site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मेरियटमा प्रधानमन्त्रीको सन्देश– पार्टीका निर्णय व्यक्तिका आग्रहमा बदलिँदैनन् 

काठमाडौं । विभाजनकारी बादल मडारिइरहेका बेला एमालेमा बुधबार शुभ संकेत देखिएको थियो । झण्डै पाँच महिनादेखिको एक्लाएक्लै वार्ता, छलफलविहीनताको स्थिति तोड्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल संवादमा जोडिएका थिए ।

आफैँले निलम्बन गरेका नेतालाई संवादको पहल गर्नु, वार्तामा बोलाउनु ओलीको सकारात्मक कदम थियो । त्यसले फुटको डिलमा पुगेका एमालेलाई एकतातिर उद्वेलित गराउने आम कार्यकर्ता पंक्तिको अपेक्षा थियो । सिंगो एमाले उत्साहित पनि देखिन्थ्यो ।
२४ घण्टा नबित्दै पुनः निराशा पैदा गरेको छ ।

ओली–नेपाल बिहीबार दिउँसो पनि वार्तामा बसेका थिए । कम्युनिस्ट पार्टी स्थापना दिवसकै दिन उनीहरू निर्णायक संवादमा जुटेकाले ‘आइस बे्रक’ हुने ठानिएको थियो ।

Argakhachi Cement Island Ad

तर, त्यस्तो भएन ।

निष्कर्षमा आजको छलफल चैत २ कै पुनरावृत्ति भएको माधवकुमार नेपाल पक्ष बताउँछन् ।

“मूर्त प्रस्ताव केही थिएन । उही पार्टीका निर्णय कार्यान्वयन गर्नुपर्छ भन्ने कोणबाट छलफल आरम्भ भएको थिए, त्यसमा माधव नेपाल सहमत हुनुभएन,” नेपालनिकट एक नेताले बाह्रखरीसँग भने ।

नेता नेपालले पनि वार्तामा कुनै प्रगति नभएको भन्दै संवादको निराशाजन अवस्था बताएका थिए । हिजो साथीहरूसँग छलफलपछि मात्रै बोल्ने भन्दै सञ्चारकर्मीको प्रश्नबाट तर्किएका नेता नेपाल आज पनि खुलेनन् । व्यवसायबाट राजनीतितिर पनि हात हालेका प्रधानमन्त्री ओलीको विशेष आर्थिक सल्लाहकार मोति दुगडसँग भलाकुसारी गरिरहँदा सञ्चारकर्मीबाट चाहिँ सकेसम्म तर्किए ।

पत्रकारले बाटै नछाडेपछि उनले ‘कुनै प्रगति छैन’ मात्रै भने । थप खुलाउन चाहेनन् ।

‘पार्टीका निर्णय व्यक्तिको आग्रहमा बदलिँदैनन्’

सरकार नीति कार्यक्रमको सम्मुखमा छ । नीति तथा कार्यक्रम पारित नहोला र आफ्नो कारबाही आफैँलाई भारी होला भनेर ओली संवादका लागि दौडधुप गरेको र बालुवाटार बाहिर पनि छलफल गरेको एमालेका नेताहरूको बुझाइ छ ।

तर, ओली आफ्नो पूर्ववत् अडानमा कायम छन् । बुधबार र बिहीबारको संवादमा ओलीले पार्टीका निर्णय विधानसम्मत भएकाले मानेर जान आग्रह गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

“उहाँहरूको आग्रह जेठ २ मै फर्कनुपर्छ भन्ने थियो,” थापाले भने, “प्रधानमन्त्रीले प्रष्ट ढंगले आफ्नो कुरा राख्नुभएको छ । पार्टी संस्थागतरूपमा अघि बढेको छ । पार्टीले गरेका निर्णय विधानसम्मत छन् । आवश्यक निर्णय गरेर अघि बढेको छ । निर्णयमा चित्त बुझेका छैनन्, गुनासा छन् भने बसेर छलफल गर्न सकिन्छ । कन्भिन्स गर्दै जाने ठाउँ छ । तर, निर्णय नै मान्दिनँ भन्ने कुरालाई स्वीकार्न सकिँदैन ।”

पार्टीको मातहतमा गुट होइन, व्यक्ति भएर अघि बढ्ने हो भन्ने नै प्रधानमन्त्रीको जोड रहेको थापाको बुझाइ छ । “विधानले अनुमति नदिँदा त तपाईंहरूले साधारण सदस्यसमेत नरहेनगरी कारबाही गरेर निकाल्नुभयो । अहिले त आवश्यक निर्णय गर्न सक्ने प्रावधान विधानमा छ । बहुमतले आवश्यक निर्णय लिन सक्ने प्रबन्ध गरिएको छ,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै थापाले भने ।

खनाल–नेपाल पक्षको समूहगत आग्रहको सम्बोधन हुने कुनै सम्भावना नरहेको ओलीले प्रष्ट्याएको थापाको भनाइ छ ।

“व्यक्तिगत रूपमा आन्दोलनमा गरेका योगदानका आधारमा, आफ्नो भूमिका निर्वाह गर्नुस्, पार्टीलाई एकताबद्ध बनाएर लैजाऔँ,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनले भने, “म तपाईंहरूलाई यसअघिका धारणा, मान्यताका आधारमा व्यवहार गर्दिनँ ।”

‘२३ जना ल्याएकोमा असन्तुष्टि देखियो’

नेपालसँगको वार्ताबाट ओली समूह पनि निराश देखिएको छ । र त उनीहरू संवादले सकारात्मक दिशा लिनेमा विश्वस्त देखिँदैनन् । खनाल–नेपाल समूहले ओलीलाई साथ दिने माओवादी केन्द्रबाट रहेका २३ जनाप्रति आग्रह राखेको उनीहरूको बुझाइ छ ।

“घुमाइफिराइ २३ जना थप्नुहुन्न भन्ने नै उहाँहरूको मान्यता देखिन्छ । उहाँहरूले कारबाही गर्न हुने, माओवादी केन्द्रबाट रहेका साथीहरूले प्रधानमन्त्रीलाई साथ दिनुपर्छ भन्दा किन आपत्ति ? यस्तो कुरामा सहमति खोजेर कहीँ पुगिँदैन,” ओली पक्षको बुझाइ रहेको छ ।

दुगडले पनि नाप्न भ्याए एमालेको घाउ

व्यापारी नजोडिएको पार्टीका बैठक, नेताहरूका संवाद विरलै छन् । व्यापारी व्यवसायीहरूले नेताबाट पार्टीका आन्तरिक बैठक, संवादसम्मै पहुँच विस्तार गरेका छन् । अझ पछिल्लो समय त नेताहरू मिलाउने जिम्मा नै उनीहरूले लिन थालेका छन् । दुगड पछिल्लो शृङ्खलामा जोडिन आइपुगेका छन् । 

अध्यक्ष ओली र नेता नेपालबीचको संवादको हर्ताकर्ता उनै देखिएका थिए । नवौँ महाधिवेशनपछि २०७१ असोज १२ गते दुगडको नव नेपाल निर्माण पार्टी एमालेमा विलय भएको थियो । त्यसपछि पार्टीको भूमिकामा खासै नदेखिएका दुगड एकाएक प्रधानमन्त्रीका विश्वासपात्रका रूपमा देखिएका छन् । ओलीलाई ‘आदर्श’ मानेकैले उद्योग राज्यमन्त्रीको जिम्मेवारी पाएका थिए ।

पछिल्लोपटक मन्त्री हेरफेर हुँदा उनी बहिर्गमन हुनेमा परे । लगत्तै उनले प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार पाए ।

प्रधानमन्त्री ओलीका उनी यतिसम्म विश्वास पात्रमा बदलिइसकेका छन् कि आजैमात्र सरेको एमाले मुख्यालयको बन्दोबस्त गर्ने दुगड नै हुन् ।

बुधबार र बिहीबारको भेटको चाँजोपाँजो पनि उनैले मिलाएको एमालेका नेताहरू बताउँछन् । तर, उनले भने यसलाई अस्वीकार गर्दै आएका छन् र आफू ‘दर्शक’ मात्रै भएको बताएका छन् ।

यो जिकिरलाई उनकै अभिव्यक्तिले खण्डन गर्छ ।

ओलीसँगको संवादपछि नेपालसँग आधा घण्टा कुराकानी गरेका दुगडले दुई नेताको घाउ पुरिन अरू धेरै संवादको जरुरत रहेको औंल्याए । “उहाँहरूको घाउ धेरै गहिरो छ । एउटा, दुईवटा संवादले पुरिँदैन । यति हुँदाहुँदै पनि हिजोको भन्दा आजको वार्ता झन् सकारात्मक छ,” ओली–नेपाल भेटको साक्षीसमेत बसेका दुगड भन्छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख ९, २०७८  १८:४१
प्रतिक्रिया दिनुहोस्