site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जब पृथ्वीसुब्बाले माधव नेपाललाई दोस्रो अध्यक्ष प्रस्ताव गरे...

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आइतबार बिहान स्थायी कमिटीको बैठक राखेको थियो । बिहान ९ बजे नै बैठक बस्ने भनेर खबर गरिएको थियो । समयलाई मध्यनजर गरेर स्थायी कमिटी सदस्यहरू समयमै बैठकस्थल पुगेका थिए । तर, बैठक आधा घण्टा ढिलागरी सुरु भयो ।

बैठक एमाले एकतालाई कसरी बचाउने र अन्तिम उपाय के हुन्छ भनेर खोजी गरिएको एक सदस्य बताउँछन् । 

“एमाले एकता नै आजको कार्यभार हो । नेकपा छिन्नभिन्न हुँदा र एमाले विभाजनको मुखमुख पुग्दा आज केकस्तो दुर्दशा भोग्नुपरेको छ भन्ने समीक्षा नै आजको आवश्यकता हो,” एक सदस्यले भने, “बैठकमा यसबारे चर्चा भयो ।”

Argakhachi Cement Island Ad

आज बसेको स्थायी कमिटी बैठकमा गण्डकी प्रदेशका इन्चार्जसमेत रहेका पृथ्वीसुब्बा गुरूङले माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष दिएर भए पनि एकता बचाउनुपर्ने बताएको स्रोतको दाबी छ ।

“माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष दिएर भए पनि एकता जोगाउनुपर्छ । नेकपा छिन्नभिन्न हुँदाको उपउत्पादनका रूपमा गठबन्धन अगाडि आएको हो । एमाले एकताबद्ध हुनेबित्तिकै त्यो स्वतः कमजोर हुन्छ,” गुरुङको भनाइ एक सदस्यले उद्धृत गरे, “नेकपा विभाजन हुँदा म सिकार भएँ, एमाले विभाजन हुँदा बाँकी प्रदेशका सरकार पनि ढल्छन् । माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाएर भए पनि विवाद मिलाऔँ ।”

गुरूङले नेपाललाई दोस्रो अध्यक्ष बनाउनुपर्ने आवाज उठाए पनि ओलीले कुनै जवाफ नदिएको स्रोतको जिकिर छ । “अध्यक्ष ओली मात्र होइन, अरू नेताहरू पनि बोलेनन् । पार्टी एकता नगर्ने हो भने मौनता ठीक छ । होइन भने त्यहाँसम्म पुगेर भए पनि पार्टी जोगाउनुपर्ने छ । नत्र अझै क्षति हुनेवाला छ,” गुरूङ निकट स्रोतले भन्यो ।

पदाधिकारी कायम, आयोजक कमिटी विघटन
स्रोतका अनुसार आजको बैठकले असार १६ गते महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । बालुवाटारमा बिहान ११ बजे बोलाइएको बैठकले महाधिवेशन आयोजक कमिटी खारेज गर्ने बताइएको छ । त्यही बैठकले जेठ २ मा फर्कने आधार तयार गर्दै नवौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई कायम गर्ने स्रोत बताउँछ ।

एमालेमा एक अध्यक्ष, एक वरिष्ठ नेता, पाँच उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, पाँच सचिव पदाधिकारी रहने व्यवस्था थियो ।

असार १६ गतेको बैठकले त्यही कायम राख्ने निर्णय गर्ने ती नेताको जिकिर छ ।

“अब केन्द्रीय कमिटी नै भन्ने भएको छ । महाधिवेशन आयोजक कमिटीले गरेको निर्णय अदालतले प्रश्न उठायो नि त,” उनी भन्छन् ।

पदाधिकारी कामय राख्नुको अर्थ माधवकुमार नेपाल फर्कने वातावरण तयार पार्नु भएको ती सदस्य बताउँछन् । कथम् फर्किएनन् भने पार्टी फुटाएको आरोपबाट बच्नका लागि पनि यो मध्यमार्गी बाटोतिर अघि बढेको ओली समूह बताउँछ ।

सानो आकारको विभाग
असार १६ गतेको बैठकले विभागहरू पनि बनाउने निर्णय गर्ने बताइएको छ ।

नवौँ महाधिवेशनको विधानको धारा ५९ (१) अनुसार पार्टी नियमावलीमा ३१ वटा विभाग रहने उल्लेख छ ।

नियमावलीमा व्यवस्था भएका विभागहरू:
१. अर्थ तथा योजना विभाग
२. आर्थिक विभाग
३. उद्योग तथा वाणिज्य विभाग
४. उपभोक्ता हित संरक्षण तथा सुशासन विभाग
५. कृषि तथा भूमिसुधार विभाग
६. जलस्रोत तथा उर्जा विभाग
७. न्याय तथा कानुन विभाग
८. निर्वाचन विभाग
९. पर्यटन प्रबद्र्धन विभाग
१०. प्रचार विभाग
११. पार्टी स्कुल विभाग
१२. पुस्तकालय तथा अभिलेख विभाग
१३. भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग
१४. युवा तथा खेलकुद विभाग
१५. राजकीय मामला विभाग
१६. राष्ट्रिय हित सुरक्षा प्रबद्र्धन विभाग
१७. वन तथा वातावरण विभाग
१८. विज्ञान तथा प्रविधि विभाग
१९. वैदेशिक मामला विभाग
२०. सहरी विकास विभाग
२१. शिक्षा तथा मानवस्रोत विभाग
२२. श्रम तथा रोजगार विभाग
२३. सहकारी तथा गरिबी निवारण विभाग
२४. सङ्गठन विभाग
२५. संघीय मामला विभाग
२६. संविधानसभा/संसदीय विभाग
२७. संस्कृति विभाग
२८. सामाजिक सेवा विभाग
२९. सामान्य प्रशासन विभाग
३०. स्थानीय विकास विभाग
३१. स्वास्थ्य तथा जनसङ्ख्या विभाग

“चुनाव हुने भयो भने महाधिवेशन (मंसिर २ देखि ६ गतेसम्म तय भएको) धकेलिन्छ नै, पार्टीको दैनिक कामकाज पनि चलाउनुपर्‍यो, त्यसैले एकतासमेतलाई ध्यानमा राखेर सानो आकारको विभाग बनाउने सल्लाह भएको छ,” एक सदस्यले भने । असार १६ गतेको बैठकले असार मसान्तभित्रमा पार्टी सदस्यता नवीकरण गर्न पार्टी मातहतका कमिटीलाई निर्देशन दिने पनि उनी बताउँछन् ।

प्रकाशित मिति: आइतबार, असार १३, २०७८  १७:२५
प्रतिक्रिया दिनुहोस्