site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सामाजिक सञ्जालमार्फत परिणितीले चिनाएको सुन्दर नेपाल 

काठमाडौं । बलिउड अभिनेत्री परिणिती चोपडा प्रकृति (नेचर) लाई भगवान नै मानेकी छन् । पछिल्लो केही समयदेखि प्रकृतिसँग नजिक रहेर काम गरिरहेकी परिणितीले हालै ‘मेरो लागि भगवान छ भने त्यो प्रकृति’ भएको बताएकी हुन् । 

परिणिती अक्टोबर महिनाभर नेपालको हिमाली भेगको सुन्दरतामा लोभिइन् । सुरज बडजात्याको चलचित्र ‘उचाइ’ को छायांकनका लागि अक्टोबरको पहिलो साता नेपाल आएकी परिणिती अन्तिमसम्म नेपालमा बसिन् । 

Argakhachi Cement Island Ad

यो समयावधिमा परिणिती टिमसहित नेपालको पर्यटकीय स्थल मनाङ, मुस्ताङ, नाम्चेजस्ता नेपालका सुन्दर हिमाली भेगमा थिइन् । समुद्री सतहभन्दा करिब ११ हजार फिटमाथिको उचाइमा रहेका यी स्थानमा बसेर काम गर्दा उनी निकै रमाइएकी थिइन् । 

परिणितीलाई नेपालको सुन्दर प्रकृतिले मन्त्रमुग्ध पारेको उनले आफ्ना सामाजिक सञ्जालमार्फत झल्काइरहेकी छन् ।

नेपालमा करिब २८ दिनको बसाइमा परिणितीले करिब १० वटा फोटोहरु पोस्ट गरेकी छन् । 

अक्टोबर १२ मा अभिनेत्रीले सुन्दर सगरमाथा नियाल्दै गरेको फोटोमा धेरैले कमेन्टमार्फत सगरमाथाको प्रसंशा गरेका छन् ।

एभरेष्ट बेस क्याम्पमा बसेर सगरमाथा नियाल्दै उनले लेखेकी छन्, “शुभप्रभात सगरमाथा ! आज तिमीले मलाई नम्रताको पाठ सिकायौ ।”

योसँगै समुद्री सतहभन्दा ११ हजार फिट माथि नाम्चे बजारमा काममा एकछिन ब्रेक लिएर स्थानीय किशोरीहरुसँग फुटबल खेलिरहेको भिडियोले नेपाललगायत भारतका केही मिडियामा पनि राम्रै कभर भएको थियो । 

त्यस्तै ठूलाठूला डाँडामाथि बादल सतहमा बसेर ध्यानमा बस्दै गरेको फोटो होस् वा हिमालको काखमा कलकल बगीरहेको खोला छेउमा बसेर प्रकृतिमा रमाइरहेको फोटो परिणितीले नेपाललाई विश्वसामु सुन्दर पर्यटकीय नगरीको रुपमा चित्रण गरेकी छन् । 

परिणीतले आफ्नो पोस्टहरुमार्फत सामाजिक सञ्जालमा भएका आफ्ना लाखौं फलोअर्ससम्म नेपाललार्ई एउटा सुन्दर प्राकृतिक सम्पदाले भरिपूर्ण भएको सन्देश विश्वसामु पुर्‍याउन पक्कै मद्दत गरेकी छिन् । 

 

प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७८  १४:४६
प्रतिक्रिया दिनुहोस्