनि यो बुझ्छ । तसर्थ गीतमा विरोधको स्थान रहेन । भिडियोबारे छलफल गर्न सकिएला । तर, अडियो गीत हो र भिडियो छोटो फिल्म हो भनेर प्रष्ट हुनुपर्छ ।”

गीतको शब्दमा कुनै आपत्तिजनक कुरा नभएको, र माओवादी नेताले गरेको आपति केही हदसम्म भिडियोलाई लिएर भएको, तर यहाँ गीत र भिडियो दुवैलाई एउटै तराजुमा राखेर जोख्न नमिल्ने उनका वाक्यांशको आशय छ । 

थापाले आपत्तिजनक कुरा भिडियोमा भएकले गीतकार र गायकमाथि कुनै प्रश्नचिह्न तेर्सिँदैन । तर, भिडियोबारे छलफल गर्न सकिने भन्दै निर्देशकले बताएका छन् । 

त्यसैगरी, उनले आपति जनाउने माओवादी नेतालाई भिडियो नहेरी अडियो सुन्न आग्रह गर्दै भनेका छन् “तपाईंको आपत्ति गीतसित कि फिलिमसित ?”

संघीयता ल्याएको दाबी गर्ने सत्तारुढ दल माओवादिमाथि प्रश्न गर्दैै उनले स्वतन्त्र नागरिक र कलाकर्मीलाई कुन हदसम्म अनुरोध गर्ने, धम्क्याउने, कारबाही गर्ने कुरा सायद माओवादी हेडक्वार्टरकै दायित्व भएको बताउँदै उनले भनेका छन्,“अन्य नेता कार्यकर्तालाई यसरी छाडा धम्की दिएर सकल कलाकारको स्वतन्त्रतामाथि त के स्टालिनवाद लगाउन खोजेको हैन आफैँले बोल्न पाउने अधिकार ल्याइदिएको दाबी गर्ने दलले ?”

त्यसैगरी,अभिनेत्री ऋचा शर्माले ‘पिर’का लागि गायक सपूत, अभिनेत्री सुरक्षा पन्तलगायत टिमलाई सलमा ठोकेकी छिन् । 

“सेयर नगरी बस्नै सकिनँ । सलाम छ प्रकाश सपूत, सुरक्षा पन्त अनि टिम,” लेख्दै अभिनेत्री ऋचाले गीतको लिंक सेयर गरेकी छिन् ।

गायक सपूतको पक्षमा गीत संगीतका स्रष्टा मात्रै नभएर नेपाली चलचित्र कलाकार पनि समर्थनमा उभिएका छन् । 

यस गीतको शब्द, स्वर, संगीत र निर्देशन गायक सपूत स्वयंको हो । १६ मिनेट २५ सेकेन्ड लामो गीतमा अभिनेत्री सुरक्षा पन्त, केशु पुन र गायक सपूत स्वयं फिचर्ड छन् । 

त्यसैगरी, फिमेल आवाजमा गायिका सम्झना भण्डारी छिन् ।  सार्वजनिक गीतले १० वर्षे जनयुद्ध र त्यसले निम्त्याएको परिस्थितिलाई यथार्थ रूपमा उतार्ने प्रयास गरेको छ । 
 

 

प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  ०९:१२
प्रतिक्रिया दिनुहोस्