
काठमाडौं । पहिलो चरणको लकडाउनका कारण थला परेको पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय पुनः प्रभावित भएको छ ।
कोरोनाको दोस्रो लहरका कारण विवाहको मुख्य सिजनमा नै पार्टी प्यालेसहरु फेरि बन्द गर्नुपर्ने अवस्था आएपछि व्यवसायीहरुले अर्को धक्का व्यहोर्नुपर्ने भएको हो ।
गत वर्षको विवाह सिजनसँगै तीज, दसैँलगायत चाडपर्वमा हुने कार्यक्रमको आम्दानी पनि गुमाएका थिए । लयमा नफर्कँदै पुनः कोरोना संक्रमतिको संख्या बढ्दै गएको भन्दै सरकारले पार्टी प्यालेसहरू बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै, विवाह, व्रतबन्धलगायत कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन सरकारले रोक लगाएको छ । २५ जनाभन्दा बढी सहभागी हुने गरी पार्टी प्यालेस प्रयोग गर्नुपरेमा जिल्ला प्रशासन कार्यालयको अनुमति लिनुपर्नेछ ।
सरकारले २५ जनाभन्दा बढी सहभागी हुन नपाउने भनेपछि विवाहका लागि बुकिङ गरिएका पार्टी प्यालेस धमाधम रद्द गर्न हुन थालेको भक्तपुर पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघका अध्यक्ष सचिन्द्र श्रेष्ठ बताउँछन् । “२०७६ को विवाहको मौसममा भन्दा योपटक धेरै बुकिङ आएको थियो । तर, सरकारको निर्णयपछि धमाधम पार्टी प्यालेस बुकिङ रद्द गरिएको छ भने धेरैले संख्या घटाएका छन्,” उनले भने ।
गत वर्ष सञ्चालनमा आउन नपाएपछि भक्तपुरमा मात्रै दुईवटा पार्टी प्यालेस र तीनवटा क्याटरिङ बन्द भएको र यो वैशाखको सिजनमा पनि कारोबार गर्न नपाए थप चार÷पाँचवटा पार्टी प्यालेज बन्द हुने उनले बताए ।
नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघले होटेल तथा रेस्टुरेन्ट बिहान ८ देखि बेलुका ८ बजेसम्म खुला गर्न दिएको तर पार्टी प्यालेसलाई रोक लगाएको भन्दै सीसीएमसीको ध्यानाकर्षण गराएको छ । “हामी उस्तै प्रकृतिका व्यवसायी हौँ । कुनै व्यवसाय सञ्चालन गर्न दिने, कुनै नदिने भन्ने सरकारको दोहोरो नीति भयो । हामीले हिजो उपप्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाएका छौँ । सरकारले छिट्टै निर्णय गर्छ भन्ने विश्वासमा छौँ,” उनले भने ।
पार्टी प्यालेसहरूका लागि विवाहको सिजन नै कमाउने समय हो । पार्टी प्यालेस वर्षमा करिब १५० दिन मात्र चल्ने व्यवसायी बताउँछन् । महासंघका प्रवक्ता कृष्णप्रसाद पाण्डेले पार्टी प्यालेसहरूलाई महामारीले ठूलो जोखिममा पारेको बताए । गएको वर्षको जस्तै अवस्था आए यो वर्ष ७० प्रतिशत व्यवसाय बन्द हुने र सडकमा आउने अवस्था सिर्जना हुने उनले बताए ।
पार्टी प्यालेस बन्द हुँदा यससँग सम्बन्धित अन्य व्यवसाय दूग्धजन्य पदार्थदेखि माछामासु, फलफूल र तरकारी समेत प्रभावित हुने उनले बताए । “अब घर भाडा तिर्न सक्ने स्थिति छैन । कर्मचारीलाई तलब खुवाउने अवस्था पनि हुँदैन । सरकारलाई राजस्व पनि तिर्न सक्ने अवस्था रहँदैन,” उनले भने । उनका अनुसार वैशाख महिनाका लागि २० दिनसम्म पार्टी प्यालेस बुकिङ भइसकेका थिए । “बुकिङ भएको समयसम्म मात्रै पनि सञ्चालन गर्न पाए भाडा तिर्न पाउँथ्यौँ, अलि सहज हुन्थ्यो,” उनले भने ।
मापदण्ड मान्न तयार
प्रवक्ता पाण्डेका अनुुसार व्यवसायीहरु क्षमताको ३५ प्रतिशतसम्म मात्रै भए पनि व्यवसाय सञ्चालन गर्न तयार छन् । “एक हजारजना अट्ने क्षमताका पार्टी प्यालेसमा ३०० जनालाई सेवा दिँदा के आपत्ति भयो र ? स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरेर व्यवसाय सञ्चालन गरिरहँदा हामीलाई बन्द गराउनु पर्दैन,” उनले भने । उनले राज्य पक्षले भिडभाड गरेर कार्यक्रम सञ्चालन गरिरहँदा व्यवसायीहरुलाई भने २५ जनाको सीमा तोक्नु गलत भएको बताए ।
“हाम्रो पार्टी प्यालेसलाई मात्रै बन्द गराएर संक्रमण नफैलने हो ? हामी पनि त उपभोक्ताको स्वास्थ्यसँगै हाम्रो स्वास्थ्यप्रति पनि गम्भीर छौँ नि,” उनले भने ।
देशभर करिब सात हजार पार्टी प्यालेस तथा क्याटरिङ रहेको महासंघले जनाएको छ । यसबाट करिब ६० हजारजनाले रोजगारी पाएका छन् भने यो व्यवसायबाट राज्यले वार्षिक तीन अर्बभन्दा बढी राजस्व संकलन गर्दै आएको जनाइएको छ ।
महासंघका अनुसार ८० प्रतिशत पार्टी प्यालेस सञ्चालनका लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका छन् । १० प्रतिशतले आफ्नो जग्गामा चलाएका छन् भने १० प्रतिशतले भाडामा प्यार्टी प्यालेस चलाएका छन् । यो व्यवसाय चल्दा कृषिजन्य वस्तुको २५ देखि ३० प्रतिशत यही व्यवसायले खपत गर्ने गरेको व्यवसायीको दाबी छ । यो व्यवसाय बन्द हुँदा माछा, मासु, दूध, दही, पनिर, ताजा तरकारीको व्यापार–व्यवसाय पनि प्रभावित हुने पाण्डे बताउँछन् ।