site stats
बाह्रखरी :: Baahrakhari
देश
रूप फेर्दै कोरोना, कसरी हुँदै छ नेपालमा नयाँ प्रजातिको भाइरसको परीक्षण ?

काठमाडौं । नेपालमा हालसम्म कोभिड–१९ का दुईवटा प्रजाति फेला परेका छन् । गत माघ ५ गते तीनजनामा ‘यूके भेरियन्ट’ र वैशाख २ गते ‘डबल म्युटेन्ट’ भाइरस पुष्टि भएको छ ।

पछिल्लो तीन साता यूके भेरियन्ट संक्रमितको दर निरन्तर उकालो लागिरहेको छ भने एकजनामा डबल म्युटेन्ट भेरियन्ट फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

भाइरसका यी प्रजाति पहिचानको लागि ‘जिन सिक्वेन्सिङ’ गर्नुपर्ने हुन्छ । संक्रमणको बढ्दो दरलाई मध्यनजर गर्दै टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल)बाट जिन सिक्वेन्सिङ परीक्षण सुरु गरिएको छ ।

Argakhachi Cement Island Ad

के हो जिन सिक्वेन्सिङ, कुन–कुन रोगको पहिचानमा प्रयोग हुन्छ ?
जिन सिक्वेन्सिङ मानिसमा भएको संक्रमणको नयाँ प्रजाति पहिचानको लागि अपनाइने विधि हो । सामान्यतया प्रयोगशालामा पीसीआर र फिल्डमा एन्टिजेन विधिबाट कोभिड–१९ परीक्षण गरिन्छ । तर, पीसीआर रिपोर्टमा अन्य भेरियन्टको लक्षण देखिएमा जिन सिक्वेन्सिङ गरिन्छ ।

नेपालमा हाल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) त्रिभुवन विश्वविद्यालयको जैविक प्रविधि विभाग र धुलिखेल अस्पतालमा जिन सिक्वेन्सिङ विधिको प्रयोग भइरहेको छ । नास्टले कीट जातिमा संक्रमणको पहिचानका लागि यसको प्रयोग गर्ने गरेको पाइएको छ । धुलिखेल अस्पतालमा भने फरक प्रजातिको कोरोनाभाइरससँगै पाठेघरको मुखको क्यान्सर, जापनिज इन्सेफ्लाइटिस, म्यानेन्जाइटिसलगाय संक्रमणको पहिचानका लागि जिन सिक्वेन्सिङ गर्ने गरिएको अस्पतालका प्रमुख औषधिविज्ञ डा. राजीव श्रेष्ठले बताए ।

कसरी गरिँदै छ नेपालमा नयाँ प्रजातिका भेरियन्टको परीक्षण ?
नेपालमा फरक कोभिड–१९ को प्रजाति रहेको आशंकामा सातजनाको नमुना धुलिखेल अस्पतालमा पहिलोपटक जिन सिक्वेन्सिङ विधिबाट परीक्षण गरिएको थियो । स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले कोभिड–१९ को नयाँ भेरियन्ट पहिचानका लागि पठाइएका सात नमुनामध्ये तीनवटामा यूके भेरियन्ट रहेको नतिजा आएको थियो ।

तर, तीनवटा नमुना पुनः पुष्टि गर्न भन्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पुस २७ गते विश्व स्वास्थ्य संगठनको हङकङस्थित प्रयोगशालामा पठाएको थियो । हङकङबाट आएको रिपोर्टमा तीनवटै नमुनामा यूके भेरियन्ट रहेको पुष्टि भयो । पछिल्लो समय हङकङ पठाइएका १५ वटा नमुनाको रिपोर्ट आइनसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

एनपीएचलबाटै परीक्षण, एस जिन नेगेटिभलाई नै आधार मानिन्छ
कोभिड–१९ पहिचानका क्रममा एस जिन नेगेटिभ आएमा यूके भेरियन्टको लक्षण मानिन्छ । पछिल्लो समय जिन सिक्वेन्सिङ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाटै हुने गरेको प्रयोगशालाका निर्देशक डा. रुणा झाले बताइन् । “पछिल्लो समय १५ वटाबाहेक अन्य नमुना हङकङ पठाइएको छैन । एनपीएचलमा नै सिक्वेन्सिङ गर्न थालिएको छ । पीसीआर रिपोर्टमा एस जिन नेगेटिभ आएकाहरुलाई यूके भेरियन्टको रुपमा पहिचान गर्र्ने गरिएको छ,” डा. झाले बाह्रखरीसित भनिन् ।

यूके भेरियन्ट र डबल म्युटेन्ट भाइरस उस्तै हुन् ?
अधिकांश सरुवा रोगहरुको भाइरसले निश्चित चरणमा पुगेपछि आफ्नो जिन वा स्वरूप परिवर्तन गर्ने गर्छन् । जसलाई भाइरसको म्युटेसन भनिन्छ । विश्वमा अहिले कोभिड–१९ का तीनवटा भेरियन्ट पुष्टि भएका छन्, यूके, ब्राजिलियन र साउथ अफ्रिकन भेरियन्ट । विश्व स्वास्थ्य संगठनले यी भेरियन्ट कोभिड–१९ का नयाँ प्रजातिका रुपमा परिभाषित गरेको छ ।

यूके भेरियन्ट (बी १.१.७ )अहिलेसम्म ४१ वटा देशमा फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार स्थान र वातावरणानुसार पनि भाइरसले आफ्नो रुप परिवर्तन गर्दै जान्छ । “नेपालमा पनि कोभिडको नयाँ प्रजाति विकास नभएको होला भन्ने अवस्था छैन,” उनी भन्छन् ।

कोभिड–१९ को सामान्य भाइरसभन्दा यूके भेरियन्ट ७० प्रतिशत बढी संक्रामक रहेको पाइएको छ । अन्य मुलुकहरुको तथ्यांकलाई हेर्दा मृत्युदरका हिसाबले पनि यूके भेरियन्ट सामान्यभन्दा घातक भएको डा. पुन बताउँछन् ।

त्यस्तै, भारतमा पछिल्लो समय सबैभन्दा धेरै फैलिएको र नेपालमा समेत एकजनामा पुष्टि भएको डबल म्युटेन्ट भाइसर एउटै भाइरसले दुईवटा स्वरूप देखाएको अवस्था हो । डा. पुनका अनुसार डबल म्युटेन्ट भेरियन्ट यूकेभन्दा पछाडि देखिएकोले यसबारे धेरै अनुसन्धान भइसकेको छैन । तर, यो भेरियन्टले मानिसको शरीरलाई छल्न सक्ने तथ्य पुष्टि भइसकेको छ । यसको अर्थ डबल म्युटेन्टको असर पनि आक्रामक हुन्छ भनेर अनुमान लगउन सकिन्छ । त्यसमाथि भारतमा देखिनेबित्तिकै नेपालमा यसको असर पर्छ नै ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी जनस्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नु नै जुनसुकै भाइरसबाट जोगिने उपाय हो ।

प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८  १६:१७
प्रतिक्रिया दिनुहोस्