site stats
बाह्रखरी :: Baahrakhari
देश
२५ प्रतिशत काम बाँकी छँदै जनकपुरधाममा कोभिड विशेष अस्पतालको उद्घाटन

जनकपुरधाम । जनकपुरधाममा कोभिड अस्पताल सञ्चालनमा आएको छ । बिहीबार एक सय शय्याको कोभिड विशेष अस्पताललाई मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गरेका हुन् ।

जनकपुरको मुजेलियास्थित मणिपाल शिक्षण अस्पतालको प्रयोगविहीन भवनलाई मर्मत सम्भार गरेर प्रदेश सरकारले कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको हो ।
 
मुख्यमन्त्री राउतले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोभिड संक्रमितहरूको उपचारका अतिरिक्त अन्य विशेषज्ञ सेवाहरू पनि छिट्टै सुरु गर्ने बताए । 

Argakhachi Cement Island Ad

“यस भवनमा कोरोना संक्रमितको उपचार मात्र होइन, अन्य विशेषज्ञ सेवा समेत चाँडै सुरु हुन्छ,” उनले भने, “जग्गा प्राप्तीको प्रक्रिया चाँडै सुरु गर्छैँ । राज्यको अरबौँको सम्पत्ति कुनै संस्थाले यसरी राख्न पाउँदैन ।” 

कार्यक्रममा समाजिक विकास मन्त्री नवल किशोर साहले प्रदेश सरकारको गौरवको योजना रहेको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वास्थ्य उपचारको क्षेत्रमा मुलुककै नमुना बन्ने विश्वास व्यक्त गरे । प्रतिष्ठान स्थापनाको छोटो समयमै ४ विधामा शिक्षणको अनुमति प्राप्त गरेकाले यसै शैक्षिक सत्रदेसख बीपीएच, बीएन, बीएमएलटी लगायतको अध्यापन सुरु गर्ने सरकारको तयारी छ । 

सम्झौता अवधिमा भएन काम

दोस्रो लहरमा भेरिएन्टसहितको कोरोना भाइरस आएपछि कोभिड अस्पताल बनाउन बैशाख १७ गते निर्णय गरेको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मुख्यमन्त्री स्वच्छता अभियान कार्यक्रम अन्तर्गत २० आईसीयूसहित एक सय शय्याको अस्पताल मर्मत सम्भारको काम वैशाख २९ गते डिजाइनर्स नेपाल भत्तपुरका निर्माण कम्पनीलाई दिएको थियो । दुई करोड ७० लाख करसहितको रकममा कम्पनीले २१ दिनभित्र सम्पन्न गरेर दिने सम्झौता गरेका थियो । तर, काम सुरु भएको डेढ महिनापछि हस्तान्तरण गेरपनि २५ प्रतिशत काम बाँकी नै छ । 

निर्माण कम्पनीको प्रोजेक्ट म्यानेजर सशांक सिग्देलले थोरै सानो सानो काम बाँकी रहेको बताए । उनका अनुसार ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ । कम्पनीले मर्मत सम्भार, झ्याल, ढोका, प्लास्टर, पेन्टिङ, फोहर व्यवस्थापन गर्ने र अस्पतालका लागि चाहिने बेड सेटसहित हस्तान्तरण गरेको छ । अस्पतालमा ३० वटा कोठामध्ये चार वटा कोठा अझै मर्मत सम्भार भएको छैन् । लकडाउनका कारण समान नपाउँदा निर्माणमा ढिलाइ भएको कम्पनीको दाबी छ ।

प्रकाशित मिति: बिहीबार, असार ३, २०७८  १६:३२
प्रतिक्रिया दिनुहोस्