site stats
बाह्रखरी :: Baahrakhari
देश
संक्रमण उच्च हुँदै गएपछि स्वास्थ्य सामग्री खरिद गर्दै सरकार, दातृ निकायको कति सहयोग ? 

काठमाडौं । नेपालमा कोभिड–१९ को संक्रमण विश्वभरकै उच्च रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालको स्वास्थ्य प्रणालीले थेग्न नसक्ने अवस्था आएको भन्दै मन्त्रालयले नागरिक स्वयंलाई संवेदनशील हुन आग्रह गरेको छ । उता, संक्रमितको उपचार भइरहेका अस्पतालहरुमा अक्सिजन सिलिन्डरलगायत स्वास्थ्य सामग्री अभाव भएको छ । काठमाडौं बाहिरका अस्पतालमा परीक्षण किट र स्वास्थ्यकर्मीका लागि सुरक्षा सामग्रीसमेत अभाव हुन थालेको छ । 

मुलुकभरका अस्पतालको अवस्था के छ ?
कञ्चनपुरको महाकाली अस्पतालमा पछिल्लो एक सातामा कोभिड–१९ संक्रमणका कारण ८ जनाको मृत्यु भयो । बिहीबारसम्म ६५ जना संक्रमितको उपचार भइरहेको अस्पतालमा अक्सिजनसँगै परीक्षण किटको पनि अभाव रहेको अस्पतालका अध्यक्ष कृष्णदत्त जोशीले बताए । कञ्चनपुर जिल्लामा मात्रै बिहीबारसम्म १० जना कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । काठमाडौं उपत्यका भित्रकै अस्पतालहरुमा कोभिड संक्रमितका लागि बेड, अक्सिजनसँगै स्वास्थ्यकर्मीका लागि आवश्यक सुरक्षा सामग्री अपर्याप्त हुन थालेको छ । 

Argakhachi Cement Island Ad

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सूचना निकाल्दै कोभिड–१९ संक्रमण दर उच्च भएकाले देशको स्वास्थ्य प्रणालीले धान्न नसक्ने जनाएको छ ।
 
सरकारसँग स्वास्थ्य सामग्री कति छ ?
स्वास्थ्य सेवा विभागले एक महिनाका लागि आवश्यक पर्ने परीक्षण किटलगायत र स्वास्थ्य सामग्री मौज्दात रहेको जनाएको छ । विभागलाई विश्व स्वास्थ्य संगठन, स्वीस दूतावासलगायत विभिन्न दातृ निकायले प्रदान गरेको र सरकार स्वयंले खरिद गरेको किटले एक महिनासम्म धान्ने विभागले जनाएको छ ।

विभागको व्यवस्थापन महाशाखाको तथ्यांकका अनुसार हाल सर्जिकल मास्क, एन–९५ मास्क एक लाख मौज्दात छ । विभागले दुई लाख एन्टिजेन परीक्षण किट खरिद प्रक्रियाका लागि टेण्डर आह्वान गरेको छ । यस्तै करिब ५ हजार व्यक्तिमा युके भेरियन्टको कोरोना परीक्षण गर्ने पीसीआर टेष्ट किट पनि खरिद प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत रहेको व्यवस्थापन महाशाखाको खरिद शाखाका प्रमुख उपेन्द्र ढुंगानाका अनुसार ४ लाख व्यक्तिको कोरोना परीक्षणका लागि आरटी–पीसीआर तथा १ लाख थान एन्टिजेन टेष्ट किट विभागसँग मौज्दात छ । उनका अनुसार युनिसेफमार्फत करिब डेढ लाख जनसंख्याका लागि कोरोना परीक्षण गर्न पुग्ने एन्टिजेन परीक्षण किट, संक्रमितको उपचार तथा व्यवस्थापनमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि एक लाख सेट पीपीई केही दिनभित्रमै आउने ढुंगानाले जानकारी दिए । यस्तै १ लाख ५० हजार थान गाउन तथा एक लाख थान  फेससिल्डलगायत स्वास्थ्य सामग्री पनि केही दिनभित्रमै आउने उनको भनाइ छ ।

“तत्कालका लागि स्वास्थ्य सामग्री अभाव नहुने भए पनि यही दरमा संक्रमण दर बढ्दै गए स्वास्थ्य सामग्रीको अभाव नहोला भन्न सकिँदैन,” ढुंगानाले भने, “संघले मात्रै सबै प्रदेशमा स्वास्थ्य सामग्री पठाउने होइन, स्थानीय तह र प्रदेशले पनि व्यवस्थापन गरिरहेका छन् । गर्नु पनि पर्छ यो महामारीको अवस्था भएकाले सबै मिलेर स्वास्थ्य सामग्रीको अभाव हुन दिनु हुँदैन ।” 

स्वास्थ्य सामग्रीमा दातृ निकायको कति सहयोग ?
कोभिड–१९ संक्रमणको अवधिभर विश्व स्वास्थ्य संगठनलगायत विभिन्न दाता निकायले नेपाल सरकारलाई स्वास्थ्य सामग्रीमा सहयोग गर्दे आएका छन् । २०७६ माघ २८ देखि ०७८ वैशाख १० गतेसम्म स्वास्थ्य सेवा विभागमा विभिन्न दातृ निकाय तथा संस्थाहरुबाट प्राप्त स्वास्थ्य सामग्रीको विवरण यस्तो छ ।

पीपीई सेट – ९,९६८ थान
गाउन –  १,२०,८२४ थान
मास्क सर्जिकल – ४९,७१,६५० थान 
एन–९५ मास्क –  १,५९,७६० थान 
पञ्जा – ६,१८,८५० जोर 
सर्जिकल क्याप – १२,२२० थान 
सेफ्टी चस्मा – ९०, ६९४ थान 
फेस मास्क – ३,६०० थान 
फ्याब्रिक मास्क – १०,०००
फेस सिल्ड – ६५,१०० थान 
सुज कभर – ४९, ३०० जोर 
गम बुट – १,४०० थान 
स्यानिटाइजर – ४५,२७६ थान
सर्जिकल हुड – ३०००
आइआर थर्मोमिटर – ३, १४६ थान 
कानबाट जाँच्ने (इयर थर्मोमिटर) – १०० थान 
बडी ब्याग – २,४०० थान 
वयट वाइप – ३,४९५ थान 
स्प्रेयर पम्प – २ थान 
सोडियम हापोक्लोराइडलगायत सफाइका सामग्री – ४९० थान
भुइँ सफा गर्ने साइनेक्स ५ लिटरको – १,००० थान 
पोर्टेबल भेन्टिलेटर – १ थान 
पोर्टेबर पीसीआर मेसिन – २ थान 
मेटेरियलसहितको भीटीएम सेट – ६,०६२४ थान 
आरडीटी किट – २,४९५ थान 
एन २०१९ कोभिड एसे – ४,००० थान 
आरएनए एक्स्ट्याक्सन  किट – ६९,६१० थान 
लाइफिलायज रिएजेन्ट – २३,००० थान 
सार्स कोभिड आरडीआरपी टेस्ट – १६,९२० थान 
कोभिड इजेन इभीए टेष्ट – ४९,२०० थान 
एन्टिजेन टेस्ट किट – १५,००० थान 
क्लोरोक्वीन फोस्फेक्ट – ४०० थान
आया हजार्ड ब्याग – १०,००० थान 
क्लोरिन पाउडर २५ केजी कन्टेनर – ५०० थान 

प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  १८:०७
प्रतिक्रिया दिनुहोस्