
काठमाडौं । कोभिड–१९ संक्रमणको दर उच्च हुँदै गएपछि सरकारले संक्रमणको ‘चेन ब्रेक’ गर्न भन्दै निषेधाज्ञा जारी गर्यो । गएको वैशाख १६ गते रातिदेखि सुरु भएको निषेधाज्ञा अहिले देशभरका ७७ मध्ये ७५ जिल्लामा लागु छ ।
तर, निषेधाज्ञाका समयमा संक्रमितको संख्या घट्नुको साटो दोब्बरभन्दा बढेको देखिन्छ । यो तथ्यांक हेरेर नेपालमा कोभिड–१९ नियन्त्रणका लागि निषेधाज्ञा मात्रै प्रभावकारी नभएको विज्ञहरुले निष्कर्ष निकालेका छन् ।
यस्तो छ निषेधाज्ञा सुरु भएयताको अवस्था
नेपालमा दोस्रो लहरको कोभिड संक्रमणले उच्च रुप लिन थालेपछि वै्शाख १६ गतेदेखि काठमाडौं उपत्यकालगायत ५०० भन्दा बढी संक्रमित भएका जिल्लाहरुमा निषेधाज्ञा जारी गरियो । निषेधाज्ञा सुरु भएको दिनसम्म नेपालमा सक्रिय संक्रमित ३४ हजार ११७ जना थिए । त्यति बेला नेपालमा पहिलो र दोस्रो लहर गरी कुल संक्रमितको संख्या तीन लाख १७ हजार ५७० थियो ।
वैशाख १६ गतेसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक हेर्ने हो भने नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार २४६ रहेको देखिन्छ । तर, यही संख्या निषेधाज्ञाका २३ दिनमा बढेर जेठ ८ गतेसम्म ६ हजार १५३ पुगेको छ । अर्थात्, निषेधाज्ञा सुरु भएयता नै नेपालमा कोभिड संक्रमणबाट दुई हजार ९०७ जनाको मृत्यु भएको छ ।
त्यस्तै, २३ दिनमा एक लाख ८८ हजार ७३ जना संक्रमित थपिएका छन् । यो प्रतिशतका हिसाबले ३७.१९ प्रतिशत हो । जसले कुल संक्रमितको ३७ प्रतिशत संख्या निषेधाज्ञाकै अवधिमा बढेको पुष्टि हुन्छ । छोटो समयमा यति धेरै संक्रमितको संख्या बढेको यो पहिलोपटक हो ।
नेपालमा कोभिडको पहिलो लहर सुरु भएयता आठ महिनाको अवधिमा मात्रै संक्रमितको संख्या एक लाख नाघेको थियो । जेठ ८ गतेसम्म नेपालमा कुल कोभिड संक्रमितको संख्या पाँच लाख पाँच हजार ६४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । नेपालका ५० जिल्लामा व्यापक संक्रमण रहेको र १० वटा उच्च प्रभावित रहेका छन् ।
चैत पहिलो सातादेखि जेठ पहिलो साता नेपालमा कोभिड संक्रमणका हिसाबले चुनौतीपूर्ण रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक छ । परीक्षण गरेकामा संक्रमण पुष्टि हुने टेस्ट पोजिटिभिटी दर ४६. ७ प्रतिशत रहेको छ, यो पहिलो लहरको संक्रमणभन्दा २१. ७ प्रतिशतले बढी हो ।
किन घटेन निषेधाज्ञाले संक्रमण ?
निषेधाज्ञाको समयमा नागरिकलाई अत्यावश्यकबाहेक हिँड्डुल गर्न बन्द गरिएको छ । बिहान ६ देखि १० बजेसम्म खाद्यन्न र तरकारी पसलबाहेक अन्य बजार खोल्न निषेध गरिएको छ । आन्तरिक तथा अन्तर्राष्ट्रिय नियमित उडान बन्द गरिएको छ भने भारतका निश्चित सीमानाकाबाहेक सबै स्थलमार्ग बन्द गरिएको छ । तर, पछिल्लो समय मुख्य सहरहरु र ग्रामीण भेगसमेत कोभिडको ‘हटस्पट’ बनिरहेका छन् ।
देशभर दैनिक आठ हजारको हाराहारीमा नयाँ संक्रमित थपिने गरेका छन् । यो आँकडालाई हेर्दा सरकारले कोभिड नियन्त्रणका लागि कडा विधि अपनाउन नसकेको विज्ञहरुले बताउँदै आएका छन् ।
जनस्वास्थ्यविद् डा. शरद वन्त निषेधाज्ञाका समयमा संक्रमण नघट्नुका कारणहरु यसरी औँल्याउँछन्–
१. बजार खुला गरिएको समयमा सुरक्षा विधि राम्रोसँग अपनाइएन ।
२. संक्रमणको स्रोतघरमा जनस्वास्थ्यका मापदण्ड पालना भएनन् ।
३. जनस्वास्थ्यका मापदण्ड पालना भए/नभएकोबारे सरकारको अनुगमन पुगेन ।
४. सीमानाका र हवाई उडानमा बेलैमा कडाइ भएन ।
५. क्वारेन्टिन र आइसोलेसन सेन्टरको संख्या पुगेन ।
६. कन्ट्याक ट्रेसिङ र परीक्षण पुगेन ।
७ राज्यले नागरिकलाई खोप पर्याप्त दिन सकेन ।
जनस्वाथ्यविद् डा. शरद वन्त नेपालमा निषेधाज्ञा लागु भए पनि अन्य देशमा जस्तो कडाइका साथ कार्यान्वयन नभएको तर्क गर्छन् । भारतसँगका सीमानाका बन्द गरिए पनि सबैतिर कडाइ नगरिँदा आउने–जानेक्रम नरोकिएकाले संक्रमण थप बढेको उनको भनाइ छ ।
त्यस्तै, अहिलेको संक्रमणको स्रोत परिवारभित्रै रहेकाले होम आइसोलेसनमा रहेकाहरुले जनस्वास्थ्यका मापदण्ड पालना कसरी गरेका छन् भन्ने कुराले महत्व राख्ने उनी बताउँछन् । उनका अनुसार आइसोलेसनका मापदण्ड पूरा नभएका घरका संक्रमितलाई राज्यले व्यवस्थित क्वारेन्टिनमा राख्न सकेको भए पनि संक्रमण यति धेरै फैलिँदैन थियो ।
त्यस्तै, निषेधाज्ञा जारी भएसँगै समुदायमा संक्रमण दर धेरै देखिन थालेको तर कन्ट्याक ट्रेसिङ र परीक्षण पर्याप्त नभएको डा. वन्त बताउँछन् । पहिलो चरणको संक्रमण उच्च भएको बेला पाँच हजारभन्दा बढी संक्रमित देखिएको समयमा पनि परीक्षण अहिलेकै हाराहारीमा भएको थियो । अहिले संक्रमित दैनिक आठ हजारभन्दा बढी पहिचान हुँदा पनि परीक्षण भने त्यति नै छ । यसले परीक्षण नपुगेर संक्रमित घरमै रहने गरेको पुष्टि हुने उनको भनाइ छ ।
अझै केही दिन संक्रमणको संख्या स्थिर रहनसक्छ
वैशाखको अन्तिम साता केही घटेको देखिएको कोभिड संक्रमितको संख्या जेठयता आठ हजारको हाराहारीमा छ । अहिले संक्रमण देखिनेमा अधिकांश एउटै परिवारका सदस्य छन् । परिवारमा एकबाट अर्कोमा क्रमैसँग सर्दै गएकाले संक्रमितको संख्या लामो समयसम्म उस्तै देखिएको वरिष्ठ सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।
उनले भने, “अहिले परिवारमा संक्रमण सर्ने लहर देखिएको छ । एउटा सदस्यले एक हप्ताको अवधिमा अर्कोलाई सारे पनि सबै सदस्यलाई देखिँदासम्म लामो समय लागेको अहिलेको अवस्थाले देखाउँछ ।”
धेरै समय संक्रमितको संख्या स्थिर भएपछि घटेर जाने भाइरसको प्रकृति भएको उनी बताउँछन् । “नेपालमा पछिल्लो साता देखिएको संक्रमण दरले अब घटेर जान्छ कि भन्ने अनुमान गर्न सकिन्छ । तर, अझै पनि यसै भन्ने अवस्था अहिले नै रहँदैन,” डा. पुनले भने ।
अपेक्षा गरेअनुसार संक्रमण नियन्त्रण गर्न सकिएन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञालाई कडा बनाउन पटक–पटक कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सिफारिस गर्दै आएको छ । अहिलेको निषेधाज्ञामार्फत कोभिड संक्रमण अपेक्षा गरेअनुसार नियन्त्रण गर्न नसकिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको भनाइ छ ।
महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेल निषेधाज्ञामा ८० प्रतिशत आवागमन कम हुने अपेक्षा गरिएकोमा ६० प्रतिशत मात्रै कम भएको बताउँछन् । परिवार, टोल र अवास क्षेत्रमा संक्रमण फैलिइरहेकाले नियन्त्रण गर्न कठिन भएको उनले बताए ।
एउटा टोलमा पाँचभन्दा बढी घरमा संक्रमित भएमा त्यो टोलका सबै क्वारेन्टिनमा बस्न, अपार्टमेन्टको कुनै तलामा संक्रमण भएमा अन्य तलामा आवतजावत नगर्न र अपार्टमेन्टका सबै क्वारेन्टिनमा बस्न डा. पौडेलको अनुरोध छ ।
यता, स्वास्थ्य तथा जनसंख्या मन्त्रायले भने अहिले केही कम देखिएको भए पनि जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना नभए यो संख्या घट्नुको साटो अझै बढ्न सक्ने जनाएको छ ।
नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको दर अहिले १.६ प्रतिशत रहेको छ । संक्रमण संख्याका हिसाबले मृत्युदर कम भए पनि कोभिड संक्रमणको क्षति कम गर्न सरकारले अझै कडा कदम चाल्नुपर्ने विज्ञहरु बताउँछन् ।