site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
साथी र सहकर्मीजस्ता मदनकृष्ण श्रेष्ठका बाबु–छोरी

भनिन्छ, आमानजिक छोरा र बाबुनजिक छोरी हुन्छन् भनेर । यो वाक्यांश सबै आमा–छोरा र बाबु छोरीमा लागु हुँदैन ।

तर, दिग्गज कलाकार मदनकृष्ण श्रेष्ठ र उनकी छोरी गायिका तथा निर्देशिका सराना श्रेष्ठको हकमा भने यो कार्यान्वयन भएको छ । 

यी बाबु–छोरी पछिल्लो समय हरेकजसो कार्यक्रममा सँगै देखिँदै आएका छन् । उनीहरूबीचको सम्बन्ध बाबु–छोरीको मात्रै नभएर साथी र सहकर्मीको जस्तै छ । 

Argakhachi Cement Island Ad

हिजोआज छोराछोरी र बुबाआमा साथीजस्तै हुने गरेको मदनकृष्ण श्रेष्ठ बताउँछन् । 

“अहिले छोराछोरी र बाबुआमा साथीसंगीजस्तै हुन्छन् । पहिला यस्तो थिएन । पहिले बुबासँग छोराछोरी एकदमै डराउथे,” हास्यास्पद शैलीमा श्रेष्ठले भने, “तर, अहिले एकअर्काका साथीजस्तै हुन्छन् ।” 

सरानाले आफ्नो निर्देशनमा बनेको ‘मन्तर मोहनी’ नयाँ म्युजिक भिडियोमा मह जोडीलाई फिचर्ड गराएकी छिन् ।  यो गीतमा आफूले कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई फरक अवतारमा प्रस्तुत गरेको बताउँछिन् सराना श्रेष्ठ ।

मह जोडीकै काखमा लडीबुडी गर्दै हुर्किए पनि उनीहरूलाई निर्देशन गर्नुपर्दा नर्भस भएको बताउँछिन् सराना । 

“आफूभन्दा अग्रज र दिग्गज कलाकारलाई निर्देशन गर्दा डर र नर्भस भएकी थिएँ । डर लागेको थियो । उहाँहरूबाट सिकेर उहाँहरूलाई नै सिकाउन हिम्मत राख्नुपर्छ । तर, सिनेमा र म्युजिकको भाषा बुझ्ने भएकाले खासै गाह्रो लागेन,” उनले भनिन्, “तर, सुरुमा उहाँहरूलाई यसो गर्नू र उसो गर्नू भनेर कसरी भन्ने भनेर संकोच र डर लागिरहेको थियो । तर, काम गर्दै जाँदा सहज भयो ।” 

त्यसैगरी, छोरीको निर्देशनमा काम गरेका कलाकार श्रेष्ठ, छोरीलाई कडा निर्देशकको उपमा दिन रुचाउँछन् । 

“कडा, एकदम कडा ! सेटमा गाली नै त खाइनँ । तर, सेकेन्ड, सेकेन्डको हिसाब गर्छिन्, उनलाई सबै काम पर्फेक्ट चाहन्छि । अलिकति चित्त बुझेन भने ड्याडी अहँ ! भएन फेरि गर्नुपर्‍यो भनिहाल्छिन्,” मदनकृष्ण भन्छन्, “तर, समग्रमा रमाइलो भयो ।”

कोरोनाका कारण लामो समय नेपाल बसेकी सरानाको रुची कलाकारिता क्षेत्रमा जागेपछि आफ्नै शब्द, आवाज, बुवाको आवाज र यमन श्रेष्ठको संगीतमा उनले चार÷पाँच वटा म्युजिक भिडियोमा काम गरिसकेकी छन् । तीमध्येकै एक हो, ‘मन्तर मोहनी’ हो । 

कलाकार श्रेष्ठ छोरीको सिर्जनात्मक प्रतिभा र नेतृत्व क्षमता देखेर दंग छन् । 

पाँच वर्षको उमेरदेखि गाउन सुरु गरेकी सरानाले जिंगल, महसञ्चारको प्रोजेक्ट  र बालगीतमा आवाज दिएकी छन् । तर, बीचमा मनोरञ्जनको बजार क्षेत्र आजको जति फराकिलो नदेखेर   पढाइबाट अफ्नो करिअर अघि बढाउने निर्णय गरी उनी अमेरिका पुगिन् । तर, उनले मनोरञ्जन क्षेत्रलाई भने चटक्कै छाडिनन् । 

सांगीतिक क्षेत्र छाडेको लामो समयपछि उनले दश वर्षअघि बुबाको शब्द, आफ्नै आवाजमा ‘पहिलो दिन’ प्रेमिल गीत गाइन् । जसमा उनी फिचर्डको रुपमा प्रस्तुत भइन् । 


मदनकृष्णलाई लागेको पछुतो 

कलाकार मदनकृष्ण श्रेष्ठ पछिल्लो समय गायनमा सक्रिय रूपमा लागेका छन् । केही सययअघि उनको गायन र अभिनयमा रिलिज भएको ‘सुनको कचौरी’ दर्शकले औधी रुचाए । 

राजनराज सिवाकोटीको लेखन र संगीत रहेको गीतमा श्रेष्ठलाई गायनमा मिलन नेवार र अभिनयमा गौरी मल्लले साथ दिएका छन् । 

त्यस्तै, केही समयअघिको उनको ‘फुलबुट्टे सारी’ गीत पनि दर्शकले उत्तिकै रुचाए ।

त्यसैगरी, उनले छोरीको लेखन र छोरा (यमन)को संगीतमा गायिका इन्दिरा जोशीसँग ‘ह्याप्पी हार्ट’ गाए । यसमा श्रेष्ठ गायनसँगै फिचर्ड छन् । यस गीतमा उनलाई चकलेटी युवाको गेटअपमा प्रस्तुत गरिएको छ । 

श्रेष्ठले थुप्रै नेपाल भाषाका गीत गाएका छन् । तर, कलाकारितालाई मात्रै निरन्तरता दिई गायनलाई डिमान्ड शोखको रूपमा अघि बढाएको श्रेष्ठलाई पछुतो रहेछ । 

“मैले त्योबेला किन गीत गाइन् भनेर पछुतो लाग्छ । हास्यकलाकार भनेर चिनाउनुभन्दा कलाकार भनेर चिनाउँदा मज्जा लाग्छ,” उनले भने । 

कुनै समय गीत गाउन बोलाएको स्मरण गर्दै एफएमको भीड बढेसँगै गीत बजाइदेऊ भनी धाउने धेरै भएपछि गीत गाउनेहरूको भविश्य अन्योलमा परेको उनको बुझाइ छ । 

“गीत गाएर पैसा नआउने उल्टै खर्च गर्नुपर्ने थियो । यता हास्य व्यंग्यमा दाम आउने अनि संसार पनि घुम्न पाउने,” उनले भने, “मान्छे हाँसेपछि आफू पनि हास्न पाउने भएर यता आकर्षित भएँ ।” 

पार्केसन भएपछि जीवनको ठूलो कुरा गुमाएँ भन्दै निराश भएर बसेका उनलाई ‘फुलबुट्टे सारी’पछि आएको मायाले गायनलाई छोड्नु हुँदैन भन्ने महसुस गराएको छ । 

पर्दामा जस्तै घरमा पनि सधैँ हँसिलो बुबा

कलाकार मदनकृष्ण श्रेष्ठ पर्दामा जतिकै घरमा पनि हँसिलो, रमाइलो अनि ठट्टामजाक गरी हसाउने गरेको बताउँछिन् छोरी सराना । 

अहिलेसम्म बुबा रिसाएको आफूलाई थाह नभएको बताउँदै उनी भन्छिन्,“उहाँ गाली गरेरभन्दा पनि हसाएर हामीलाई सम्झाउनुहुन्थ्यो ।”

त्यसैगरी, बुबा श्रेष्ठ छोरीका केटा बनेर हलमा एक्लै चलचित्र हेर्न गएको, स्कुल जानुपर्छ भनेर पेट दुखेको, प्याज काँखी च्यापेर ज्वरो आएको बाहाना बनाउने  क्रियाकलाप अझै ताजै रहेको बताउँछन् । 


आफूले गाएको गीत हटाएपछि...

कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा सरानाले गाएको गीत चलचित्रबाटै हटाउनु परेको थियो । 

राजेश हमाल र करिष्मा मानन्धरको अभिनय रहेको ‘मिस्टर राम–कृष्णे’ को ‘किशुन जी..’ भन्ने गीत गाएपछि चलचित्रमा नआउँदै सो गीत हटाउनुपरेको थियो । 

“प्रधानमन्त्री भट्टराई अविवाहित भएकाले गीतले उनलाई जिस्काएजस्तो लागेर हटाउन लगाएको रहेछ । त्यो गीतले प्रधानमन्त्रीलई नमाज्जा लागेको थियो अरे,” उनले भने । 

तर, अहिले त्यो गीत विभिन्न युट्युब च्यानलमा हालिएको छ । 

मह जोडीको हास्य व्यंग्यको सुरुवाती दिन र सेन्सरसीप 

सेन्सरसीप छोरीको पालामा भन्दा बाबुको पालामा कडा थियो । मदनकृष्ण र हरिवंश आचार्यले तयार पारेका धेरै प्रस्तुति देखाउन पाएनन् । 

पञ्चायतकालको समय भएकाले गाईंजात्रामा केही खुकुलो भए पनि सामाजिक मुद्दामा मात्रै कन्द्रित हुनुपथ्र्यो । राजनीतिक व्यंग्य गर्न पाइँदैन थियो । 

तर, उनीहरूले २०२८ सालमा एक संस्था गठन गरी हास्यव्यंग्य प्रतियोगिता सुरु गरे । 

उनले भने, “जुन नेपाल भाषामा थियो, त्योबेलाका प्रतियोगीले कडा र राजनीतिक व्यंग्य गर्न पाउने गरी हामीले छुट दियौँ । 

दोस्रो सालबाट यही कार्यक्रमलाई राष्ट्रियस्तर गाईंजात्राको रूपमा अघि बढाएको श्रेष्ठ बताउँछन् । 

“हामीले हरेक वर्ष गाईजात्रामा हास्यव्यंग्यको मात्रा बढाउँदै लगियौँ । विस्तारै राजनीतिक मुद्दामा पनि समावेश गर्दै गायाँै ।” 
राजनीति देशको मुख्य मेरुदण्ड भएकाले राजनीतिक विषयमा हास्यव्यंग्य हुनुपर्ने उनको बुझाइ छ । 

उनीहरूले हास्यव्यंग्य गरेबापत् केही ठाउँमा पैसा पाउथे, कतिपय ठाउँमा खाली हात पनि हुन्थे । तर, उनीहरूले यही क्षेत्रलाई निरन्तरता दिइरहे । हामीलाई यति पैसा चाहिन्छ भनेर कहिल्यै मागेनन् । कलाकारले मलाई यति नै चाहिन्छ भनेर बार्गेनिङ गरेको श्रेष्ठलाई ठिक लाग्दैन । 


मह जोडीको दौडधुप देखेर लायन्स क्लबले उनीहरूलाई सुरुमा पाँच सय पारिश्रमिक दिएको थियो । जुन रकम बढेर पछि पाँच हजारसम्म पुग्यो । 

“नारायण गोपाल दाई (स्वरसम्राट नारायाण गोपाल)ले भन्दा हामीले पहिला पारिश्रमिक लिन थालेका थियौँ । लिन थालेको पनि होइन, हामीलाई पारिश्रमिक दिन थालेका थिए । दिएपछि नलिने कुरा पनि भएन । तर, हामीले कहिल्यै मागेनौँ,” उनले खुसी हुँदै सुनाए । 

‘मन्तर मोहनी’ गीतको पोस्ट प्रोडक्सनको काम अमेरिकी टिमले हेरेको हो । नेपाली गीतलाई अमेरिकी टिमलाई पोस्ट–प्रोडक्सनका लागि जिम्मा दिनु एक हिसाबले आफैँमा चुनौती पनि हो । 
तर, सराना नयाँ स्वाद पस्किन यो कोल्याबेरेसन गर्न खोजेको बताउँछिन् । साथै उनी यसको प्रतिफल राम्रो आउनेमा ढुक्क छिन् । 
गीत बिहीबार फागुन २० गते रिलिज हुँदैछ । 

प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७८  १५:३२
प्रतिक्रिया दिनुहोस्