
काठमाडौं । नर्स भन्नेबित्तिकै अस्पतालका इमर्जेन्सीदेखि ओपीडी अनि प्रत्येक वार्डमा बिरामीको हेरचाह गरिरहेका सेतो एप्रोनमा सजिएका नारीको आकृति आउँछ, सबैको आँखामा । तर, समाजमा यस्ता नर्स पनि भेटिन्छन्, जो निःशुल्क र निस्वार्थ सेवाकै कारण समुदायको आँखामा सजिएका छन्, अस्पतालभन्दा बाहिर रहेर ।
शरीरमा टाउकोदेखि खुट्टासम्म ढाक्ने पीपीई सेट, ब्यागमा फस्ट एड बक्स र केही मेडिकल सामग्रीहरु अनि यात्राको साथी स्कुटर । यसरी सुरु हुन्छ बागलुङकी नितु खड्काको दैनिकी ।
बागलुङको रामरेखामा रहेको घरबाट बिहानै निस्किएर उनी नगरपालिकाभित्रका घरघरमा पुग्छिन्, कोभिड संक्रमित खोज्दै । आफ्ना नियमित बिरामीसँगै दैनिक तीनदेखि चारजना नयाँ बिरामीले फोन गर्छन् । छेउमा पुगेर नितु ढाडस दिन्छिन् । त्यसपछि औषधि र थप उपचारको सल्लाह दिन्छिन् उनी ।
बागलुङमा कोभिड संक्रमित बढ्दै गएपछि यसरी घरघरमा पुगेर निःशुल्क परामर्श र उपचारमा खटिएकी नितु पेसाले कम्युनिटी नर्स हुन् । अहिले बागलुङ नगरपालिकाभित्र उनले सेवा दिइहेका आठजना संक्रमित छन् । नितु प्रत्येक बिहान या साँझ उनीहरुलाई एकपटक भेट्न पुगेकै हुन्छिन् ।
यसबाहेक जिल्लाबाहिरका संक्रमितलाई फोनमा परामर्श दिनु, टाढाटाढाका संक्रमितलाई अनलाइन परामर्श दिनु, आफ्ना बिरामीको नियमित फलोअप गर्नु, औषधिको व्यवस्थाका लागि जिल्लाभित्र र बाहिरका विशेषज्ञहरुसँग कुराकानी गर्नु अहिले नितुले कोभिड संक्रमितका लागि छुट्ट्याएको विशेष समय हो ।
निःशुल्क सेवा किन ?
कोभिड संक्रमणको दर उच्च हुँदै गएपछि अस्पतालमा बेड र जनशक्तिको अभाव भएको खबरले नितुको मनमा एउटा प्रश्नले जरो गाड्यो, ‘अस्पताल पुगेकालाई त स्वास्थ्यकर्मीले दिने सेवा छँदै छ । तर, होम आइसोलेसनमा बस्नेको स्वास्थ्यको हेरचाह कसले गर्ने ?’ यही सोचाइले उनलाई संक्रमितसम्म पुर्यायो र संक्रमितको मनोविज्ञानसँग जोड्यो ।
संक्रमितको छेउमा जाँदा उनी अस्थायी पीपीई सेट लगाउँछिन्, जुन बिरामी आफैँले दिने गरेका छन् । नितु कम्तीमा आधा घण्टा एउटै बिरामीसँग बिताउँछिन्, मनोवैज्ञानिक परामर्श दिन्छिन् । कोभिडसँगै अन्य रोग भएका बिरामीलाई नियमित औषधिबारे सुझाउँछिन् अनि ‘केही परे फोन गर्नु है’ भन्दै बिदा हुन्छिन् ।
समुदायमा सन्तुष्टि
कम्युनिटी हेल्थमा स्नातक गरेकी नितुले बागलुङकै ताराखोला गाउँपालिका अस्पतालमा एक वर्ष काम गरिन् । अस्पतालमा रहेर काम गर्दाको पेसागत दायित्व छुट्टै हुन्थ्यो । तर, समुदयमा पुगेर काम गर्दाको सन्तुष्टि त्योभन्दा धेरै माथि भएको अनुभव नितु सुनाउँछिन् ।
“जहाँ जसरी आबद्ध भए पनि नर्स भएर हामीले दिने आखिर सेवा नै हो । तर, स्वतन्त्र रुपले समुदायमा काम गर्दाको सन्तुष्टि बेग्लै हुँदोरहेछ । कोभिड संक्रमण भएका बिरामीलाई हामीले दिने मनोवैज्ञानिक परामर्श मात्रैले पनि ठूलो औषधिको काम गर्दोरहेछ । धेरैजना त रोगले भन्दा पनि मनोवैज्ञानिक कारणले थलिएको देखेँ,” उनले भनिन्, “यही कुराले पनि मलाई उहाँहरुसँग नजिक हुन झनै जरुरी लाग्यो । यसरी काम गर्दा समाजलाई राम्रोसँग बुझ्ने मौका पनि पाएकी छु । यो कामले मलाई धेरै कुरा सिकाएको छ ।”
यसअघि पनि सन् २०१८ मा उनले आफ्नो नगरमा हरेक घर फस्ट एड बक्स अभियान चलाइकी थिइन् । कुनै पनि स्वास्थ्य समस्याको प्राथमिक उपचार घरमै होस् भन्ने उद्देश्यले चलाइएको अभियानले नितुलाई बागलुङमा कम्युनिटी नर्सको रुपमा स्थापित हुन ठूलो भूमिका खेलेको थियो ।
परिवारको हौसला
विश्वभर फैलिएको महामारी, अस्पतालहरुमा उपचार संकटका बेला घरघरमा संक्रमित भेट्न जाने नर्स । यही प्रसंगलाई जोडेर समाजमा गन्यमान्य भनिएकाहरुबाटै आलोचना नभएको होइन, नितुको । संक्रमणका हिसाबले घरमा जोखिम नभएको पनि होइन । १०० वर्ष पुगेका हजुरबा, सानी भदैनी, बुवा, आमा अनि भाइबुहारीको एकै भान्सा छ खड्का परिवारमा । तर, अप्ठ्यारो परिस्थितिमा समाजलाई गर्ने सेवामा न नितुले सम्झौता गरिन् न परिवारका सदस्यले अवरोध नै । जब जब घरका सबैले नितुले गरिरहेको काममा साथ र हौसला थप्छन्, आलोचना झिनो लाग्छन् नितुलाई ।
कामअनुसारको पारिश्रमिक र सम्मान हुनुपर्छ
राज्यले नर्सिङ पेसालाई दिएको स्थान र सेवा–सुविधामा अहिले पनि चित्त बुझेको छैन नितुलाई । नर्सिङ पेसामात्रै नभइ सेवा पनि हो । त्यसैले पनि उनीहरुलाई कामअनुसारको पारिश्रमिक र सेवाअनुसारको सम्मान राज्यले दिनुपर्ने उनको बुझाइ छ ।
नेपालमा नर्सहरुको संघर्षलाई उनी आफ्नै अनुभवसँग यसरी जोड्छिन्, “पीसीएल नर्सिङ सकेपछि कामका लागि म धेरै अस्पताल धाएँ । स्वयंसेवकको रुपमा काम गर्न धेरैले अफर गरे । तर, सेवाअनुसारको पारिश्रमिक दिन कोही तयार भएनन् । नर्सहरुको यही यथार्थलाई लिएर सन् २०१७ तिर हामी आन्दोलनमा पनि उत्रियौँ । तर, उपलब्धि चित्तबुझ्दो भएन । त्यसयता आफैँ आत्मनिर्भर हुनपर्छ भन्ने अठोट लिएर विभिन्न संघ–संस्थामा आबद्ध भएर समुदायमा काम गर्न थालेँ । अहिले आएर अस्पतालबाहिर पनि नर्सको आत्मनिर्भर बन्ने ठाउँ रहेछ भन्ने महसुस भएको छ र यही अनुभवले आफ्नो पेसाप्रति गौरवान्वित पनि बनाएको छ । बरु, यो महामारीको समयमा नर्सहरुको भूमिका देखेर राज्यले अब नर्सको महत्व बुझ्छ कि ?”